घर छाडेर जान्छन्, फर्कंदैनन्- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर छाडेर जान्छन्, फर्कंदैनन्

पीडितले क्षतिपूर्ति नपाउँदा परिवारको बिजोग, मजदुरी गर्न जानेको दुर्घटना बिमासमेत हुँदैन
काशीराम डाँगी

रोल्पा — सुकबहादुर पुन ह्वीलचेयरमा ओहोरदोहोर गर्छन् । घर र आँगन नै उनको संसार बनेको छ । कुनै बेला हातपाखुरा खियाएर परिवारको रेखदेख गर्दै आएका उनी अरूको सहारामा निर्भर छन् । गाउँमा स्वरोजगारको उपाय नभएपछि काम खोज्दै उनी उवाबाट मुस्ताङ पुगेका थिए ।

२०७५ असार २२ मा दुर्घटनामा परेर गम्भीर घाइते दुई जनामध्ये सुकबहादुर एक हुन् । उक्त दुर्घटनामा १० मजदुरको मृत्यु भएको थियो । उनीहरू मुस्ताङको दामोदरकुण्ड–३ स्याङबोचेमा सडक निर्माणमा खटिएका थिए । रोल्पालीहरु आकर्षक ज्यालाको आसले बर्सेनि स्वदेश र विदेशमा मजदुरीका लागि पुग्ने गरेका छन् ।

२०७३ भदौ पहिलो साता भारतको हिमाचलस्थित रामपुरनजिक पहिरो खस्दा जिल्लाको तालाबाङस्थित रिजाबाङका लक्ष्मीराम घर्तीको परिवारै पुरियो । उक्त खबर भारतीय सञ्चारमाध्यममार्फत करिब दुई सातापछि गाउँमा पुगेको थियो । प्रशासनलाई पनि उनीहरूको ठेगाना पहिचान गर्न मुस्किल परेको थियो । ‘खबर सुनेपछि हामी मूर्छित भयौं,’ लक्ष्मीरामकी बुहारी बेबुले भनिन्, ‘तर दुःख सहनुको विकल्प थिएन ।’ आफन्त पदम घर्तीमगरका अनुसार दुर्घटनामा पर्नुभन्दा ६ वर्षअगाडि परिवारसहित लक्ष्मीराम गाउँ आएका थिए । ‘फर्केर गएपछि परिवारै पहिरोमा परेको खबर आयो,’ उनले भने, ‘कमाउन गएको एउटा परिवारै गुमाउनुपर्‍यो ।’ अहिले उनको सम्पत्ति लथालिंग छ । घर भत्कियो, जग्गा बाँझो छ ।

जिल्लाको होलेरी नजिक बाइजा गाउँबाट कामको खोजीमा प्यूठान पुगेका एकै गाउँका ७ युवाको एक वर्षअघि ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भयो । भिंगृ–स्वर्गद्वारी सडक कालोपत्र योजनामा कार्यरत उनीहरू साउने संक्रान्ति मनाएर घरबाट कार्यस्थल फर्कने क्रममा ट्र्याक्टर दुर्घटनामा परेका थिए । रोल्पाको रुन्टीगढी–५ का सागर बस्नेत, रिमबहादुर बस्नेत, कविराम बस्नेत, वीरेन्द्र बाठामगर, थमन बाठा मगर र गोवर्द्धन बुढामगरको मृत्यु भएको हो । त्रिवेणी–२ नुवागाउँका चालक कमल कुँवरको पनि घटनास्थलमै मृत्यु भएको थियो भने रोल्पा बाइजाकै विशाल थापा भने हाम फालेर जोगिएका थिए । उनीहरू ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीअन्तर्गत काम गर्थे । रुन्टीगढी–५ का वडाध्यक्ष नेपबहादुर थापाले राहतसमेत नपाएकाले कमाउने व्यक्तिको मृत्यु भएपछि अन्य सदस्यको अवस्था निकै दुःखपूर्ण भएको बताए । ‘सामान्य किरिया खर्च मात्रै पाएका थिए,’ उनले भने, ‘उनीहरूको परिवारको अवस्था अहिले दयनीय छ ।’

