असोज पहिलो सातादेखि बर्दिया निकुञ्ज खुल्ने

बर्दिया — गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज असोज पहिलो साताबाट खुल्ने भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको हो ।

असोज पहिलो सातादेखि बर्दिया निकुञ्ज खुल्ने

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जंगल ड्राइभ (सफारी), र्‍याफ्टिङ र जंगल वाक् गर्न मात्र अनुमति दिइएको बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले निकुञ्ज खोल्ने पूर्वतयारीस्वरूप करिब ३ सय किमि सडक मर्मत र सफाइ सुरु भएको बताए ।

यसैबीच, पर्यटन व्यवसायीले निकुञ्ज खुला हुने भएपछि खुसी व्यक्त गरेका छन् । अब केही हदसम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठूला होटल सञ्चालनमा छन् । यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइन्छ भन्दै बढी पर्यटक भित्रिने गर्छन् ।

प्रकाशित : भाद्र २८, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?