कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलपत्र सडकले सास्ती

३६.३५ प्रतिशत काम सक्नुपर्ने समयमा ६.७ प्रतिशत मात्रै
दुर्गालाल केसी

दाङ — तुलसीपुरको चार लेन सडक निर्माण अलपत्र परेपछि सर्वसाधारणले सास्ती सहनु परेको छ । निर्माणका क्रममा खनिएका खाल्टा, कल्भर्ट र सडक किनार कटानले घोराही–तुलसीपुर यात्रा जोखिमपूर्ण बनाएको हो ।

अलपत्र सडकले सास्ती

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनीमा चार लेन निर्माणका क्रममा खनिएको खाल्टोमा मोटरसाइकल पल्टिँदा साउन ११ गते एक जनाले ज्यान समेत गुमाए । रा६प ७२५ नम्बरको मोटरसाइकल खाल्टोमा पर्दा तुलसीपुर–१०, राइखलियानका ३५ वर्षीय चूडामणी भण्डारीको मृत्यु भएको हो । सडक निर्माणका क्रममा ह्युमपाइप राख्न खनिएको खाल्टोमा मोटरसाइकल खसेको थियो ।

सडकमा बनेका र सडक किनार भत्काउँदा बनेका खाल्टाका कारण यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ । कतिपय स्थानमा एकतर्फी मात्र सवारी चल्ने गरेका छन् । खोलामा पुल निर्माणमा ढिलाइ हुँदा यात्रा कष्टकर भएको छ । चार लेन सडकअन्तर्गतकै घोराही उपमहानगरपालिका–४, गोग्लीस्थित सिस्ने खोलामा भदौ १६ गते कार बग्दा चार जनाले ज्यान गुमाए । प्रदेश ०३–०१–०२४च ० नम्बरको कारलाई सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको ज्यान गएको थियो । घोराही–१६, सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीको मृत्यु भयो । चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।

निर्माण कम्पनीको लापरबाहीकै कारण सडक निर्माणमा ढिलाइ भएको र जोखिमहरू बढ्दै गएको चार लेन सडक निर्माण परियोजनाले जनाएको छ । ३६ दशमलव ३५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने समयमा ६ दशमलव ७ प्रतिशत मात्रै काम भएको परियोजनाका कन्सल्टेन्ट इन्जिनियर आशिष कँडेलले बताए । २०७५ को माघमा सम्झौता भएको सडकको निर्माण कार्य ३० महिनामा सकिने बताइएको थियो ।

भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर प्रालिले सडक निर्माणको ठेक्का पाएको हो । घोराहीको कुइरेपानीदेखि कटुवाखोलासम्म, डीके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरासम्म, दुधरासदेखि हात्तीखौवासम्म चार लेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । तथ्य इन्जिनियरिङ प्रालिले स्थानीय प्रतिनिधिका रूपमा तुलसीपुरका अनुप पाण्डेलाई जिम्मेवारी दिएको थियो । पाण्डेले काम गर्न नसक्ने भएपछि अहिले इलामका दोर्ण दुलालले जिम्मेवारी लिएका छन् । उनले तत्काल काम सुरु गरी १८ महिनामा सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म काम सुरु गरेका छैनन् । ‘काम धेरै बिग्रेको छ । कागजी प्रक्रिया मिलाउन ढिलाइ भएकाले काममा ढिला भएको हो,’ उनले भने, ‘पुराना प्रतिनिधिबाट नयाँमा ल्याउने प्रक्रियाले ढिला भएको हो ।’ भारतीय एक्जिम बैंकको सहयोगमा सडक निर्माण हुन थालेको हो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको छ ।

चार लेन सडक निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘निर्माणका लागि कम्पनीलाई नियमित ताकेता गरिरहेको छु । कागजी प्रक्रिया नमिलेको भनेर ढिलाइ गरिरहेका छन्,’ उनले भने, ‘नागरिकलाई धेरै नै सास्ती भइसक्यो । अब जसरी पनि छिटो सडक निर्माण हुनुपर्छ । कहाँ के सहयोग गर्नुपर्छ, हामी तयार छौं भनेका छौं ।’ विभिन्न कारणले सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । ‘क्षमताभन्दा ठूलो भारका गाडीहरू गुड्छन् । सडक संरक्षणमा सबैले ध्यान दिनुपर्छ, सडक कार्यालयलाई मात्र दोष लगाएर हुँदैन,’ उनले भने । निर्माण व्यवसायीलाई समयमै काम गर्न सचेत गराइरहेको उनले बताए ।

प्रकाशित : भाद्र २७, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?