गत साउन ४ को राति मजदुरी गर्न बागलुङ पुगेका यहाँको गजुलका ४ जनाको विषाक्त मदिरा सेवनले मृत्यु भयो । गलकोटस्थित खानेपानी योजनामा काम गर्न पुगेको एक महिनामै उनीहरूको ज्यान गएको हो । सुनील स्मृति–५ का प्रवीण घर्ती, रेखबहादुर राना, दीपेन्द्र पुनमगर र दूधबहादुर रानाको मृत्यु भएको थियो । रवीन्द्र पुन र खेमराज घर्ती गम्भीर बिरामी भएका थिए । आफैंले पसलबाट मदिरा खरिद गरेर सेवन गरेको र त्यसबाटै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामको खोजीमा विभिन्न स्थानमा पुग्ने सर्वसाधारणलाई काममा लगाउने कम्पनी र राज्यले पर्याप्त क्षतिपूर्तिको व्यवस्था नगरेको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए । यसरी दुर्घटनामा ज्यान गुमाएपछि परिवारको आर्थिक अवस्था झन् खस्किएको उनले बताए । ‘गाउँमा काम दिन सकिएको छैन,’ उनले भने, ‘गाउँलेहरू मजदुरका रूपमा मुस्ताङ पुग्ने गरेका छन् । कुनै ठूलो दुर्घटना भएमा ठूलै क्षति हुन्छ ।’ प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले काम खोज्दै जिल्लाबाहिर पुग्नेको यकिन तथ्यांक नरहेको बताए । ‘अधिकांश ठेकेदारमार्फत काम जहाँ पाउँछन्, त्यहाँ पुग्छन्,’ उनले भने, ‘दुर्घटना भएपछि जानकारी आउने गरेको छ ।’

कम ज्याला पाएर पनि काम खोज्दै मुलुकभित्रैका स्थान र भारतमा समेत मजदुरी गर्न ठूलो संख्यामा जिल्लावासी जाने गरेका छन् । तर स्थानीय तह र प्रशासनले त्यसबारे कुनै तथ्यांक राख्ने गरेका छैनन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले स्थानीय तहले पूर्वाधारका योजना सञ्चालन गर्दा यहीं पनि काम पाउन सक्ने सम्भावना हुँदाहुँदै कतिपय बाहिर जाने गरेको बताए । रोल्पा नगर प्रमुख पूर्ण केसीका अनुसार बर्सेनि काम खोज्न बाहिर जानेहरूको लामो लस्कर देखिन्छ । कोरोना महामारी सुरु भएपछि घर फर्की आएकाहरूलाई व्यवस्थित गर्न निकै प्रयास गर्नुपरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दक्ष र अर्धदक्ष मजदुरलाई ठेकेदार वा नाइकेले लैजाने गरेका सूचना प्राप्त भए पनि त्यसबारे सोधीखोजी नगरिएको बताए । ‘कुनै दुर्घटना भयो भने वा अन्य कारणले सूचना र अनुसन्धान गर्नुपर्ने भएमा मात्रै हामीसम्म सोधीखोजी गर्न आग्रह हुने गरेको छ । अन्यथा यसबारे कसैले सोध्दैन,’ प्रजिअ सापकोटाले भने । स्थानीय तहमार्फत सूचना संकलन गरेमा केही तथ्यांक संकलन गर्न सकिने उनको भनाइ छ । अर्कातिर स्थानीय तहले चाहेमा मजदुरलाई दक्ष बनाउन आवश्यक तालिम दिने र विवरणसमेत राख्न सकिने सम्भावना रहेको उनले बताए । ‘ठेकेदार वा नाइकेमार्फत मजदुरी गर्न जानेहरूको बिमा बने/नबनेको बारे जानकारी हुँदैन,’ उनले भने, ‘सबै मजदुरको दुर्घटना बिमा गर्ने प्रावधान कार्यान्वयन गर्न सकेमा सुरक्षाको उच्च व्यवस्था मिलाउन सकिन्छ ।’

