नाम मात्रको निषेधाज्ञा- लुम्बिनी - कान्तिपुर समाचार

नाम मात्रको निषेधाज्ञा

कान्तिपुर संवाददाता

नेपालगन्ज — बजारभरि चहलपहल बाक्लो छ । चोक–चोकमा भीडभाड उस्तै छ । मास्क लगाउन छाडिएको छ । भौतिक दूरी कतै देखिँदैन । प्रहरीको निगरानी पनि कतै भेटिँदैन । बाँकेमा लगाइएको निषेधाज्ञाको पूर्ण पालना नहुँदा कोरोना संक्रमण वृद्धि हुने चिन्ता बढेको छ । 

बाँकेमा शुक्रबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले तुलनात्मक रूपमा संक्रमितको संख्या धेरै देखिएको भेरी अस्पतालका फिजिसियन एवं कोरोना फोकल पर्सन डा. संकेत रिसालले बताए । ‘निषेधाज्ञा अहिले पनि जारी छ तर कार्यान्वयन फितलो छ,’ उनले भने ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा फिजिसियन डा. राजन पाण्डेले बाँकेमा संक्रमण कम भए पनि नियन्त्रणमा नआएको बताए । ‘हालको अवस्था हेर्दा स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिरहेका छौं,’ उनले भने, ‘फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा छ ।’ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबारदेखि थप एक साता स्मार्ट लकडाउनलाई निरन्तरता दिइएको बताए ।

स्थानीय प्रशासनले अहिलेसम्म निश्चित मिति तोकेर निषेधाज्ञा लम्ब्याउँदै आएको थियो । यसपालि भने मिति तोकिएको छैन । नेपालगन्जमा वैशाख ९ गतेदेखि र जिल्लाभरि वैशाख १३ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ । संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरेको छ । तर यस क्षेत्रकै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्ज भने तेस्रो भेरिएन्ट आउन सक्ने भन्दै तयारीमा जुटेको छ ।

‘सरकारले नै सम्भावित तेस्रो लहरको पूर्वतयारीका लागि आवश्यक निर्देशन दिएकाले सोहीअनुसार काम भइरहेको छ,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘कम्तीमा २० बेडको बालकेन्द्रित आईसीयू निर्माण कार्य अन्तिममा पुगेको छ ।’ सँगसँगै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणका लागि पनि अस्पतालले पहल गरिरहेको जनाएको छ ।

‘आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ भेरी अस्पतालका प्रमुख डा. थापाले भने, ‘कोरोना संक्रमण न्यूनीकरण भएको हो, नियन्त्रण होइन ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने डा. थापाको भनाइ छ ।

प्रकाशित : श्रावण १७, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

महामारीले थलियो पर्यटन क्षेत्र

बैंकको ब्याज छुट र कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिन माग
सन्जु पौडेल

लुम्बिनी — लुम्बिनी र भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर आसपास फस्टाएको पर्यटन व्यवसाय थलिएको छ । कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा रूपन्देही संक्रमणको केन्द्र बनेपछि लगानी डुब्न थालेको हो ।

महामारीका कारण सुनसान रहेको पर्यटकीय क्षेत्र लुम्बिनी ।

लामो अवधिको निषेधाज्ञाका कारण सेवामूलक व्यवसाय ठप्प भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसाय धराशयी बनेको लगानीकर्ताले गुनासो गरे ।

संक्रमण दर कम भएपछि सरकारले बन्दाबन्दी खुकुलो बनाएको छ । अहिले अन्य व्यवसाय सञ्चालन गरिए पनि पर्यटन क्षेत्र बन्द छ । कोरोना कालका दुई वर्ष सर्वाधिक खराब गएको व्यवसायीले बताए । सरकारले अझै पनि खोपको व्यवस्था पर्याप्त गर्न नसक्दा र पर्यटक एक ठाउँदेखि अर्को ठाउँमा यात्रा नगर्दा लगानी डुब्ने र सडकमै आइपुग्ने स्थिति हुन लागेको उनीहरूको भनाइ छ ।

वर्षौंदेखि बुटवलको बसपार्क छेउमा ८ करोड लगानीको पार्क प्लाजा नामक होटल सञ्चालन गरेका व्यवसायी माधवकुमार खनाललाई अहिले खोलेको नयाँ होटलको लगानी खेर गएकामा चिन्ता लागेको छ । गत वर्ष चैतमा १० करोड लगानीमा कालिकानगरमा होटल डालिया सञ्चालनमा ल्याएका उनले राज्यले देश विकासको आर्थिक मेरुदण्ड होटल व्यवसायको मर्का नबुझ्दा पलायन हुने स्थिति आएको दुखेसो पोखे । नयाँ होटल सुरु गरेको १० दिनदेखि नै महामारीको लहर सुरु भएपछि व्यवसाय बन्द गरी बस्न बाध्य भएको उनले बताए । ‘पाँच सयभन्दा बढी व्यक्ति अट्ने होटल खाली राख्दा पुरानै जस्तो देखिन थाल्यो,’ उनले भने, ‘किस्ता र ब्याज मात्रै ८ लाख बढी तिर्नुपर्ने तनाव छ ।’

