पहाडी जिल्ला जोड्ने सडक धमाधम- लुम्बिनी - कान्तिपुर समाचार

पहाडी जिल्ला जोड्ने सडक धमाधम

पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा हुँदै सल्यान जोडिने
५० प्रतिशत निर्माण पूरा
वीरेन्द्र केसी

अर्घाखाँची — पाँच पहाडी जिल्ला जोड्ने पाल्पा रामपुर– सल्यान कपुरकोट सडकको ५० प्रतिशत काम सकिएको छ । पहाडबाट तराईमा बढ्दो बसाइँसराइ रोक्न, कृषि उत्पादनको बजारीकरण गर्न र पर्यटन प्रवर्द्धनको उद्देश्यले लुम्बिनी प्रदेश सरकारले पहाडी लोकमार्ग रामपुर–कपुरकोट बहुउद्देश्यीय सडक निर्माण थालेको हो ।

सडकले पाल्पाको रामपुरबाट, अर्घाखाँची सदरमुकाम सन्धिखर्क हुँदै प्यूठान, रोल्पा र सल्यानको कपुरकोट जोड्नेछ । जीवराज आश्रित–कृष्णसेन इच्छुक नाम दिइएको रामपुर–कपुरकोट सडक प्रदेशको गौरवको आयोजना हो । २०७५ बाट निर्माण सुरु भएको सडकको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा साढे १४ करोड बजेट विनियोजन गरेको छ । ३ सय किमिमध्ये पाल्पामा १ सय १२, अर्घाखाँचीमा ७८, प्यूठानमा ६७, रोल्पामा ३५ र सल्यानको सीमादेखि कपुरकोटसम्म ८ किमि पर्छ ।

सडक निर्माणसँगै कालोपत्रको काम पनि भइरहेको मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भीमार्जुन पाण्डेले बताए । सडकलाई चार खण्डमा बाँडेर काम भइरहेको छ । जसमध्ये रोल्पा क्षेत्रमा विवादले ठेक्का प्रक्रियामा छ भने अरू जिल्लामा काम तीव्र गतिमा अघि बढेको छ । सन्धिखर्क–पकले–चुजाठाँटी १८ किमि दूरीको काम अन्तिम चरणमा छ । बाटो निर्माणसँगै कालोपत्रको कामसमेत भइरहेको उनले बताए ।

‘शक्तिपीठ, मठमन्दिर, ऐतिहासिक धरोहर र पहाडी सुन्दरतालाई जोड्ने प्रदेशको महत्वपूर्ण सडक हो । रामपुर–कपुरकोटले पहाडी जिल्लाका पूर्व–पश्चिम जोड्छ र उत्तर–दक्षिणका सडकले तराईसँग जोडिन्छ,’ पाण्डेले भने । कपुरबाट उक्त सडक भएर बुटवल आउजाउ गर्न दूरी छोटो पर्छ । सिंगो प्रदेशलाई एउटै सडकले जोड्ने उनले बताए । रामपुरदेखि कपुरकोटसम्म धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य पर्छन् । पाल्पामा रामपुरसहित तीनगिरे, अर्घाखाँचीमा संस्कृत व्याकरणको उद्गम स्थल पाणिनि तपोभूमि, सन्धिखर्क बजार, प्यूठानको स्वर्गद्वारी, रोल्पाको होलेरी र सल्यानको कपुरकोट महत्वपूर्ण ऐतिहासिक गन्तव्य हुन् । पाल्पाको रामपुरबाट बुटवलसहित तराई जोडिन्छ ।

सडक बनेसँगै पहाडी भेगका उत्पादन प्रवर्द्धन, धार्मिक, सांस्कृतिक गतिविधि देखाएर पर्यटकलाई तीर्थस्थलको दर्शनसँगै सांस्कृतिक मनोरञ्जन गराइने लक्ष्य रहेको प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए । यो सडकले पहाडी जिल्ला हिल स्टेसन बन्ने र पर्यटन प्रवर्द्धनसँगै कृषि उत्पादनको पनि बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ । सल्यानको कपुरकोटको आलुसहित तरकारी अब पहाडी जिल्ला हुँदै सहजै तराई पुग्नेछ ।

