महामारीले थलियो पर्यटन क्षेत्र- लुम्बिनी - कान्तिपुर समाचार

महामारीले थलियो पर्यटन क्षेत्र

बैंकको ब्याज छुट र कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिन माग
सन्जु पौडेल

लुम्बिनी — लुम्बिनी र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर आसपास फस्टाएको पर्यटन व्यवसाय थलिएको छ । कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा रूपन्देही संक्रमणको केन्द्र बनेपछि लगानी डुब्न थालेको हो ।

महामारीका कारण सुनसान रहेको पर्यटकीय क्षेत्र लुम्बिनी ।

लामो अवधिको निषेधाज्ञाका कारण सेवामूलक व्यवसाय ठप्प भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसाय धराशयी बनेको लगानीकर्ताले गुनासो गरे ।

संक्रमण दर कम भएपछि सरकारले बन्दाबन्दी खुकुलो बनाएको छ । अहिले अन्य व्यवसाय सञ्चालन गरिए पनि पर्यटन क्षेत्र बन्द छ । कोरोना कालका दुई वर्ष सर्वाधिक खराब गएको व्यवसायीले बताए । सरकारले अझै पनि खोपको व्यवस्था पर्याप्त गर्न नसक्दा र पर्यटक एक ठाउँदेखि अर्को ठाउँमा यात्रा नगर्दा लगानी डुब्ने र सडकमै आइपुग्ने स्थिति हुन लागेको उनीहरूको भनाइ छ ।

वर्षौंदेखि बुटवलको बसपार्क छेउमा ८ करोड लगानीको पार्क प्लाजा नामक होटल सञ्चालन गरेका व्यवसायी माधवकुमार खनाललाई अहिले खोलेको नयाँ होटलको लगानी खेर गएकामा चिन्ता लागेको छ । गत वर्ष चैतमा १० करोड लगानीमा कालिकानगरमा होटल डालिया सञ्चालनमा ल्याएका उनले राज्यले देश विकासको आर्थिक मेरुदण्ड होटल व्यवसायको मर्का नबुझ्दा पलायन हुने स्थिति आएको दुखेसो पोखे । नयाँ होटल सुरु गरेको १० दिनदेखि नै महामारीको लहर सुरु भएपछि व्यवसाय बन्द गरी बस्न बाध्य भएको उनले बताए । ‘पाँच सयभन्दा बढी व्यक्ति अट्ने होटल खाली राख्दा पुरानै जस्तो देखिन थाल्यो,’ उनले भने, ‘किस्ता र ब्याज मात्रै ८ लाख बढी तिर्नुपर्ने तनाव छ ।’

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका महासचिवसमेत रहेका खनालले निषेधाज्ञा खुले पनि होटलका लागि बन्द नै रहेको र सञ्चालन गर भनिहाले पनि व्यवसाय सञ्चालनको स्थिति नभएको भन्दै एउटा सरकारले व्यवसायीलाई सम्बोधन गर्ने विषय कुरामा मात्र सीमित राखेर बिदा भएको जनाए । उनले व्यवसायीलाई झुक्याउन डिमान्ड शुल्क छुट, बैंक ब्याज छुट भन्ने भाषण गर्ने सरकारले बैंकले गर्ने ताकेतामा सहयोगी बन्न सक्नुपर्ने बताए ।

संघमा अहिले १ हजार २ सय व्यवसायी आबद्ध छन् । साना–ठूला गरी ५० लाख रुपैयाँदेखि ६० करोडसम्म लगानी गरेका व्यवसायी मानसिक तनावमा रहेको र यो समस्याबारे राज्य उदासीन रहेको उनले बताए । व्यवसाय सञ्चालनमा आइहाले पनि दक्ष मजदुरको अभाव बेहोर्नुपर्ने उनको भनाइ छ । ‘दुई वर्षसम्म तलब दिएर राख्न सकिएन,’ उनले भने, ‘अब कसरी कामदार ल्याउने, त्यो झन् ठूलो समस्या छ ।’ सरकार, मजदुर र बैंक सबैतिरबाट व्यवसायीलाई अप्ठ्यारो मात्रै परिरहेको उनले बताए ।

