२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

कांग्रेस महाधिवेशन : नेता–कार्यकर्ता गुट बनाएरै घरदैलोमा

अर्घाखाँची — महाधिवेशन नजिकिँदै जाँदा अर्घाखाँची र गुल्मीमा कांग्रेसको सक्रियता बढ्दो छ । जिल्ला सभापतिसहित विभिन्न पदका आकांक्षीले गाउँबाट क्षेत्रीय प्रतिनिधि आफ्नो पक्षमा ल्याउन कसरत सुरु गरेका हुन् ।

कांग्रेस महाधिवेशन : नेता–कार्यकर्ता गुट बनाएरै घरदैलोमा

विगतका अधिवेशनमा जिल्लामा केन्द्रीय गुटको प्रभाव थिएन । यसपालि गाउँ तहसम्म पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा विभाजन भएरै गाउँबाट क्षेत्रीय प्रतिनिधि ल्याउन लबिङ चलेको छ ।

पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल केही दिनदेखि अर्घाखाँचीको शीतगंगा नगरपालिकाका गाउँमा कार्यकर्ताको घरदैलोमा पुगेका छन् । उनी जिल्ला सचिव छविलाल पौडेल, शीतगंगा नगर संयोजक मोती बेल्वासेलगायत नेतासहित गाउँ डुलेका छन् । नगरका १४ वटै वडामा कार्यकर्तासँग भेटघाट, महाधिवेशनका बारेमा छलफल भइरहेको बेल्वासेले बताए । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनालले महाधिवेशनका बारेमा गाउँतहसम्म पार्टी संगठन, नेतृत्व चयनका बारेमा छलफल चलेको बताए । अघिल्लो महाधिवेशनसम्म क्रियाशील सदस्यता संख्या ५ हजार रहेकामा अहिले बढाएर १२ हजार २ सय ७० पुर्‍याइएको छ । पार्टीको महाधिवेशन हुने भएपछि गाउँ, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वसहितका पदका लागि युवापुस्ता सक्रिय छ । सबैलाई मिलाएर लैजाने, संगठनलाई गतिशील बनाउने नेतृत्व छान्न नेता/कार्यकर्ताबीच छलफल चलिरहेको उनले बताए ।

जिल्ला सभापतिमा पौडेल समूहबाट वर्तमान सभापति विष्णुप्रसाद खनाल र महासमिति सदस्य केशव श्रेष्ठ आकांक्षी छन् । देउवा समूहबाट महासमिति सदस्य एवं शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे र बाबुराम पौडेल आकांक्षी छन् । पौडेल समूहको बाहुल्य रहेको अर्घाखाँचीमा देउवा समूहले पनि यसपालि आफ्नो उपस्थिति देखाउन खाजेको छ । घिमिरेलाई कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालको समर्थन छ । उनले आफूअनुकूलको सभापति बनाउन खोजेकी छन् । कार्यकर्तास्तरमा कमजोर रहेको देउवा समूहले पार्टीका विभिन्न पदमा व्यवस्थापन गर्ने आश्वासन दिँदै पौडेल समूहका नेता/कार्यकर्ता आफूतिर तानेर बलियो उपस्थिति देखाउने रणनीतिमा छ ।

रामचन्द्र पौडेलनिकट जिल्ला सभापति विष्णुप्रसाद खनालले लुम्बिनी प्रदेश महामन्त्री वा केन्द्रीय सदस्य पदमा आकांक्षा देखाएका छन् । अघिल्लो अधिवेशनमा उनी निर्विरोध जिल्ला सभापति भएका थिए । युवा वर्गमा प्रभावशाली श्रेष्ठलाई व्यवस्थापन गरेरै खनाललाई पुनः सभापति बनाउन दाउ पनि एकथरीको छ । जिल्ला तहको कार्यकर्तामा बलियो पकड जमाएको पौडेल समूहका नेता रेवतीप्रसाद भुसाल, पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, लेखनाथ पोखरेललगायत नेता आफ्नो समूहको वर्चस्व कायम राख्ने कसरतमा छन् । देउवा समूह भत्काउने रणनीतिमा छ । ०५१ सालको निर्वाचनसम्म कांग्रेसको एकछत्र रहेको अर्घाखाँचीमा पछिल्ला संसदीय निर्वाचनमा कांग्रेस पराजित भएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये चार पालिकामा कांग्रेस–माओवादी चुनावी गठबन्धन भएर तीन ठाउँमा जित्न सफल भएको थियो ।

संघीय निर्वाचनमा दुई क्षेत्र रहेको गुल्मी कांग्रेसले आफ्नो क्रियाशील सदस्यता १४ हजार पुर्‍याएको छ । जिल्ला सभापति भुवन श्रेष्ठले महाधिवेशनका लागि गाउँ तहसम्म नेता/कार्यकर्ता तयारी अवस्थामा रहेको बताए । पार्टी केन्द्रले महाधिवेशन केन्द्रित कार्यक्रमको कार्यतालिका पठाएपछि औपचारिक रूपमा गतिविधि अघि बढाउने उनले बताए ।

जिल्ला सभापति, क्षेत्र, पालिकासहित महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिका आकांक्षीले लबिङ थालिसकेका छन् । जिल्ला सभापतिमा पौडेल समूहबाट वर्तमान सभापति श्रेष्ठ, उपसभापति विष्णु बलाल र सचिवमा खिलध्वज पन्थी आकांक्षी देखिएका छन् । उनीहरू गाउँतहसम्म आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् । गुल्मीमा कमजोर रहेको देउवा समूह मिलेर नेतृत्वमा छिर्ने रणनीतिमा छ । देउवा समूहका छन्द पहराई र चन्द्र केसी प्रदेश वा केन्द्रमा जाने इच्छा देखाएपछि जिल्ला सभापतिमा कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाको नाम चर्चामा छ ।

संसदीय निर्वाचनमा पराजित भएकाले पनि आउँदो चुनावमा कांग्रेस उम्मेदवारलाई जिताउन सक्ने खालको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरिनुपर्ने सचिव खिलध्वज पन्थीले बताए ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?