यकिन तथ्यांक नभए पनि बर्सेनि सयौं मजदुर जिल्लाबाहिर पुगेर मजदुरी गर्छन् । केहीले सडक वा अन्य दुर्घटनामा परी ज्यानसमेत गुमाउने गरेका छन् । मजदुरको खोजी दुर्घटना भएपछि मात्रै हुने गरेको छ । जिल्लाबाट मजदुरी गर्न जानेहरूको दुर्घटना बिमा गर्ने चलन छैन । बिमा र सामाजिक सुरक्षाको व्यवस्था अभावमा पीडितलाई क्षतिपूर्तिसमेत मिल्न मुस्किल पर्दै आएको छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

सम्बन्धविच्छेद गर्ने पुरुष बढे

प्रताप विष्ट

हेटौंडा — पछिल्लो ३ वर्षदेखि श्रीमतीसँग अलग बस्दै आएका मकवानपुर भीमफेदी–४ का सुमन मोक्तान सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा छन् । उनले श्रीमतीसँग सम्बन्धविच्छेद गराइपाऊँ भनी मकवानपुर जिल्ला अदालतमा गत भदौमा उजुरी दिएका थिए । हेटौंडा–१९ का २९ वर्षीय श्याम खत्रीले पनि गत माघ ११ मा सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् ।

२०७५ भदौ १ देखि नयाँ अपराध संहिता लागू भएपछि सम्बन्धविच्छेदका लागि महिलासरह पुरुषलाई पनि सहज बनेको छ । जसका कारण मकवानपुरमा सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अदालतमा ६ सय ८७ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये महिलाका ४ सय २२ थान र पुरुषका २ सय ६५ थान मुद्दा छन् । जसमध्ये महिलाले दर्ता गराएका ३ सय १ थान र पुरुषले दर्ता गराएका १ सय ११ थान मुद्दा किनारा लागिसकेका अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले बताए । अघिल्लो आवमा १ सय २ जना पुरुषले र ४ सय १ जना महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

‘महिलाले सम्बन्धविच्छेदका निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ भट्टराईले भने, ‘पुरुषले दिएका प्रायः उजुरीमा महिलाको सहमति नहुने भएकाले फैसला हुन समय लागेको हो ।’ मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । श्रीमान्–श्रीमती मिलेर बसून् भन्ने उद्देश्यले यस्तो व्यवस्था राखिएको उनको भनाइ छ ।

पछिल्लो कानुनी व्यवस्थाअनुसार लगातार ३ वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा श्रीमतीविरुद्ध श्रीमान् पनि अदालत जान सक्छन् । श्रीमतीले अन्य कुनै परपुरुषसँग यौनसम्बन्ध राखेको अवस्थामा पनि श्रीमान्ले सम्बन्धविच्छेद गर्न सक्छन् । ‘समानताका नाममा कानुनले पुरुषका लागि सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसकै कारण सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको हो ।’

उनका अनुसार स्वतन्त्र हुने नाममा स–साना मनमुटावमा पनि श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद हुने क्रम बढेको अदालतका स्रेस्तेदार भट्टराईले बताए । उनका अनुसार विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवाहरूको जोडी पनि छ । गत आवमा अदालतमा विवाह गरेको एक वर्ष बित्न नपाउँदै ४ जोडीले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका थिए । ‘सम्बन्धविच्छेदलाई महिला र पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीहरूको भविष्य अन्धकारमय बन्ने देखिन्छ,’ अदालतका एक कर्मचारीले भने, ‘नयाँ संहिताले समाजलाई थप विखण्डनतर्फ लैजान्छ कि जस्तो लाग्छ ।’

नयाँ संहिता कार्यान्वयनमा आएपछि जिल्ला अदालतमा गत आवमा ६० वर्षमाथिका ४ वृद्धले सम्बन्धविच्छेदका लागि उजुरी दिएका थिए । जिल्ला अदालतका अनुसार गत आवमा सबैभन्दा धेरै सम्बन्धविच्छेद र त्यसपछि लागूऔषधसम्बन्धी मुद्दा रहेका छन् ।

जिल्ला अदालतले गत आवमा दर्ता भएका २ हजार ४ सय २० मुद्दामध्ये १ हजार ५ सय १८ थान फर्छ्योट गरेको छ । अघिल्लो आवबाट ९ सय १५ थान मुद्दा जिम्मेवारी सरेर आएकामा ९७ थान मात्र फर्छ्योट हुन बाँकी रहेको भट्टराईले बताए ।

प्रकाशित : श्रावण २२, २०७८ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×