कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज–पोखरा उडानले व्यवसायीमा उत्साह

रूपा गहतराज

नेपालगन्ज — निजी क्षेत्रको प्रयासबाट पहिलोपटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको हवाई उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान संख्या थप गरिंदै गएको आइतबारदेखि दैनिक उडान सुरु गरिएको हो । 

नेपालगन्ज–पोखरा उडानले व्यवसायीमा उत्साह

लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा छलफल, बहस हुँदै आए पनि यसअघि कुनै पनि हवाई कम्पनीले आफ्नो व्यावसायिक उडान थालेका थिएनन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो ।

सीता एयरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर गर्‍यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरे । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको हो । कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि दैनिक रूपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेसन प्रमुख विनित शाहले बताए । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आकर्षण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए ।

यहाँका पर्यटन व्यवसायीले हवाई उडानले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरेका छन् । नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । आफूहरूले थालेको अभियानलाई साथ दिंदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको उनले बताए । रारा, कैलाश मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारेहोटल सञ्चालनमा छन् ।

नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जाने र पोखराबाट नेपालगन्ज आउन चाहने पर्यटकलाई यस उडानले सहयोग पुग्ने विश्वास गरिएको छ । सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा त्यत्तिकै थन्किएको थियो । सीधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक मार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीय स्थलको प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताए ।

नेपालगन्ज–पोखरा उडानको प्रतिव्यक्ति भाडा ४ हजार ९ सय ९५, ५ हजार ५ सय ६५ र ७ हजार ६ सय ६५ रुपैयाँ तोकिएको छ । यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउने–जाने भाडा, दुई रात बास, नास्ता र विमानस्थल–होटलसम्म यातायातको व्यवस्थासहित ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित १३ हजार ९ सय रुपैयाँको विशेष प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?