कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्‍वासको मत लिने तयारी

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्‍वासको मत लिने तयारी

एमालेले सोमबार पनि सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो । प्रतिपक्षको निरन्तर अवरोधकैबीच बल प्रयोग गरेरै मुख्यमन्त्री केसीले विश्वासको मत लिन तयारी गरेका हुन् ।

प्रदेश सभा परिसरमा अहिलेपनि माओवादी र कांग्रेस संसदीय दलको बैठक जारी छ । मुख्यमन्त्रीले आज नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेको सत्ता पक्षकै एक प्रमुख सचेतकले बताए । ‘तयारी छ, हेरौं अब कस्तो हुन्छ,’ उनले भने, ‘विपक्षको राजनीतिक प्रतिशोध साँध्ने अवरोधलाई चिर्ने प्रयास छ ।’ उनले बल प्रयोग गरेरै भएपनि विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने गरी छलफल भइरहेको बताए ।

१ बजेका लागि आह्वान भएको बैठक अझै सुरु भएको छैन । स्रोतका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट विश्वासको मत लिने कार्य सूची पास नभएपनि सभामुख घर्तीले आफ्नो अधिकार प्रयोग गर्दै विश्वासको मतको प्रक्रिया सुरु गर्ने तयारी भएपछि बैठक केही समय ढिला भएको हो ।

विपक्षी दलका संसदीय दलका उपनेता वैजनाथ चौधरीले सत्ता पक्ष बल प्रयोग गरेरै विश्वासको मत लिने तयारीमा जुटेको बताए । उनले एमालेले पनि सशक्त रुपले त्यसको प्रतिवाद गर्ने बताए ।

प्रकाशित : भाद्र ७, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?