कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र निषेधाज्ञा

बुटवल — रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । सुकुम्बासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि रुपन्देही प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रभित्र निषेधाज्ञा

प्रशासनले बुटवल उप–महानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुकुम्बासीका नाममा राति राति भेला गर्ने, जग्गा कब्जा गर्ने र कोही रोक्न आए प्रतिकार गर्ने भन्ने लिखित र मौखिक कुरा बाहिर आएपछि त्यस्ता गतिविधि रोक्न निषेधाज्ञा जारी गरेको बताए । उक्त स्थानमा मंगलबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाइएको उनले बताए ।

निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिनसम्म तोकिएको छ । उत्तरमा बुटवल उपमहानगरपालिका वडा नं १७ शिवनगर रानीगाउँ बस्तिदेखि दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?