कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

खुल्यो मायादेवी मन्दिर

पहिलो दिनमै पुगे ६ सयभन्दा धेरै आन्तरिक पर्यटक, मास्क नलगाई आउनेलाई प्रवेश निषेध
मनोज पौडेल

लुम्बिनी — मुलुककै प्रमुख पर्यटकीय गन्तव्यस्थल लुम्बिनीको मायादेवी मन्दिर साढे तीन महिनापछि बिहीबारबाट खुला गरिएको छ । अब स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्नेछन् । मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमती एवं सांसद सुजिता शाक्यसँग यहाँ आएर पूजाआजा गरे । 

खुल्यो मायादेवी मन्दिर

मन्दिर खोलिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहीबार मात्रै ६ सय जनाभन्दा धेरै आन्तरिक पर्यटकले मन्दिर अवलोकन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको हो । डेढ–डेढ मिटरको दूरीमा लाइन लगाएर शरीरको तापक्रम नापी प्रवेश दिइएको छ । सेनिटाइजर र मास्क नलगाई आउनेलाई प्रवेश निषेध गरिएको छ । मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुप, बिहारका भग्नावशेष र प्राचीन इनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । रुचि हुने व्यक्ति ध्यानसमेत बस्ने गरेका छन् ।

लुम्बिनी विकास कोष सचिवालयको बैठक बसेर मन्दिर खुला गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । ‘संवेदनशील ठाउँ भएकाले सचेत छौं,’ उनले भने, ‘सुरक्षा सतर्कताका साथ एक पटकमा सीमित व्यक्तिलाई मन्दिरभित्र प्रवेश दिएका छौं ।’

केन्द्रीय नहरमा डुंगा सञ्चालन पनि सुरु भएको छ । बिहीबार डुंगा चालक अल्गु पाण्डेको अनुहारमा खुसीको चमक थियो । ‘करिब साढे ३ महिनापछि डुंगाको ह्यान्डिल समात्दा अनौठो लाग्यो,’ उनले भने, ‘अब यो डुंगा छाड्न नपरोस् भने कामना गरेको छु ।’ अब बिस्तारै लुम्बिनीमा चहलपहल बढ्ने उनले विश्वास व्यक्त गरे । ‘दुई–तीन दिनदेखि चहलपहल बढ्दै गएको छ,’ पर्यटन व्यवसायी पिन्टु बनियाले भने, ‘बिहीबार मन्दिर खुलेसँगै स्वदेशी पर्यटक एक्कासि बढेको देखियो ।’ आफूहरू पर्यटकलाई स्वागत गर्न आतुर रहेको अर्का व्यवसायी विष्णु बस्नेतले सुनाए । लुम्बिनी बसपार्कनजिक रहेका माला, प्रसाद र क्युरियो पसल पनि खुलेका छन् । चकमन्न बजार चलायमान देखिएको छ ।

‘लामो समय घरभित्रै खुम्चिँदा निसास्सिएका थियौं,’ पोखराबाट परिवारसहित घुम्न आएका हीराविक्रम शाहीले भने, ‘यहाँ आएपछि शान्ति र सद्भावको ऊर्जा पायौं ।’ मायादेवी मन्दिर परिसर पुगेर आनन्दित र रोमाञ्चित बनेको उनले सुनाए । ‘अहिले बिस्तारै पर्यटक बढेका छन्,’ कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘मन्दिर खुलेपछि झन् बढ्ने निश्चित छ ।’ मायादेवी मन्दिर खुला नहुँदै बुधबार नै झण्डै ५ सय जति पर्यटक आएका उनले बताए । मन्दिर खुले पनि यहाँका विहार भने खुलेका छैनन् । क्रमशः विहार, गुम्बा, चैत्य र मन्दिर खोल्नेतिर ध्यान दिनुपर्ने स्थानीय होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए । ‘हामी पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सेवा दिन तयार भएर बसेका छौं,’ उनले भने, ‘यसका लागि कोषले वातावरण बनाइदिन पर्‍यो ।’ मायादेवी मन्दिर खोल्न यहाँका पर्यटन र होटल व्यवसायीले दबाब दिएका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको पहिलो लहरमा यहाँ होटल तथा रेन्टुरेन्ट करिब ८ महिना बन्द भएका थिए । व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका थिए । यहाँ सामान्यदेखि तारेसम्मका ८० होटल छन् । लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक एवं तीर्थयात्री बर्सेनि १६ लाखको हाराहारीमा आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका ३ लाख ८० हजार विदेशी र ११ लाख ७८ हजार आन्तरिक गरी १५ लाख ५८ हजार पर्यटक यहाँ आएका थिए ।

प्रकाशित : श्रावण २९, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?