६ वर्षदेखि बुबाबाट यौन हिंसा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वर्षदेखि बुबाबाट यौन हिंसा

किशोरी भन्छिन्– ‘९ वर्षको उमेरबाट बारम्बार जबर्जस्ती गरे । कुटाइ खानु दैनिकीजस्तै बनेको थियो ।’
रूपा गहतराज

नेपालगन्ज — शरीरभरि नीलडाम र घाउका खत छन् । उमेरअनुसार शरीरको बनोट मिल्दैन । बारम्बारको कुटाइले शरीर थिलथिलो बनेको छ । दुई सातायता भने उनले केही राहत महसुस गरेकी छन् । घाउमा खाटा बस्न थाले पनि मनमा शान्ति छैन । ‘मलाई यस्तो हालतमा पुर्‍याउने मेरै बुबा हुन्,’ उनले भनिन्, ‘६ वर्षपछि निर्मम कैदबाट मुक्त भएँ ।’ लामो समय बाबुबाट बलात्कृत उनले बल्ल अत्याचारबारे मुख खोलेकी हुन् । हाल उनी नेपालगन्जस्थित एक आवास गृहमा आश्रित छिन् ।

१५ वर्ष पुगेकी उनी साढे दुई वर्षकी हुँदा आमाले दोस्रो विवाह गरिन् । त्यतिखेर बाबु विदेशमा थिए । आमाले छाडेपछि उनी काकाको घर बस्न थालिन् । बाबु वैदेशिक रोजगारीबाट फर्किंदा उनी आठ वर्ष पुगिसकेकी थिइन् । बाबुले कान्छी आमा भित्र्याए । र, उनलाई पनि काकाको घरबाट ल्याएर साथै राख्न थाले । ‘सुरुमा बुबाले सुमसुम्याउँदा माया गरेको ठानें,’ उनले भनिन्, ‘९ वर्षको उमेरबाट मुसार्ने सिलसिला बढ्दै गयो । त्यसपछि बारम्बार जबर्जस्ती गरे ।’ उनका अनुसार कुटाइ खानु दैनिकी जस्तै बनेको थियो । कसैसँग पनि बोल्न, हाँस्न, खेल्न पाउँदैन थिइन् । ‘स्कुलबाट पाँच मिनेट ढिलो आउँदा बुबा स्कुल पुग्थे,’ उनले भनिन्, ‘मावल पनि जान पाउँथिनँ । घरमै नजरबन्दमा थिएँ ।’

यौन हिंसाविरुद्ध प्रतिकार गर्दा मार्ने धम्की पाउँथिन् । त्यसैले उनी यसबारे कसैलाई भन्न पनि सक्दैन थिइन् । ‘डर, धम्की र त्रासमै बाल्यकाल बित्यो,’ उनले भनिन्, ‘रुँदारुँदै आँखा कमजोर भएपछि देब्रे आँखाको अप्रेसन गर्नुपर्‍यो ।’ आँखाको अप्रेसनका लागि काठमाडौंमा गएका बेला होटलमा पनि बाबुले करणी गरेको उनको भनाइ छ । ‘अहिले त मेरा आँखाबाट आँसु पनि आउँदैन,’ उनले भनिन् ।

गत चैतमा पेट अस्वाभाविक रूपमा बढेपछि बुबाले नै अस्पताल पुर्‍याए । जँचाउँदा पाँच महिनाको गर्भ रहेछ । ‘अब यस्तो नदोहोर्‍याउने’ भन्दै जबर्जस्ती गर्भ तुहाउन दबाब दिए । आफैंले अस्पताल पुर्‍याए । एक दिन अस्पतालमा राखेर घर ल्याए । घर ल्याउँदा रगतको धारा बगिरहेको थियो । गर्भपतन गराएको एक महिनापछि बुबाले फेरि जबर्जस्ती करणी गरेपछि सहन नसकेर आफन्तलाई बताइन् । चर्चमा पुगेर पास्टरलाई सबै कुरा जानकारी गराइन् । आफन्तले उनको कुरै पत्याएनन् । ‘त्यसपछि भागेर काकाको घरमा बस्न थालेको थिएँ,’ उनले भनिन्, ‘बुबाले काकाको घरबाट कुट्दै फिर्ता ल्याए ।’ घरमा ल्याएपछि पनि पुरानै सिलसिला चल्यो । दुई साताअघि मात्रै उनकी ठूली आमाले सबै कुरा थाहा पाएपछि धनौली प्रहरी चौकीमा जाहेरी दिइन् । त्यसपछि घटना सार्वजनिक भएको हो ।

