कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान छोडेर तरकारी खेती

धान र गहुँको उत्पादन बर्सेनि घट्दो
छोटो समयमा धेरै फाइदा लिन सक्ने भएकाले तरकारी खेतीतर्फ आकर्षित
रूपा गहतराज

नेपालगन्ज — एक दशकअघिसम्म बाँकेको राप्तीसोनारीकी ४७ वर्षीया मायावती तिवारीको घरमा धानको भकारी भरिभराउ हुन्थ्यो । त्यही धानबाट परिवारको गुजारा चल्थ्यो । खाएर बाँकी भएको धान बिक्री गर्थे । अहिले भकारीभरि धान सम्झनामै सीमित बनेको छ ।

धान छोडेर तरकारी खेती

केही वर्षअघिसम्म मुरीका मुरी धान फल्थ्यो । स्याहार्न दर्जनौं खेताला लगाउनुपर्थ्यो । पछिल्ला केही वर्ष दुःख गरे पनि प्रतिफल प्राप्त भएन । गहुँ खेती गरे । त्यो पनि सोचेजस्तो फलेन । ‘पहिले तीन/चार क्विन्टल गहुँ उत्पादन हुन्थ्यो,’ उनले भनिन्, ‘पछिपछि त एक क्विन्टल पनि फलेन ।’

यहाँका स्थानीयले प्रत्येक वर्ष बाढीको समस्या झेल्दै आएका छन् । तिवारीले पनि बाढीले बगाएर बचेको तीन कट्ठा जमिनमा करेला, बोडी, फर्सीजस्ता मौसमी तरकारी लगाएकी छन् । छोटो समयमा धेरै फाइदा लिन सक्ने भएकाले तरकारी खेती फापेको उनले बताइन् । यहाँका धेरै किसान धान, गहुँ, दलहन आदिको खेती छाडेर अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन् । उनीहरूको सबैभन्दा ठूलो समस्या चाहिने बेला समयमा पानी नपर्ने र सिँचाइको अभाव हो । पहिला हरेक वर्ष तिहारअघि धान काटिने कृषिविज्ञ विकास पौडेलले बताए । ‘अहिले मनसुन छोटो हुँदै छ । रोपाइँ चाँडो हुने भएकाले छिट्टै धान काटिन्छ,’ उनले भने । मनसुन ढिलो गरी सुरु हुने तर छोटो समय हुने भएकाले पनि धानको उत्पादन घटेको जलवायु परिवर्तनसम्बन्धी विषयमा काम गरिरहेका विशेषज्ञ रामविलास यादवले बताए ।

राप्ती सोनारी गाउँपालिका–६, सिधनवाकी ३६ वर्षीया आकृति थारूको परिवारले एक बिघा जमिनमा तरकारी खेती गरेका छन् । अहिले उनको खेतमा फर्सी, करेला, लौका, भिन्डी, काँक्रा फलेका छन् । ६ वटा टनेलमा गोलभेंडा लगाएका छन् । उनीहरूले तरकारी खेती गरेको चार वर्ष भयो । यसरी खेतबारीमा लगाएका तरकारी किन्न व्यापारी घरसम्मै पुग्छन् । थोरै भएको समयमा उनीहरू गाउँगाउँ डुलाएर बिक्री गर्छन् ।

‘मौसमी खेती गर्छौं । १० कट्ठा आफ्नै हो । अरू लिजमा लिएका हौं,’ आकृतिले भनिन्, ‘मिहिनेत कमै लाग्छ । धान, गहुँभन्दा तरकारीमा पानी पनि कमै चाहिन्छ । सुख्खा भएर तीन दिनको फरकमा पानी चहार्नुपर्छ ।’ सोही गाउँकी माया खड्काले चार महिनादेखि तरकारी खेती सुरु गरिन् । २ कट्ठा खेतमा प्याज, फर्सी र लौका लगाइन् । ‘तोरी बोटमै बिग्रियो । धान खेती पनि बिग्रियो । त्यसैले माघदेखि बेमौसमी तरकारी खेती सुरु गरेका छौं,’ उनले भनिन्, ‘गाउँमा तरकारी खेती नगर्ने कोही छैनन् ।’ कृषि फर्म दर्ता गरेर सामूहिक तरकारी खेती गर्ने योजना बनाएको उनले बताइन् ।

किसानलाई जलवायु परिवर्तनको प्रभावले पारेको जोखिम कम गर्न माटो अनुकूलनका लागि तरकारी खेतीप्रति उत्प्रेरित गर्न बिग्रुप नामक स्थानीय गैरसरकारी संस्थाले सघाएको छ । संस्थाले जलवायु परिवर्तनको असर कम गर्ने अनुकूलनका लगाइने बीउका लागि सहयोग मात्र होइन, सिँचाइका लागि मोटरसमेत प्रदान गरिरहेको छ । ‘जलवायु परिवर्तनलाई रोक्न त सकिँदैन । जलवायु परिवर्तनको असर कम गर्न अनुकूलनका तरकारी खेतीका लागि समूहलाई सघाएका हौं,’ बिग्रुपका रामनिवास यादवले भने, ‘गाउँमा तरकारी संकलन केन्द्र बनाएर हाट बजार नै बनाउने योजना छ ।’

अन्न उत्पादन घट्दै

कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सकिल अहमदका अनुसार जिल्लामा धान उत्पादन घटिरहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३६ हजार ५ सय हेक्टरमा १ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष २०७६/७७ मा १ लाख २४ हजार १ सय मेट्रिक टनमात्रै धान उत्पादन भयो । यो तथ्यांकबाट १५ प्रतिशतले धान खेती घटेको देखिन्छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १९ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाएकामा ९७ हजार ४ सय ८० मेट्रिक टन उत्पादन भएको थियो । २०७६/७७ मा २१ हजार ७६ हेक्टरमा गहुँ खेती लगाएकामा ५९ हजार १३ मेट्रिक टन उत्पादन भयो ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?