लगातारको बन्दाबन्दीले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेतर्फ कसैले ध्यान नदिएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए । उनले अन्तर्राष्ट्रिय पर्यटक आउने कल्पना नगरिको भए पनि भारतीयलाई समेत खोप र पीसीआर रिपोर्ट हेरेर आउन नदिँदा झनै समस्या थपिएको बताए । ‘साउन महिनामा भारतीय तीर्थयात्री नेपाल आउन चाहन्छन्,’ उनले भने, ‘हामीलाई खोप लगाइदिएर उनीहरूलाई मेडिकल रिपोर्ट हेरी आउन नदिए २०२२ सम्म व्यवसाय पूरै धराशायी हुने निश्चित छ ।’

बजिमयले खोपको प्राथमिकतामा आन्तरिक र बाह्य उडानका कर्मचारी परे पनि पर्यटन व्यवसायका अन्य मानिसलाई सरकारले नपारेको गुनासो गर्दै टिकट काउन्टर ठप्प पारेर थन्केको व्यवसाय चलाउन पाए २०२२ सम्म भाडा र कर्मचारीलाई तलब दिने गरी माथि उक्लन सकिने बताए । भन्सार लक्ष्य पूरा गरेको सरकारले पारिदेखि आउने गाडी र त्यसका चालक, सहचालकलाई कुनै जाँच नगर्ने तर खोपकै कार्ड बोकी आउन चाहने भारतीय पर्यटकलाई प्रवेश नदिनु आफूहरूको पेटमा लात हानेसरह भएको उनले गुनासो गरे ।

२० वर्षदेखि लुम्बिनीको बसपार्क छेउमा हेन्डिक्राफ्ट व्यवसाय सञ्चालन गरिरहेकी रीना सिंहले पसलको भाडा र बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आएपछि तनाव भएको बताइन् । उनले लुम्बिनीमा रहेका ४० बढी माला तथा हेन्डिक्राफ्टका पसल व्यवसायी बेरोजगार भई बिक्री गर्न राखेका सामान सफाइ गर्ने र बस्ने गरेको बताइन् । लुम्बिनी केन्द्रित होटल व्यवसायको हालत पनि त्यस्तै रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । उनले अहिलेसम्म त्यहाँका होटल व्यवसायीले २० अर्बभन्दा बढीको नोक्सान बेहोरेको जनाए । बैंकको ब्याजमा समेत छुट नपाउँदा थप मारमा परेको उनले बताए । उनले खोप नलगाई व्यवसाय सञ्चालन गर्ने स्थिति नै नरहेको जनाए ।

प्रकाशित : श्रावण १७, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

सुनिता कलवार, कक्षा १२

गाउँपालिका उपाध्यक्ष भएपछि पढाइलाई निरन्तरता, स्नातकोत्तरसम्म पढ्ने धोको
सन्जु पौडेल

लुम्बिनी — सबेरै उठेर घरधन्दा सक्नुपर्छ । घरमा बुहारी, श्रीमती र आमा । रूपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाकी ३१ वर्षीया सुनिता कलवारको अर्को महत्त्वपूर्ण जिम्मेवारी जनप्रतिनिधि हुनुको पनि छ ।

गाउँपालिकाकी उपाध्यक्ष हुन् । घरधन्दा सकेपछि गाउँपालिका कार्यालयतर्फ लाग्छिन् । दिनभरि कार्यालयमा बस्दा निधारसम्म साडीको घुम्टो हुन्छ । कहिलेकाहीँ बहस गर्ने क्रममा घुम्टो खस्यो भने तुरुन्तै साडीको सप्को टाउकोमाथि हाल्छिन् । घर, गाउँपालिकाका कामपछि पनि उनले आफूलाई निखार्न गर्दै रहेको अर्को प्रयत्न हो अध्ययन । उनी १२ कक्षाको परीक्षा दिने तयारीमा छिन् ।


यतिबेला परीक्षा नजिक छ । तयारीले भ्याइनभ्याइ छ । घरधन्दा, गाउँपालिका गर्दागर्दै समय बचाएर परीक्षा दिने तयारी गरिरहेकी छन् । उनी जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन् । चार वर्षभन्दा लामो समय गाउँपालिकामा बिताउने क्रममा उनीसँग कतिपय मानिस सन्तुष्ट भए । कतिका गुनासा छन् । तैपनि उनको अग्रसरताको तारिफ गर्ने कम छैनन् । ८ कक्षा उत्तीर्ण भएपछि विवाह गरेर कपिलवस्तुबाट उनी मर्चवारीस्थित आएकी हुन् । श्रीमान्सित सल्लाह गरेर ९ कक्षामा भर्ना भइन् । पढ्दै घरको काम गरिरहिन् । त्यसबीचमा तीन/तीन वर्षको अन्तरमा चार सन्तानकी आमा बनिन् । ‘सानै थिएँ, परिवार नियोजनको साधन प्रयोगबारे ज्ञान थिएन । सन्तान यति भए पुग्छ भन्ने चेतना त्यतिबेला आएन,’ उनले भनिन्, ‘वंश धान्ने छोरा चाहिन्छ भन्ने पारिवारिक सोचमा परेर थप दुई छोरा जन्माएँ ।’

