कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

रोकिएन महिला हिंसा

एक महिनामा जबरजस्ती करणीका ३७, छुवाछूतका २ र करणी उद्योगका १६ घटना दर्ता
सन्जु पौडेल

लुम्बिनी — रोल्पाको लुङ्गी गाउँपालिकाकी एक महिलालाई साउन २ गते आफ्नै ससुराले करणी गरे । घटनाको अर्को दिन वडाध्यक्षसहित आठ जनाले उक्त घटना गाउँमै मिलापत्र गरेर सामसुम पारे । त्यस्तो मिलापत्र पीडितलाई चित्त बुझेन । उनले साउन ४ गते जिल्ला प्रहरीमा ससुराले आफूमाथि जबरजस्ती करणी गरेको र अन्य आठ जनाले घटना मिलाउने प्रयास गरेको भन्दै किटानी जाहेरी दर्ता गराइन् । 

रोकिएन महिला हिंसा

जाहेरी दर्ता गरेकै दिन प्रहरीले आरोपित सबैलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले बताए । अहिले ससुरालाई हाडनाता र जबरजस्ती करणीको मुद्दा चलाइएको छ । उनी पुर्पक्षका लागि थुनामा छन् । आठ जना मतियारमध्ये एक जना १ लाख ५० हजार, चार जना ६० हजार र तीन जना ३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

रोल्पाकै त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई गत असार २७ गते राति दाजु नाता पर्नेले करणी गरे । ती युवतीका आफन्तले घटना मिलाउन खोजे । तर, पीडितले गत साउन ११ गते प्रहरीमा उजुरी दिइन् । उजुरीपछि प्रहरीले ती पुरुषलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । गत असार २ गते प्यूठानको गौमुखी गाउँपालिकामा सौतेला बुबाले १३ वर्षीया छोरीलाई धम्काएर करणी गरे । पीडितले जाहेरी दिएपछि असार २ गते प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्‍यो । जबरजस्ती करणी र हाडनाताका मुद्दा लागेका पुरुष पुर्पक्षका लागि थुनामा छन् । जिल्लाकै स्वर्गद्वारी नगरपालिकाकी १२ वर्षीया नाबालिकालाई आफ्नै पिताले असार ३१ गते राति करणी गरे । घटनाको साता दिनभित्रै पीडितले जाहेरी दिएपछि पक्राउ परेका पितालाई हाडनाता र जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

अर्घाखाँचीको शीतगंगा–२ की सिर्जना सुनारले गत चैतमा स्थानीय सुमन क्षेत्रीसँग प्रेमविवाह गरिन् । दलित भएका कारण परिवारका सदस्यले घरमा भित्र्याएनन् । बुटवलमा कोठा भाडामा लिई बसेका उनीहरूको सम्बन्ध चिसिंदै गयो । सुमनले सिर्जनालाई कुटपिट गर्ने, गर्भमा भएको ८ महिनाको बच्चा फाल्न दबाब दिने गर्न थाले । सिर्जनाले नमानीकन बसिरहेको र माइतीलाई बच्चा रहेको कुरा जनाएकी थिइन् । साउन २१ गते राती ११ बजेसम्म आफन्तीसँग कुरा गरेकी सिर्जना २२ गते बिहान आत्महत्या गरेर पंखामा झुन्डिएको अवस्थामा फेला परिन् । घटनापछि माइतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले सुमनलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) ले गत शनिबार आफ्नै घरमा बोलाई २१ वर्षीया एक महिलालाई करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । शुक्लाले साउन २४ गते बिहान घरमै बोलाएर प्रहरी थुनामा रहेका श्रीमान्लाई छुटाइदिने आश्वासनमा करणी गर्ने प्रयास गर्दा महिला भाग्न सफल भएकी थिइन् । आफूहरूको अध्ययनले महामारीले भित्र्याएको बन्दाबन्दीले निम्तिएको आर्थिक समस्या, मदिरा सेवनका कारण विवेक गुमाएर मानिसले यस्ता कुकृत्य गरेको भेटिएको अनौपचारिक सेवा केन्द्र (इन्सेक)का लुम्बिनी प्रमुख भोला महतले बताए । उनले महिलामा आफूमाथि भएका घटनाबारे प्रहरी र अन्य संघसंस्थामा उजुरी दिनुपर्छ भन्ने चेतना वृद्धिले पनि घटना दर्ता भएको र संख्या बढेको सुनाए । ‘अहिले पनि महिलाप्रति हेर्ने दृष्टिकोण नकारात्मक नै छ,’ उनले भने, ‘मानसिक विचलनले पारिवारिक हिंसाका घटना बढेका छन् ।’

साउन १ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा जबरजस्ती करणीका ३७, जातीय छुवाछूतका २, बोक्सीको आरोपमा १ र जबरजस्ती करणी उद्योगका १६ घटना दर्ता भएका छन् । तीबाहेक घरेलु हिंसाका घटना समेत वृद्धि हुँदै गएका छन् । पछिल्लो समय हरेक जिल्लामा देखिएका यस्ता घटनाको कारण के भन्ने कुरा ठ्याक्कै पत्ता नलागेकाले यससम्बन्धी अध्ययन भइरहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यले बताए ।

मानिसमा रहेको चेतनाकै कमीले परिवारका सदस्यभित्रैबाट जघन्य अपराध भइरहेकोप्रति प्रहरी प्रशासन गम्भीर रूपले खोजी कार्यमा लागिरहेको भन्दै उनले लुम्बिनीमा समेत भइरहेका घटनाका विषयमा जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी समस्या न्यूनीकरणको प्रयासमा लाग्ने बताए । ‘यस आर्थिक वर्षको रणनीति तयार गर्दैछौं,’ उनले भने, ‘जबरजस्ती करणी, जातीय छुवाछूत, आत्महत्या दुरुत्साहनजस्ता विषयलाई न्यूनीकरण गर्नेतर्फ योजना बनाएर अघि बढ्नेछौं ।’ घटना पहिले पनि भइरहने तर संख्या वृद्धि हुँदै जानु सामान्य नभएकाले नेपाल प्रहरीले यसको समाधान खोज्ने गरी नियमित अध्ययन र अपडेटमै जोड दिइरहेको उनले बताए ।

प्रकाशित : भाद्र ४, २०७८ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×