कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

८ सय ९० घरमा धारा

कान्तिपुर संवाददाता

पाल्पा — माथागढी गाउँपालिका–३, कसेनी सराई क्षेत्रका ८ सय ९० घरधुरीमा खानेपानीको धारा जडान भएको छ । यहाँको बजार बस्तीका प्रायः सबै घरधुरीमा ‘एक घर एक धारा’ पुर्‍याउने अभियानअन्तर्गत दुई खानेपानी योजना सञ्चालन गरिएको हो । 

८ सय ९० घरमा धारा

२०७४ सालदेखि सुरु भएका योजना सम्पन्न भएपछि सबै घरधुरीमा धारा पुगेको वडाध्यक्ष दीपक थापाले बताए । दुई खानेपानी योजना निर्माण गर्ने संस्थाले उपभोक्ता समितिलाई योजना हस्तान्तरणसमेत गरेको छ । यहाँ अगहनी र फूलबारी अगहनी खानेपानी योजना सञ्चालन भएका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्डबोर्ड) को आर्थिक सहयोग र सामाजिक स्रोत विकास केन्द्र (एसआरडीसीएन) नेपालको प्राविधिक सहयोगमा दुवै खानेपानी योजना सञ्चालन भएका हुन् ।

२०७५ सालमा निर्माण सम्पन्न भए पनि समुदायमा हस्तान्तरण भएको थिएन । फूलबारी अगहनी एक्लाबर योजना निर्माण समितिका अध्यक्ष टीकाराम रानाका अनुसार योजनाअन्तर्गत ५ सय २० घरधुरीमा खानेपानीका धारा जडान गर्न सफल भएको छ । अहिले सबैको घरघरमा पानी निरन्तर जाने गरेको छ । खानेपानीका सम्बन्धमा समस्या वा गुनासो भएमा सुनुवाइ समिति पनि गठन भएको छ । त्यस्ता गुनासालाई सम्बोधन गर्दै योजना अघि बढेको उनले बताए । ‘योजना सञ्चालनले हामी कसेनी सराईका बासिन्दालाई धेरै सुविधा भएको छ,’ उनले भने, ‘उपभोक्तामा समस्या आएमा तत्काल समाधान गर्दै आएका छौं ।’

यसअघि भने कसेनी क्षेत्रमा पानीको मूल लाखौंमा किनबेच हुने गर्थ्यो । पानीका लागि घण्टौं दुःख पाउने अवस्था रहेको फूलबारी अगहनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दानबहादुर चिदीले बताए । अहिले ती सबै समस्याबाट समाधान निस्केको उनले बताए । फूलबारी अगहनीअन्तर्गत ३ सय ७० घरधुरीलाई योजनाले समेटेको उनले बताए । ‘हामीले सबैका घरघरमा धारा व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘यसबाट सबैले फाइदा पाउन सकिएको छ ।’

फन्डबोर्डकी सामाजिक विज्ञ पार्वती रानाले २०७१ सालमा सम्झौता भए पनि योजना सुरु हुन केही ढिलाइ भएको बताइन् । उनका अनुसार २०७४ देखि २०७५ सम्म योजनाका काम सम्पन्न भएका हुन् । ‘योजना सफल भएपछि उपभोक्तालाई हस्तान्तरण गरिएको हो,’ उनले भनिन्, ‘यसबाट यहींका बासिन्दा लाभान्वित हुने हो ।’ अन्यत्रभन्दा फरक ढंगले र राम्रो काम भएको उनले बताइन् । मर्मतसम्भार कोष र उपभोक्ताको लगानीबाट पनि योजनाले निरन्तरता पाउने उनले बताइन् ।

प्रकाशित : श्रावण १२, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?