अहिले उनका तीन सन्तान हुर्किसकेका छन् । सानो छोरा पाँच वर्षको भयो । एसएलसीसम्म पढ्न उनलाई सहजै थियो । घरको काम गरेर विद्यालय आउजाउ गर्थिन् । सन्तान थपिए, जिम्मेवारी बढ्यो । घरका सबै काम गर्ने र परिवार रिझाउनेमा रुमलिएकी सुनितालाई श्रीमान्ले जनप्रतिनिधि बन्न बाटो देखाए । आफू पार्टीमा क्रियाशील रहेका शिवशंकरले चुनावमा आफू उपाध्यक्षमा उठ्न चाहेका थिए । तर, उक्त पदमा महिलाले टिकट पाउने भएपछि अवसर सुनिताको पोल्टामा आयो । उनले चुनाव लडिन् र जितिन् पनि ।

त्यसपछि सुरु भयो घर बाहिरी संसारको यात्रा । ‘घुम्टोभित्रको अनुहार देखाई बाहिरका मानिससँग कसरी बोल्ने होला भन्ने लाग्थ्यो,’ सुनिता सम्झन्छिन्, ‘अवसर पाएको बेला गरिहाल्छु भन्ने चाहनाले सहजै पाइला चाल्न सफल भएँ ।’ सुनितालाई जे काम गर्न पनि वा सफलताका लागि शिक्षा अनिवार्य चाहिन्छ भन्ने भान भइरह्यो । उनले नजिकैको जनता माविमा ११ कक्षामा शिक्षा संकायमा पढ्ने निधो गरिन् र भर्ना भइन् । जनप्रतिनिधिको जिम्मेवारी, आमाको कर्तव्य र अन्य दायित्वले पढाइका लागि समय निकाल्न र ध्यान दिन सहज थिएन । मौका पाउँदा कलेज जाने, पढ्ने गरेकी छन् । गाउँपालिका उपाध्यक्षलाई पढाउन पाउँदा शिक्षक मात्र होइन साथीभाइले पनि प्रशंसा गर्छन् ।

सुनिताले कक्षामा पढेका विषय घर आएर फुर्सदिलो भएर हेर्न समय पर्याप्त हुँदैन । तैपनि परीक्षाका बेला भने ध्यान लगाएर पढ्ने गरेको उनले सुनाइन् । बिहान १० बजेदेखि पालिकामा दिनभर नागरिकका समस्या समाधान, न्यायिक समितिमार्फत विवाद सुल्झाउने र निम्तो आएका कार्यक्रममा सहभागी हुने व्यस्तता रहन्छ । आफूले शिक्षा लिएकै कारण स्थानअनुसार बोल्नुपर्ने कुरामा भाषा खेलाउन सक्ने र अपडेट हुन सकिरहेको उनले बताइन् । ‘पढेपछि नेपाली बोल्न झनै सहज भएको छ,’ उनले थपिन्, ‘डिग्रीसम्म पढ्ने धोको छ ।’

सुनितालाई श्रीमान्ले कार्यालय–घर ल्याउने पुर्‍याउने गर्छन् । आफूले गर्नुपर्ने कामबारे सामाजिक अभियन्ता र श्रीमान्सँग सल्लाह लिने, चित्त नबुझेका कुरामा अध्यक्षलगायत पदाधिकारीसँग छलफल गर्ने, आफ्ना भनाइ उपयोगी हुन् भन्ने भान गराउनसमेत सुनिता हरदम पहल गरिरहन्छिन् । महिला भएकै कारण आफ्नो सहभागिता हुनुपर्ने कतिपय छलफल र काममा बाइपास गर्ने प्रयास हुने गरेको भए पनि आफूले त्यसमा डटेर सामना गर्ने क्षमता विकास गरेको उनले बताइन् । उनी साउन ३१ बाट हुने कक्षा १२ को परीक्षामा सहभागी हुन तयारी गरिरहेकी छन् ।

प्रकाशित : श्रावण १७, २०७८ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×