५ पहाडी जिल्लाको उत्पादित कृषि उपज तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुर्‍याउने लक्ष्य रहेको घिमिरेले बताए । ‘सडकले बजारीकरणमा सहज भएपछि कृषि उत्पादनबाट बेरोजगार युवा स्वरोजगार उन्मुख बन्नेछन्,’ घिमिरेले भने, ‘पहाडका डाँडाकाँडामा फलेको स्वादिलो तरकारी, मसलाबालीसहित अन्न गाडीबाटै तराई पुग्नेछ । यसबाट पहाडबाट तराईमा बढ्दो बसाइँसराइलाई रोक्न मद्दत गर्छ ।’

पाल्पामा रामपुर फाँट, अर्घाखाँची खिदिम दुर्गाफाँट, सन्धिखर्क फाँट र खिल्जी असुरकोटका फाँट पर्छन् । प्यूठानको बिजुवार फाँटसहित रोल्पा पहाडी खेतीयोग्य बस्ती पर्छन् । सल्यानको कपुरकोट कृषि उत्पादन र पशुपालन राम्रो सम्भावनाको क्षेत्र हो । रामपुर–कपुरकोट सडक यात्राको हिसाबले भन्दा पर्यटन प्रवर्द्धन र कृषि उपज उत्पादनमा वृद्धि ल्याउने र बजारीकरण गरी बेरोजगार युवालाई कृषि तथा पर्यटन उद्यमबाट स्वरोजगार बनाउने उद्देश्यले सडक निर्माणको अवधारणा रहेको बताइन्छ ।

आर्थिक गतिविधिका हिसाबले रामपुर–कपुरकोट सडको बेग्लै महत्व रहेको उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । ‘अन्तरजिल्ला आउजाउ बढ्नेछ । उत्पादन आयात निर्यातले गाउँमै आर्थिक गतिविधि बढ्नेछन् । अग्ला डाँडामा पर्यटक बसाल्न होमस्टे र होटल निर्माण हुन्छन् । पर्यटन र कृषि उपजबाट गाउँका डाँडामै धेरै युवालाई रोजगार तथा स्वरोजगार बन्न सहयोग पुग्नेछ,’ उनले भने ।

प्रकाशित : भाद्र ८, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

ऐन बनाउन हतारो, फुर्सदमा संशोधन

१४ ऐन संशोधनको तयारी गरिएकामा ९ वटा प्रदेशसभामा दर्ता
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले पर्याप्त अध्ययन र छलफलबिनै हतारोमा निर्माण गरेका कानुनहरू संशोधन गर्न धमाधम सदनमा दर्ता गरिरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संशोधनका लागि १४ वटा कानुन तयारी गरे पनि हाल प्रदेशसभामा ९ वटा ऐन एकमुष्ट संशोधनका लागि दर्ता गरिएको छ । सरकारले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकमार्फत एकैपटक ९ वटा कानुन एकमुष्ट संशोधन गर्न लागेको हो ।

प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४, कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश राष्ट्रिय वन ऐन २०७६, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रदेश वातावरण संरक्षण ऐन २०७७ मा भएका केही व्यवस्थाहरूलाई एकमुष्ट रूपमा संशोधन गर्न लागिएको छ ।

