कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

अमृता अनमोल

बुटवल — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बिहीबारको पहिलो बैठक स्थगित भएको छ । दिउँसो करिब १ बजेर ५० मिनटमा पहिलो बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमाले विरोधमा उत्रिएको हो ।

एमाले सांसद नाराबाजीमा उत्रेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित भएको सूचना सुनाएका थिए । तर अझैसम्म बैठक सुरु भएको छैन । प्रदेश‍सभाका प्रवक्ता रमेश गौतमले दलहरु आन्तरिक बैठकमा रहेकाले बैठक सुरु नभएको बताए ।

गठबन्धन सरकारले नया नीति कार्यक्रम र बजेट ल्याउने तयारीका साथ संसद् बैठक बोलाएको थियो । बिहीबारको बैठकमा जनता समाजवादी पाटीबाट नवनियुक्त सांसद निर्मला मुठभरी भट्राई र नेकपा समाजवादी रोजेकी रमा घर्तीबारेमा सूचना सुनाउने तथा केही विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सत्तापक्षले छलफल गरे पनि एमालेले कारबाही गरेका दुई सांसद निलम्बनको सूचना नल्याएसम्म बैठक चल्न नदिने बताए । यस अघि प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ । बुधबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?