कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियमन गर्नेहरू नै मापदण्ड मान्दैनन्

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीका होटल तथा पार्टी प्यालेसमा धमाधम तीजका कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारी उच्च अधिकारीको सहभागितामा यहाँका स्थानीय तह र विभिन्न संघसंस्थाले विभिन्न तीज कार्यक्रम आयोजना गरिरहेका हुन् ।

नियमन गर्नेहरू नै मापदण्ड मान्दैनन्

जिल्ला प्रशासनले गत भदौ १५ मा विज्ञप्ति जारी गरी जिल्लामा स्मार्ट निषेधाज्ञा कायम रहने र तीज लक्षित कार्यक्रम नगर्न/नगराउन कडा निर्देशन दिएको थियो । जिल्ला संकट व्यवस्थापन समितिको छलफलपछि गरिएको निर्णय अहिले कागजमा सीमित भएको छ ।

प्रजिअद्वारा जारी निषेध आदेशको छैटौं बुँदामा होटल तथा पार्टी प्यालेसमा तीजको दर खाने र नाचगान गर्ने कार्यक्रममा पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ । प्रशासनले आ–आफ्नो घरमै स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाउन आग्रह गरे पनि व्यवसायी, सर्वसाधारण मात्रै होइन नियामक निकाय र तिनका अधिकारीहरू नै नियम उल्लंघनमा अघि देखिएका छन् । गत भदौ १९ मा सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवीलगायत विभिन्न संघसंस्थाका महिलाको उपस्थितिमा तीजको दर खाने कार्यक्रम गर्‍यो । नगर उपप्रमुख उमा काफ्लेसहित कार्यक्रममा उपस्थित महिला दिदीबहिनी मास्कबिनै उपस्थित थिए ।

यो एक उदाहरण मात्र हो । केही दिनयता रूपन्देहीका स्थानीय तहको नेतृत्व र विभिन्न संघसंस्थाको अगुवाइमा तीज कार्यक्रममा न कसैले मास्क लगाएका देखिन्छन्, न त भौतिक दूरी नै कायम गरिएको हुन्छ । कोरोना संक्रमणको जोखिमका बीच भीडभाड गर्दै चाडपर्व मनाइरहँदा प्रशासनको अनुगमन भने फितलो देखिएको छ । हरेक दिन हुने यस्ता कार्यक्रमबारे प्रशासन अन्जान बन्ने गरेको छ ।

स्वास्थ्य मापदण्डविपरीतका गतिविधिले कोरोना संक्रमण फैलने निश्चित रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । ‘अहिले अस्पतालको आईसीयूदेखि आकस्मिक कक्षसम्म कोरोनाका बिरामी भरिएका छन्,’ उनले भने, ‘केही दिनमा बेड नपाइने अवस्था आउन सक्छ ।’ चाडपर्वका नाममा हुने लापरबाही रोग फैलाउने कारण बन्न सक्छ भन्नेबारे अनभिज्ञ बन्नु जोखिमयुक्त परिणामको पर्खाइ भएको डा. थापाको भनाइ छ । उनले प्रशासनले गरेका हरेक क्रियाकलाप फितलो भएको टिप्पणी समेत गरे । ‘संक्रमण रोकथाम तथा नियन्त्रण र मापदण्ड पालना गराउनेलगायत प्रशासनका कुनै काम पनि व्यवहारिक रुपमा प्रभावकारी देखिएको छैन । प्रशासनको कार्यप्रति विश्वस्त रहँदा सावधानी अपनाउने नागरिक पनि संकटमा पर्ने देखिन्छ,’ उनले भने ।

प्रहरीसँग समन्वय गरी होटल तथा पार्टी प्यालेसमा हुने कार्यक्रमलाई रोक्न र सञ्चालकलाई यस्ता कार्यक्रम होटलमा नगर्न आग्रह गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘केन्द्रीय निर्देशनकै आधारमा निषेधाज्ञा स्मार्ट बनाइएको हो,’ उनले भने, ‘चाडपर्वका बेला हुने लापरबाहीले नागरिक सबै संकटमा पर्ने डर हुँदाहुँदै अटेर गरिदिँदा समस्या भएको छ ।’ आफूहरूले प्रहरीसँग मिली सडकमा मास्क वितरण, माइकिङमार्फत सचेतनाजस्ता कार्य गरिरहे पनि बुझ्ने समुदायबाटै पालना नहुनुले अभियान विफल हुने र कोरोनाको स्थिरता अनियन्त्रित हुने त्रास बढेको उनले स्विकारे ।

चाडपर्वका बेला पनि सावधानी अपनाउनु जरुरी रहेको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. विकास देवकोटाले बताए । ‘बुझाइमा कमी भयो भनौं भने सबै शिक्षित छन्,’ उनले भने, ‘चाडपर्वका नाममा लापरबाही गरिए भयंकर स्थिति नआउला भन्न सकिँदैन ।’

प्रकाशित : भाद्र २३, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?