लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबाहिर  - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशकी सांसद बिमला वली सम्पर्कबाहिर  

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) सम्पर्कबाहिर रहेको माओवादी केन्द्रले दाबी गरेको छ । वली बिहीबार साँझदेखि सम्पर्कमा नरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । ‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने एउटा मोबाइल अफ छ । एउटामा घण्टी जान्छ तर उठ्दैन,’ घर्तीमगरले भने । 

परिवारले उनी तुलसीपुरबाट आफन्तकहाँ नेपालगन्ज गएको बताएको छ । तर, उनको मोबाइलको लोकेसन भने रुपन्देहीको बुटवलस्थित नयागाउँ आसपासमा देखिएको सचेतक घर्तीले बताए ।

उनी दाङ ३ (ख) की सांसद हुन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् । यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उनलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ ।

माओवादी केन्द्रले शनिबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । वली उक्त बैठकमा नआए खोजबिनका लागि प्रहरीमा उजुरी गर्ने सचेतक घर्तीमगरले बताए ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने वलीका बारेमा कुनै जानकारी नभएको बताए । लुम्बिनीमा सत्तापक्ष सरकार जोगाउन र विपक्ष सत्ता गिराउन लागिरहँदा सांसद खरिदबिक्री, राजिनामा र ‘सम्पर्कविहीन’ हुनेक्रम बढेको छ । यसअघि जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्कविहीन भएकी थिइन् । पाटीमा उपेन्द्र यादवले आधिकारिकता पाएपछि भने उनी सम्पर्कमा आएकी छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १६, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज, सरकार अल्पमतमा

सत्तापक्षमा ३८ सदस्य, विपक्षी गठबन्धनमा सभामुखबाहेक ४१ जना, मुख्यमन्त्री पोखरेलको राजीनामा आइतबारसम्म पनि नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्ताव ल्याउने विपक्षीको तयारी
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् । सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पना अर्घाखाँचीबाट समानुपातिक सांसद थिए । उनीहरू पदमुक्त भएसँगै शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

विजयबहादुर यादव, कल्पना पाण्डे र सन्तोषकुमार पाण्डेय

पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई गत मंगलबार जसपाको केन्द्रीय कार्यकारिणी समितिले पार्टीबाट निष्कासन गरेको थियो । जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा निष्कासनसम्बन्धी पत्र दर्ता गरेको थियो । उनीहरू पदमुक्त भएको सूचना शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेका हुन् । पार्टी सदस्य नरहेको व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ (२) प्रदेशसभा नियमावली, २०७४ को नियम १९१ अनुसार पदमुक्त गरिएको सचिव पुनले बताए ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा एमालेका अमरबहादुर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थी पनि यसअघि नै पदमुक्त भइसकेका छन् । जसपाका ३ सदस्य पदमुक्त भएपछि प्रदेशसभा ८० सदस्यीय भएको छ । जसमा एमालेका ३८ जना छन् । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा भने ४१ सदस्य (सभामुखबाहेक) छन् ।

अध्यादेशमार्फत बजेट ल्याएर आयु लम्ब्याएको एमाले नेतृत्वको सरकार सहज रूपमा बाहिरिने मनस्थितिमा देखिँदैन । यसअघि जस्तै शुक्रबार पदमुक्त भएकालाई अदालतबाट पुनर्बहाली गराएर सरकार जोगाउने कसरतमा मुख्यमन्त्री पोखरेल लागिपरेका छन् । पदमुक्त दधिराम न्यौपाने र दिनेश पन्थीको पुनर्बहाली गराउने र जसपाका सांसद पुर्मती ढेंगा मगरलाई फ्लोर क्रस गराउने अन्तिम योजनासमेत सरकारको छ । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले विपक्षीले सडकमा बहुमत दाबी गरेकै भरमा सरकारबाट नबाहिरिने बताए । कानुनतः अझै पनि आफ्नो पक्षमा बहुमत रहेको उनको दाबी छ । ‘पदमुक्त सांसदहरूको निवेदनमा अदालतको राय के हुन्छ, त्यो हेरेर मात्रै सरकारको अल्पमत र बहुमत देखिनेछ,’ उनले भने ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल । फाइल तस्बिर : कान्तिपुर

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जसपाका ३ नेता पुनर्बहालीको माग गर्दै अदालत जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका बेला पार्टीबाट निष्कासन गर्नु र प्रदेशसभाले पदमुक्त गर्नु अदालतको अवहेलना भएको उनीहरूको भनाइ छ । पदमुक्त सांसद सन्तोषकुमार पाण्डेयले पुनर्बहालीसँगै सभामुख पूर्णबहादुर घर्ती र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिने बताए ।

‘जसपाले साधारण सदस्यसमेत नरहने गरी एक पटक कारबाही गरिसकेको छ । त्यसकै आधारमा प्रदेशसभाबाट पदमुक्त गरिएको छ । तर हामीलाई अदालतले अहिले जसपा सदस्यका रूपमा होइन, प्रदेशसभा सदस्यका रूपमा पुनर्बहाली गरेको हो,’ उनले भने ।

एमाले प्रवेश गरेपछि प्रदेशसभा सदस्य पद गुमाएका दुई नेता पनि अदालत पुगेका छन् । माओवादी केन्द्रबाट चुनाव जितेका दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । साउन ७ गते निवेदन दिएका उनीहरूको मुद्दामा आइतबार सुनुवाइ हुँदै छ । आइतबार नै अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरूका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले बताए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेकाले एमाले प्रवेश गरेको भनेर आफूहरूलाई हटाइनु विधि र विधानविपरीत रहेको उनीहरूको दाबी छ । न्यौपाने रूपन्देही र पन्थी गुल्मीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

विपक्षी गठबन्धनले बहुमत दाबी गर्ने

विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर शनिबार आफ्नो बहुमत दाबी गर्ने भएको छ । त्यसका लागि सभामुख पूर्णबहादुर घर्तीसहितका ४२ सदस्य प्रदेश प्रमुखकहाँ जाने कार्यक्रम तय भएको छ । भौतिक उपस्थितिमार्फत प्रदेश प्रमुखलाई वर्तमान सरकार अल्पमतमा रहेको र विपक्षी गठबन्धनमा बहुमत रहेको जानकारी दिने तयारी रहेको कांग्रेसका मुख्य सचेतक फकरुद्दिन खानले बताए । ‘अल्पमतमा परेको जानकारीपछि मुख्यमन्त्रीले आफैं राजीनामा दिएर बाटो खुला गर्नुहोला भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले सुरुमा प्रदेश प्रमुखलाई मौखिक जानकारी मात्र दिन लागेका हौं ।’

आइतबारसम्म पनि राजीनामा नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्तावमार्फत सरकारलाई किनारा लगाउने विपक्षी गठबन्धनको तयारी छ ।

यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा शुक्रबार दिउँसो उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले प्रदेशलाई संवैधानिक तरिकाले अगाडि बढाउने बताए ।

प्रकाशित : श्रावण १६, २०७८ ०६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×