लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शनिबार सार्वजनिक गरेको सूचनामा संविधानको धारा १८३ को उपधारा १ बमोजिनम नवौं अधिवेशन भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान भएको उल्लेख छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै ७ सदस्यीय मन्त्रिमण्डल बनाएका उनले गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल पूर्ण गराउन सकेका छैनन । विश्वासको मत लिएपछि मात्र पूर्ण आकारको मन्त्रिपरिषद् बनाउने गरी अविधेशन आह्वान भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला एवं योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।

प्रकाशित : श्रावण ३०, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्दैनौं : नेता नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे । शनिबार काठमाडौंमा आयोजित वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा कार्यक्रममा उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे । 

निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ थियो । उनले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन । तर त्यो अन्तिम उपायमात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’

नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधान रक्षा, प्रतिगमन हुन नदिन, लोकतन्त्र रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको पनि दोहोर्‍याए ।


प्रकाशित : श्रावण ३०, २०७८ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×