कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्युठानका विद्यालय खुले

शमशेरविक्रम जीसी

प्युठान — पाँच महिनादेखि बन्द जिल्लाका विद्यालय खुल्न थालेका छन् । स्थानीय तहले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गर्न थालेका हुन् । 

प्युठानका विद्यालय खुले

कोरोना महामारीले बन्द विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए । ‘मास्क अनिवार्य गरेका छौं,’ उनले भने, ‘सेनिटाइजर लगाएपछि विद्यालयमा प्रवेश दिन्छौं ।’ महामारी छ भन्दै बस्ने अवस्था नरहेकाले सावधानी अपनाएर विद्यालय खोलिएको उनले बताए । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर विद्यालयको अवस्था, समुदायमा कोरोनाका विषयमा बुझेरै विद्यालय सञ्चालन गरिएको उनले बताए । ‘गाउँमा अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था पनि छैन,’ अध्यक्ष रिजालले भने, ‘फोनले काम नगर्ने स्थानमा केको अनलाइनको कुरा गर्नु !’

ऐरावती गाउँपालिकाभित्रका विद्यालय पनि खुलेका छन् । साउन तेस्रो साताबाट ऐरावतीले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । कोरोना महामारीको अवस्था केही कम हुँदै गएपछि विद्यालय सञ्चालन गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘यस्तो बेलामा पनि कोरोना छ भनेर विद्यालय बन्द गर्नु उपयुक्त लागेन,’ उनले भने, ‘अब त कोरोनासँगसँगै हिंड्नुपर्ने छ ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी विद्यालय सञ्चालन गर्न भनिएको उनले बताए । विद्यालयमा नियमित सरसफाइ, सेनिटाइजरको प्रयोग र मास्क अनिवार्य गरिएको छ ।

सबै विद्यालयलाई आवश्यक पर्ने सुरक्षाका सामग्री पठाइसकिएको छ । विद्यालय र विद्यार्थीलाई सुरक्षित राख्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ । कसरी सञ्चालन गर्ने र के गर्ने भन्ने निर्णय विद्यालय आफैंले गरेका छन् । विद्यालय सञ्चालन भएको एक हप्तामा कुनै समस्या नदेखिएको ऐरावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख एमप्रसाद पाण्डेले बताए । ‘विद्यालय सञ्चालन भएको दिनदेखि नै बालबालिकाको नियमित निगरानी विद्यालयका शिक्षकले गरिरहनु भएको छ,’ उनले भने, ‘कतै जोखिम देखिए तत्काल समाधान खोज्ने गरी तयारी पनि गरेका छौं ।’

नौबहिनी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ३१ विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा १० हजार ६ सय ३६ जना विद्यार्थी नियमित विद्यालयमै आएर पठनपाठन गर्न थालेका छन् । ‘प्रार्थना गर्ने, विद्यार्थीलाई एकै ठाउँमा जम्मा हुन बन्द गरेका छौं,’ नौबहिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली आचार्यले भने, ‘सावधानीलाई विशेष ख्याल गरेका छौं ।’

गएको साउन २४ गतेबाट यहाँका विद्यालय नियमितजस्तै खुलेका हुन् । विद्यार्थी बढी भएका विद्यालयमा एक दिन बिराएर सिकाइ सहजीकरण हुँदै आएको छ । एक सयको संख्यामा विद्यार्थी भएका विद्यालयहरू भने नियमित सञ्चालन भइरहेका छन् । गाउँपालिकाभित्रका ४५ वटै विद्यालय १५ दिनदेखि सञ्चालन भइरहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘विद्यार्थी बढी भएका विद्यालयलाई आलोपालो गर्न भनेका छौं,’ उनले भने, ‘अहिलेसम्म यहाँका विद्यालयमा कुनै समस्या देखिएको छैन ।’

प्रकाशित : भाद्र १४, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?