कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरले हल्लाएको बस्ती बग्ने खतरा

जमिनको अवस्था पहिचान नगरी सडक विस्तार गर्दा समस्या
शमशेरविक्रम जीसी

प्यूठान — प्यूठान नगरपालिका–२, चितिखोलाका लालबहादुर सुनारले घरभन्दा माथि रहेको जंगलमा टहरो बनाएका छन् । बाँसले बारेर बनाइएको टहरोमा त्रिपालको छानो छ । पहिरोले घर बगाउने खतरा बढेपछि त्यहीं रात काट्ने तयारी स्वरूप टहरो बनाएको उनले बताए । 

डोजरले हल्लाएको बस्ती बग्ने खतरा

घर र आसपास चिरा परेको देखिन थालेपछि करिब एक महिनादेखि उनी आफन्त र छिमेकीकहाँ आश्रय लिएर बसेका थिए । ‘घरमुनिबाट पहिरो जान थालेको छ । त्यसैले एक महिनादेखि छिमेकी र आफन्तको घरमा बस्दै आएका थियौं,’ सुनारले भने, ‘सधैं त्यसरी बसेर के गुजारा होला र भनेर घरमाथिको जंगलमा टहरो बनाएको हुँ ।’

लुम्बिनी प्रदेशको गौरवको आयोजना रामपुर–कपुरकोट सडक खण्डअन्तर्गत प्यूठान खण्डको दाखाक्वाडी–बर्जिबाङ–भिंगृ सडक विस्तार गर्ने क्रममा उनको घर जोखिममा परेको हो । सडक विस्तार गर्ने क्रममा बर्खामा ठूला मेसिन (डोजर) चलाएर काम गर्दा जमिन थर्किएर पहिरो जान थालेको सुनारले बताए । ‘सडक खन्नुअघि नै जोखिम हुन्छ भनेर जनप्रतिनिधिलाई जानकारी गराएका थियौं,’ उनले भने, ‘पछि केही भए व्यवस्था गरौंला भन्दै सडक विस्तारको काम अघि बढाए, अहिले घरविहीन भइयो ।’

अहिले चितिखोला बस्तीको चारैतिरबाट पहिरो जान थालेको छ । घरमुनीको बारीको आधा जमिनमा धाजा फाटेको उनले बताए । घरमुनिबाट पहिरो जान थालेपछि चितिखोलाका पूर्वे कामी पनि २५ दिनदेखि नातिको घरमा आश्रय लिंदै आएका छन् । वडा कार्यालयले त्रिपाल दिएको छ । ‘कतै सुरक्षित स्थानमा बस्नु भनेको छ,’ उनले भने, ‘घर छोडिसक्यौं, अब कता जानू ?’ वडा कार्यालयले उपलब्ध गराएको त्रिपालको छानो हालेर जंगलमा छाप्रो बनाउन थालेको उनले बताए ।

पहिरोले चितिखोलाका तीन घर सुनार परिवारका १५ जनालाई बेघरबार बनाएको छ । पानी नपरेका बेला दिउँसोमा घरमै बस्ने गरेको पूर्वेले बताए । ‘रात परेपछि छिमेकीकहाँ जान्थ्यौं,’ उनले भने, ‘अहिले आफ्नै छाप्रोमा बस्छौं ।’ तीन परिवार मिलेर टहरा निर्माणका जुटेको उनले सुनाए । ‘गरी खाने बारीमा पनि पहिरो जान थालेको छ,’ उनले भने, ‘अब घर बनाएर बस्ने ठाउँसम्म बचेन, कता ओत लाग्ने ? जंगलकै बास हुने भो ।’

दाखाक्वाडी–बर्जिवाङ–भिंगृ सडक विस्तार गर्दा उक्त बस्तीको अवस्थालाई बेवास्ता गरिएको स्थानीयले आरोप छ । त्यहाँको भूगोलको अवस्था पहिचान नगरी सडक विस्तार गर्दा पहिरोले बगाएको उनीहरूको दाबी छ । पहिरोले केही बस्ती र जानकारी माविको भवन जोखिममा परेको छ ।

ठूलो बाटो बनाउने बहानामा गाउँमा ‘काल’ पसेको स्थानीय हिमा कामीले दुखेसो पोखिन् । ‘घरमाथिबाट घरजत्रा ढुंगा पल्टिन ठिक्क परेका छन्, रुख ढलेर कतिबेला च्याप्छ भन्ने पिरलो उस्तै छ,’ उनले भनिन्, ‘बाटो खन्दा फालेको माटोले पनि तलबाट तान्ने अवस्था आएको छ ।’ अव्यवस्थित तरिकाबाट खनिएको सडकले गाउँ नै उठिबास लाग्ने अवस्था आएको उनले बताइन् । ‘पहिले गाडी राम्रै चलिरहेका थिए,’ उनले भनिन्, ‘सरकारले पिच बाटो बनाउने आश्वासन दिएर बाँच्नु न मर्नुको अवस्थामा पुर्‍यायो ।’ उनका अनुसार हालको अवस्था हेर्दा काल कुरेर बसेजस्तो भएको छ । ‘मरे मरिएला, बाँचे बाचिन्छ भन्दै भगवान् भरोसामा छौं,’ उनले भनिन् ।

गौरा–बंगलाचुली जेभी काठमाडौंले सडक निर्माण गरिरहेको छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पामार्फत काम भइरहेको हो । मूल्य अभिवृद्धि करसहित ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँ ३९ पैसामा २०७७ जेठ २७ गते ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म क्षतिका विषयमा कतैबाट उजुरी र जानकारी नआएको पूर्वाधार विकास कार्यालय प्रमुख दीपक खड्काले बताए । ‘बहुवर्षीय योजनाअन्तर्गत सडक विस्तारको काम अघि बढेको हो,’ उनले भने, ‘वर्षात बन्द भएपछि सडक विस्तारको काम पुनः सुरु हुन्छ ।’

प्रकाशित : भाद्र २९, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?