स्वास्थ्यसम्बन्धी ऐनमा कारबाहीका लागि सुरु मुद्दा अब सामाजिक विकास मन्त्रालयका सचिवले हेर्ने गरी व्यवस्था गर्न लागिएको छ । प्रस्तावित विधेयकमा दफा ६९ मा सुरु मुद्दा हेर्न अधिकारीको व्यवस्था गरिएको छ । कसुरसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार मन्त्रालयको सचिवलाई हुने र सचिवले कारबाहीको निर्णय गर्दा प्राविधिक समितिको सिफारिस लिन सक्ने प्रस्ताव गरिएको छ । अहिले सुरु मुद्दा हेर्ने अधिकार जिल्ला अदालतलाई छ । जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालत जान पाउने हालको व्यवस्था संशोधन गर्दै सुरु मुद्दा हेर्ने अधिकारीको निर्णय चित्त नबुझे जिल्ला अदालत जान पाउने व्यवस्था गरिएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ मा सवारीचालक अनुमतिपत्रको अभिलेख राख्नुपर्ने, जफत सवारी सम्बन्धमा, टिकट नदिई यात्रा प्रतिबन्ध र कार्यविधि, निर्देशिका तथा मापदण्ड बनाउन सक्ने प्रावधानलाई संशोधन गर्न प्रस्ताव गरिएको छ । प्रदेश सहकारी ऐन २०७६ मा कसुरसम्बन्धी दफामा संशोधन गरिएको छ । उक्त अदालतबाट निरूपण हुने कैद वा कैद र जरिवाना दुवै हुने कसुरको विषय प्रचलित संघीय सहकारी कानुनबमोजिम हुनेछ भन्ने प्रावधान थप गर्ने प्रस्ताव गरिएको छ । प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ मा व्यवसाय गर्न अनुमति लिनुपर्ने र अनुमतिपत्रको अवधि र नवीकरणको विषय संशोधनका लागि प्रस्ताव गरिएको छ । प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ मा उद्योगको पुँजी वृद्धि, क्षमता वृद्धि र उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्ने, उद्योग दर्ता गर्ने निकाय, विवरण पेस गर्नुपर्ने विषयहरू संशोधनका लागि प्रस्ताव गरिएको छ । प्रदेश वातावरण संरक्षण ऐन २०७७ मा अनुगमन एवं प्रतिवेदन गर्ने, अधिकार प्रत्यायोजनको विषयमा संशोधन गरिएको छ ।

वाग्मती प्रदेशका सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेमान श्रेष्ठले अध्ययन नै नगरी हतारोमा सरकारले आफूले काम गरेको छ भनेर देखाउन कानुन निर्माण गर्दा यस्तो अवस्था आएको बताए । ‘अहिले धेरै ऐन एकमुष्ट संशोधनका लागि अघि सारिएको छ,’ उनले भने, ‘यसअघि अध्ययन नगरी कानुन बनेकाले अहिले संशोधन गर्नुपरेको हो । ऐन बनाउँदा पर्याप्त अध्ययन हुनुपर्छ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले संघीय सरकारका ऐनसँग बाझिएकाले कानुन संशोधन गर्नुपरेको बताए । ‘धेरै कानुनहरू संघीय सरकारले बनाएको कानुनसँग बाझिएको छ । त्यसकारण पनि संशोधन गर्नुपरेको हो,’ मन्त्री पाण्डेले नयाँ आर्थिक वर्ष सुरु भइसकेका कारण यसै अधिवेशनभित्र सबै कानुन संशोधन भइसक्ने बताए । धेरै कानुन राजस्वसँग पनि सम्बन्धित भएका कारण सकेसम्म आगामी प्रदेशसभाको बैठकबाट यस विषयलाई टुंग्याउने तयारी सरकारको रहेको उनको भनाइ छ ।

कानुन कार्यान्वयनमा केही व्यावहारिक समस्याहरू देखिएकाले ऐनहरू संशोधन गर्नुपरेको मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीले बताए । ‘प्रदेशले निर्माण गरेको ऐनमा दण्ड सजायका हकमा कैदको विषय पनि उल्लेख गरिएको रहेछ । सैद्धान्तिक रूपमा प्रदेशले बनाएको ऐनमा कैद सजायको व्यवस्था गर्न मिल्दैन । यसो हुँदा पनि कतिपय कानुनहरू संशोधन गर्नुपरेको हो,’ उनले भने । उनले संविधानतः संघीय कानुनसँग बाझिने गरी प्रदेशले कानुन बनाउन मिल्दैन ।

वाग्मतीमा हालसम्म ६० वटा विधेयकहरू प्रमाणीकरण भई कानुनका रूपमा लागू भएका छन् । सरकारले अझै एकल र साझा अधिकार सूचीका करिब ३९ वटाभन्दा बढी कानुन निर्माण गर्न बाँकी छ ।

प्रकाशित : भाद्र ८, २०७८ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×