कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको विवादले सडक अधुरै

काशीराम डाँगी

रोल्पा — ठेकेदारबीच नै विवाद हुँदा रोल्पाको सदरमुकाम लिबाङदेखि जलजलासम्मको सडक निर्माणमा ढिलाइ भएको छ । मुख्य ठेकेदारले भुक्तानी नदिएको पेटी ठेकेदारले जनाएका हुन् । आर्थिक वर्ष २०७३/०७४ मा सम्झौता भएको उक्त सडकको काम तीन वर्षभित्र सक्ने योजना थियो । तर गत असोजसम्म म्याद थपिए पनि सडकको काम नसकिएको हो । 

ठेकेदारको विवादले सडक अधुरै

३७ किलोमिटर लामो उक्त सडक निर्माण गर्न रौताह/हरिहरि जेभी निर्माण कम्पनीले ठेक्का लिएको हो । तर, उक्त कम्पनीले रोल्पामा आफैं आएर काम गरेन । रोल्पाका तीन जना ठेकेदारसँग सम्झौता गरेर तोकिएकै अवधिमा निर्माण गर्न जिम्मेवारी दियो । ‘हामीले रोल्पाकै ठेकेदारहरू डम्बर बाँठा, लालबहादुर घर्तीमगर र तुलबहादुर खड्कालाई जिम्मा दिएका हौं,’ हरिहरि निर्माण सेवाका हरि राउतले भने । उनले सम्झौताबमोजिम ८० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे । पछि खड्काले छाडेपछि अर्का ठेकेदार खटकबहादुर खत्री तोराबोरा मिसिएका थिए ।

ठेकेदार तोराबोराले हरिहरि निर्माण सेवासँग गरिएको सम्झौता अनुसार आफूहरूले सडक निर्माण गरेको बताए । ‘सम्झौता अनुसार हामीले काम गरेका छौं,’ उनले भने, ‘हामीलाई कम्पनीले ९५ लाख नगद दिन बाँकी छ । त्यो रकम पाउन मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’ सहमतिअनुसार उक्त कम्पनीले गत चैत १५ गतेभित्र उक्त रकम दिने लिखित प्रतिबद्धता जनाएको खत्रीको दाबी छ । २८.४ किलोमिटर सडक निर्माण गरिएको खत्रीले बताए । ‘सहमतिअनुसार रकम दिएको भए ३७ किमी नै निर्माण गरिसक्ने थियौं,’ उनले भने ।

सडक निर्माणमा हालसम्म ३५ करोड बजेट खर्च भइसकेको छ । सुरु सम्झौताको अवधि सकिएपछि पुनः ६ महिना म्याद थप्दा पनि काम पूरा नभएको सम्झौता गर्ने कार्यालय प्यूठानस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त साइट हेर्ने सडक डिभिजन कार्यालयका इन्जिनियर हेमन्त रोकाले पटकपटक ताकेता गर्दा पनि सडक निर्माण कार्य सम्पन्न नभएको बताए । निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्षसमेत रहेका १० नम्बर वडाका अध्यक्ष मानबहादुर खत्रीले मुख्य ठेकेदारले अन्य ‘पेटी ठेकेदार’ लाई काम दिँदा ढिलाइ भएको बताए । ‘निर्माणको जिम्मा लिएको मुख्य ठेकेदारले अन्यलाई दिँदा काम सही ढंगले र समयमै हुन सक्ने सम्भावना कम हुन्छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उक्त सडक निर्माणबारे गुनासो प्राप्त भएको बताए । ‘योजना अनुसार काम भए नभएको निरीक्षण गर्न अनुरोध आएको छ । हामी अनुगमन गर्ने पक्षमा छौं,’ उनले भने । रोल्पा नगरपालिकाको १० नम्बर वडा र धार्मिक स्थल जलजलालाई लिबाङसँग जोड्न सडक निर्माण गर्न लागिएको हो । वर्षमा तीनपटक पूजाआजा गरिने जलजलामा लिबाङबाट पुग्न उक्त सडक सबैभन्दा छोटो हो । सरकारले चासो दिएर उक्त सडक निर्माण गर्ने योजना अघि सारे पनि ठेकेदार कम्पनीका कारण ढिलाइ भएको हो । सडक निर्माण भई सञ्चालनमा आएमा जिल्लाको धार्मिक एवं आर्थिक रूपमा प्रगति हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?