कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीखण्डका रूखै चोरी

शमशेरविक्रम जीसी

प्यूठान — सामान र नगद चोरीका घटना धेरै सुनिन्छन् । तर रूख नै चोरी भयो भन्दा पत्याउन मुस्किल पर्छ । प्यूठानमा भने पाखोबारी र खर्‍यानमा लगाइएका बहुमूल्य श्रीखण्डका रूख नै चोरी हुन थालेका छन् । यस्ता रूख रातारात चोरी हुन थालेपछि तिनलाई जोगाउन हम्मेहम्मे परेको छ । 

प्यूठान नगरपालिका–१ दाखाक्वाडीका वर्षौं पुराना श्रीखण्डका रूख चोरी हुन थालेको स्थानीय गोविन्द पोखरेलले बताए । गत साउन २२ र २५ मा ३५ वर्ष पुराना श्रीखण्डका दुई रूख उनको बारीबाट चोरी भयो । जसबाट २ लाख रुपैयाँ नोक्सान भएको उनले सुनाए । ‘राति काटेर लैजान्छन्,’ उनले भने, ‘कसैले सुइँको समेत पाउँदैनन् ।’ उनका अनुसार रूखको भित्री भाग काटेर लगिएको छ भने बोक्रा बारीमै छोडिएको छ ।

दाखाक्वाडीलाई श्रीखण्डको पकेट क्षेत्रका रूपमा चिनिन्छ । यहाँबाट ६ महिनामा एक दर्जनभन्दा बढी श्रीखण्डका रूख चोरी भएका छन् । दाखाक्वाडीकै नरहरि योगीले ३० वर्ष पुरानो एउटा श्रीखण्डको रूख चोरी भएको बताए । ‘यस्तै अवस्था रहे गाउँबाट श्रीखण्ड मासिने दिन आउँछ,’ उनले भने । चोरको बिगबिगी हुन थालेपछि स्थानीयले समय नहुँदै रूख काट्न थालेका छन् । ‘सरकारी स्तरबाट श्रीखण्डको पकेट क्षेत्र भनेर घोषणा भएको छ,’ उनले भने, ‘तर सुरक्षाका विषयमा कसैलाई वास्ता छैन ।’ चोरीका विषयमा डिभिजन वन कार्यालय र प्रहरीलाई जानकारी गराइएको उनले बताए ।

गाउँमा सात–आठ वर्ष पहिले पनि यस्तै चोरीको बिगबिगी थियो । एक वर्षयता फेरि एकपछि अर्को गर्दै रूख चोरी भइरहेका हुन् । गाउँका ६ जनाले खर्‍यान र बारीमा लगाएका रूख गत माघमा चोरी भएका थिए । ‘रातको समयमा कसले आएर चोरी गर्छ, पत्तो लागेको छैन,’ दाखाक्वाडीका गिरबहादुर धामीले भने, ‘बिक्री गर्ने बेलाका रूखहरू काटिएको छ ।’ ८ महिना पहिले आफ्नो बारीबाट २ वटा श्रीखण्डका रूख चोरी भएको उनले बताए । स्थानीयहरु पीतबहादुर धामीका ४, रोमबहादुर धामीका ३, गिरबहादुर धामी, टुकबहादुर धामी, पूर्णबहादुर धामी र नारायण धामीका २/२ वटा गरी १५ वटा श्रीखण्डका रूख ८ महिनाअघि हराएका थिए ।

हराएका श्रीखण्डको बजार मूल्य १० लाख रुपैयाँ बराबर थियो । श्रीखण्ड अहिले बजारमा प्रतिकिलो ७ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । श्रीखण्डका रूख डिभिजन वन कार्यालयमार्फत आदेश लिएर मात्रै काट्न पाइन्छ । बाहिर निकासी पनि कार्यालयले टाँचा लगाएर मात्रै लैजान पाइन्छ । श्रीखण्डको कटान आदेश जिल्लामा कसैलाई नदिइएको डिभिजन वनका सहायक वन अधिकृत दीपक केसीले बताए । कार्यालयका अनुसार अहिलेसम्म १७२.९३ किलो श्रीखण्ड अवैध रूपमा बाहिर लैजाँदै गरेको अवस्थामा बरामद गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?