कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्याका घटना बढ्दो

माधव ढुंगाना

भैरहवा — गत वैशाख १४ गते रूपन्देहीको सैनामैना–५ का ८२ वर्षीय शेरबहादुर गाहाले आत्महत्या गरे । त्यही दिन सियारी गाउँपालिका–३ की १५ वर्षीया सफिना खातुनले पनि आत्महत्या गरिन् । बुटवल उपमहानगरपालिका–११ का ५० वर्षीय मणिलाल बस्याल र शुद्धोधन गाउँपालिका–५ का २८ वर्षीय भीम गुरुङले पनि सोही दिन आत्महत्या गरेका थिए । 

आत्महत्याका घटना बढ्दो

‘रूपन्देहीमा आत्महत्याको अवस्था निकै भयावह छ,’ जिल्लाका प्रहरी प्रमुख एसपी डा.मनोज केसीले भने, ‘प्रत्येक दिन प्रहरीको तल्लो युनिटबाट आउने फोनमा आत्महत्याको खबर छुट्दैन ।’ रूपन्देहीमा बढ्दो आत्महत्या नियन्त्रण तथा रोकथामका लागि प्रहरीले आइतबारदेखि आत्महत्या न्यूनीकरण कार्ययोजना सञ्चालन गर्न थालेको छ । आत्महत्याको मुख्य कारणमध्ये घरेलु हिंसा पनि देखिएकाले यो कार्ययोजनामा घरेलु हिंसा रोकथामलाई पनि समेटिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी डा. केसीले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका इन्चार्जलाई यसबारेमा प्रशिक्षण दिइनेछ । इलाका प्रहरी कार्यालयअन्तर्गतका सम्बन्धित वडाहरूमा आत्महत्या तथा घरेलु हिंसा जोखिम मापन प्रारम्भ गरी मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राखी कार्ययोजना बनाइने एसपी केसीले बताए । कार्ययोजनाअन्तर्गत किटनाशक विष बिक्री अभिलेख, आत्महत्या न्यूनीकरण पालिका समूह गठन, आत्महत्या जोखिम मापनको आधारमा रातो, पहेंलो र हरियो वृत्त (सर्कल) निर्माण गरी जोखिम समूह लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रहरी तथ्यांकका अनुसार लुम्बिनी प्रदेश आत्महत्या बढी हुने मुलुककै दोस्रो प्रदेशमा पर्छ भने रूपन्देही आत्महत्या बढी हुने मुलुकको तेस्रो जिल्लामा पर्छ । रूपन्देहीमा २०७३/७४ मा १ सय ८१ जनाले आत्महत्या गरेकामा २०७६/७७ मा ३ सय ६५ जना र गत आव २०७७/७८ मा २ सय ४ जनाले आत्महत्या गरेका छन् । पाँच आर्थिक वर्षमा रूपन्देहीमा आत्महत्या गर्नेको संख्या १ हजार ७२ छ । एक अध्ययनअनुसार यीमध्ये ३१ प्रतिशत विषादी सेवन र ६६.७ प्रतिशतले झुन्डिएर आत्महत्या गरेको देखिन्छ ।

त्यसैगरी विवाहित ६६.३ प्रतिशत र मधेसी समुदायका ६३.४ प्रतिशतले आत्महत्या गरेको देखिन्छ । आत्महत्या गर्नेमा निरक्षर ३.१ प्र्र्रतिशत छन् भने साक्षर (लेखपढ गर्न जानेका) ८१.४ प्रतिशत छन् । प्रवेशिका र प्रवीणता तहका २.१ प्रतिशत र स्नातकभन्दा माथिका अति न्यून छन् । पेसाका आधारमा हेर्दा बेरोजगार २१.३ प्रतिशत, दैनिक ज्यालादारी गर्ने १६.८, कृषितर्फ २९.४, गृहिणी १६.६, विद्यार्थी १४.१ प्रतिशत छन् । आत्महत्याका कारणमा मानसिक समस्या ३०.३ प्रतिशत, घरेलु हिंसा २०.७, प्रेम सम्बन्ध ३.५, दुर्व्यसनी २.७, दीर्घरोगी २.८, व्यापार असफलता १.५ प्रतिशत छन् भने कारण नखुलेका ३७ प्रतिशत छन् । सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेर समूहका ३५.५ प्रतिशत, २५ देखि ४० वर्ष उमेर समूहका २७.१ र ४० देखि ६५ वर्ष उमेर समूहका २४.९ प्रतिशतले आत्महत्या गरेको देखिएको छ ।

देवदह मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ मनोज ढुंगानाले किटनाशक विषको बिक्री र मदिरा सेवन नियमन र रोकथाम गरेमा पनि आत्महत्याको दर घट्ने बताए । युनिभर्सल शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ सञ्जीव सुवेदीले आत्महत्या गर्ने मनस्थितिमा पुगेका व्यक्तिलाई एक/दुई मिनेट मात्रै रोकिने वातावरण बनाउने हो भने मनस्थितिमा परिवर्तन आउने भएकाले हटलाइन टेलिफोनको व्यवस्था गर्न जरुरी भएको जनाए । कृषि प्रयोजनका लागि प्रयोग गरिने विष आधा प्रयोग गरेर बचेको घरमा राखिने र घरायसी सामान्य विवाद भएका बेलामा आवेशमा आएर सेवन गर्ने गरेको पाइएकाले घरमा राख्न नपाइने व्यवस्था लागू गर्न उनले जोड दिए ।

आत्महत्या न्यूनीकरण योजनाअन्तर्गत हरेक पालिकामा इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय प्रमुख संयोजक र पालिकाका उपप्रमुख सल्लाहकार रहेको समितिको गठन गरिएको छ । समितिमा पालिकाका वडाध्यक्ष, पालिकाका महिला विकास अधिकारी र मनोपरामर्शदाता सदस्य रहेका छन् । समितिले वडावडामा दुर्व्यसनी, घरेलु झैंझगडा हुने परिवार, दीर्घरोगी, ऋणबाट पीडित व्यवसायी, आत्महत्या प्रयास गरेका व्यक्तिलगायत जोखिम समूहको विवरण लिएर जोखिमका आधारमा रातो, पहेंलो र हरियो सर्कल बनाएर आत्महत्या न्यूनीकरणका विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?