कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुले रोल्पाका विद्यालय

रोल्पा — रोल्पाका सबै सामुदायिक विद्यालयले भौतिक उपस्थितिमै पढाइ सुरु गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द विद्यालय स्थानीय तहको निर्देशनपछि खुलेका हुन् ।

खुले रोल्पाका विद्यालय

सदरमुकाम लिबाङस्थित नगर शिक्षा कार्यालयसहित ९ वटा गाउँपालिकाले विद्यालय खोल्न निर्देशन दिएका थिए । स्थानीय तहले कक्षाकोठा र घर आउजाउ गर्ने समयमा पनि संक्रमणबाट जोगिने उपाय अपनाउन सुझाव दिएका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न विद्यालयलाई सचेत बनाइएको जनप्रतिनिधिले जनाएका छन् ।

संक्रमण बढेका बेला यसअघि केही विद्यालयले अनलाइनमार्फत पठनपाठन गरेका थिए । संक्रमण फैलने त्रासका कारण चालु शैक्षिक सत्रको करिब ५ महिनापछि मात्रै विद्यालय पहिलोपटक खोलिएका हुन् । केही विद्यालयले टोल शिक्षा र अनलाइन विधिबाट पढाए पनि संक्रमण त्रासकै कारण सरकारले टोल शिक्षा कक्षा रोक्न निर्देशन गरेको थियो ।

रोल्पा नगरपालिकाले सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि, २०७८ र शिक्षा र प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन ढाँचा २०७७ अनुसार कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणसम्बन्धी मापदण्ड र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको जनाएको छ । नगर प्रमुख पूर्ण केसीले संक्रमणबाट जोगिन सबै मापदण्ड पालना गरेर मात्रै विद्यालय खोल्न सूचना गरिएको बताए । उनले हरेक विद्यार्थी, शिक्षकले नियमित मास्क लगाउनुपर्ने, विद्यालयमा साबुनले हात धुने व्यवस्था गर्ने, स्यानिटाइजर साथैमा राखेर प्रयोग गर्ने, दूरी कायम गर्ने लगायतका मापदण्डको पूर्ण पालना भएमा संक्रमण फैलन रोक्न सकिने बताए ।

त्रिवेणी गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारीले संक्रमण रोकथाममा ध्यान दिएर मात्रै विद्यालय खोल्ने निर्णय भएको बताए । रोल्पाका सामुदायिक विद्यालयमा ६९ हजार हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : आश्विन १, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?