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका महासचिवसमेत रहेका खनालले निषेधाज्ञा खुले पनि होटलका लागि बन्द नै रहेको र सञ्चालन गर भनिहाले पनि व्यवसाय सञ्चालनको स्थिति नभएको भन्दै एउटा सरकारले व्यवसायीलाई सम्बोधन गर्ने विषय कुरामा मात्र सीमित राखेर बिदा भएको जनाए । उनले व्यवसायीलाई झुक्याउन डिमान्ड शुल्क छुट, बैंक ब्याज छुट भन्ने भाषण गर्ने सरकारले बैंकले गर्ने ताकेतामा सहयोगी बन्न सक्नुपर्ने बताए ।

संघमा अहिले १ हजार २ सय व्यवसायी आबद्ध छन् । साना–ठूला गरी ५० लाख रुपैयाँदेखि ६० करोडसम्म लगानी गरेका व्यवसायी मानसिक तनावमा रहेको र यो समस्याबारे राज्य उदासीन रहेको उनले बताए । व्यवसाय सञ्चालनमा आइहाले पनि दक्ष मजदुरको अभाव बेहोर्नुपर्ने उनको भनाइ छ । ‘दुई वर्षसम्म तलब दिएर राख्न सकिएन,’ उनले भने, ‘अब कसरी कामदार ल्याउने, त्यो झन् ठूलो समस्या छ ।’ सरकार, मजदुर र बैंक सबैतिरबाट व्यवसायीलाई अप्ठ्यारो मात्रै परिरहेको उनले बताए ।

लगातारको बन्दाबन्दीले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेतर्फ कसैले ध्यान नदिएको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले बताए । उनले अन्तर्राष्ट्रिय पर्यटक आउने कल्पना नगरिको भए पनि भारतीयलाई समेत खोप र पीसीआर रिपोर्ट हेरेर आउन नदिँदा झनै समस्या थपिएको बताए । ‘साउन महिनामा भारतीय तीर्थयात्री नेपाल आउन चाहन्छन्,’ उनले भने, ‘हामीलाई खोप लगाइदिएर उनीहरूलाई मेडिकल रिपोर्ट हेरी आउन नदिए २०२२ सम्म व्यवसाय पूरै धराशायी हुने निश्चित छ ।’

बजिमयले खोपको प्राथमिकतामा आन्तरिक र बाह्य उडानका कर्मचारी परे पनि पर्यटन व्यवसायका अन्य मानिसलाई सरकारले नपारेको गुनासो गर्दै टिकट काउन्टर ठप्प पारेर थन्केको व्यवसाय चलाउन पाए २०२२ सम्म भाडा र कर्मचारीलाई तलब दिने गरी माथि उक्लन सकिने बताए । भन्सार लक्ष्य पूरा गरेको सरकारले पारिदेखि आउने गाडी र त्यसका चालक, सहचालकलाई कुनै जाँच नगर्ने तर खोपकै कार्ड बोकी आउन चाहने भारतीय पर्यटकलाई प्रवेश नदिनु आफूहरूको पेटमा लात हानेसरह भएको उनले गुनासो गरे ।

२० वर्षदेखि लुम्बिनीको बसपार्क छेउमा हेन्डिक्राफ्ट व्यवसाय सञ्चालन गरिरहेकी रीना सिंहले पसलको भाडा र बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आएपछि तनाव भएको बताइन् । उनले लुम्बिनीमा रहेका ४० बढी माला तथा हेन्डिक्राफ्टका पसल व्यवसायी बेरोजगार भई बिक्री गर्न राखेका सामान सफाइ गर्ने र बस्ने गरेको बताइन् । लुम्बिनी केन्द्रित होटल व्यवसायको हालत पनि त्यस्तै रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । उनले अहिलेसम्म त्यहाँका होटल व्यवसायीले २० अर्बभन्दा बढीको नोक्सान बेहोरेको जनाए । बैंकको ब्याजमा समेत छुट नपाउँदा थप मारमा परेको उनले बताए । उनले खोप नलगाई व्यवसाय सञ्चालन गर्ने स्थिति नै नरहेको जनाए ।

प्रकाशित : श्रावण १७, २०७८ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×