मर्नुभन्दा बौलाउनु ठीक भन्ठानेर घटना सार्वजनिक गरेको पीडित किशोरीको भनाइ छ । ‘त्यो बुबा होइन, अपराधी हो । त्यसले सजाय पाउनुपर्छ,’ उनले भनिन्, ‘कुन बाबुले छोरीलाई यतिसम्म पीडा दिन सक्छ ?’ घटना प्रहरीमा दर्ता भएपछि आफन्तले मुद्दा फिर्ता गर्न दबाब दिइरहेका छन् । ‘घटना कहिले भएको हो भन्दा पनि यसको प्रकृति र संवेदनशीलता बुझ्न जरुरी छ,’ बाँकेकी अधिकारकर्मी कमला पन्तले भनिन्, ‘एउटा किशोरीले ६ वर्षपछि आफूले भोगेको हिंसाविरुद्ध आवाज उठाउनु पनि एउटा जागरुकता हो, त्यसलाई प्रमाणको लेखाजोखामा राखेर अपराधीलाई उम्काउन खोजियो भने त्यो न्यायसंगत हुँदैन ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपानेले खजुरास्थित धनौली प्रहरी चौकीबाट आरोपीसित बयान लिने र अनुसन्धानको काम थालिएको बताए । ‘घटनाको संवेदनशीलतालाई बुझेरै सूक्ष्म रूपमा अनुसन्धान अनि प्रमाण जुटाउने काममा लागेका छौं,’ उनले भने, ‘अपराध प्रमाणित भए कानुनी दायरामा ल्याएरै छोड्छौं ।’

प्रकाशित : श्रावण २, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

स्वयंसेविकालाई साइकलले सहज

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुर बडीमज्जित टोलकी प्रमिन अन्सारीले स्वयंसेविका भएर काम गर्न थालेको आठ वर्ष भयो । उनले वडाका नौवटै टोलमा सेवा दिइरहेकी छन् । रातबिरात नभनी सेवामा तल्लीन हुन्छिन् । रातिको समयमा पनि हिँड्नु पर्दा निकै गाह्रो थियो ।

बाँकेको नेपालगन्ज–१६ ले वितरण गरेको साइकलसहित जयसपुर स्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका । तस्बिर : कान्तिपुर

वडाले साइकल दिएपछि स्वयंसेविकालाई काम गर्न सहज मात्र भएको छैन, काम छिटो अनि छरितो पनि हुन थालेको उनले बताइन् । ‘वडाले साइकल दिएर स्वयंसेविकालाई सजिलो बनाइदियो,’ उनले भनिन्, ‘हिँडेर सबैका घर पुग्न सकिँदैन, साइकलले सजिलो बनाएको छ ।’

१५ वर्षअघि जन्डिस भएर पतिको मृत्यु भएपछि अन्सारी दुई छोराका साथ माइतीमा बस्दै आएकी छन् । आफैंले बालविवाह गरेकी प्रमिनलाई छिटो बच्चा जन्माउँदा हुने बेफाइदाबारे राम्रो ज्ञान छ । त्यसैले उनी आफ्नो टोलमा महिला स्वास्थ्य सुरक्षामा लागिपरेकी हुन् ।

प्रमिन मात्र होइन, उनीजस्तै जयसपुर स्वास्थ्य चौकीमा कार्यरत ११ स्वयंसेविकालाई साइकलले जनताको घरदैलोमा पुगेर सेवा दिन सहज भएको छ । जयसपुरकी कबाडियन टोलकी साल्मा बेगमले पाँच वर्षदेखि स्वयंसेविका भएर सेवा गरिरहेकी छन् । अहिले साइकल पाएकाले उनलाई सबैको घरदैलोमा पुग्न सहज भएको छ । भनेको बेला समुदायमा पुग्न सक्छिन् । ४६ वर्षीया साल्मा चार छोरीकी आमा हुन् । दुई छोरीको विवाह भइसकेको छ । अविवाहितमध्ये एउटी छोरी अपांगता भएकी छन् । छोरीलाई घरमा राखेर उनी समुदायको सेवामा लागिरहेकी छन् । ‘कहिलेकाहीं त खाना खान पनि फुर्सद हुँदैन,’ उनले भनिन्, ‘समुदायको काम गर्दा आफ्ना समस्या सामान्य लाग्दा रहेछन् ।’

भन्सार टोलकी स्वयंसेविका श्यामकुमारी आर्यले वडाले साइकल दिएर ठूलो गुन लगाएको बताइन् । उनले आफ्नो टोलका ७५ घरधुरीलाई स्वास्थ्य परामर्श दिने गर्छिन् । ३५ वर्षीया आर्य आफूले साइकल चलाउन नजाने पनि पति अनि छोरीले साइकलमा राखेर कार्यस्थलमा लैजाने गरेको बताइन् । नौ वर्षदेखि स्वयंसेविकाको काम गर्दै आइरहेकी उनले यो सेवा समुदायलाई बुझ्ने माध्यम बनेको बताइन् । ‘पहिलाको तुलनामा चेतनाको स्तरमा निकै सुधार आएको छ । पहिला पहिला समुदायमा काम गर्न निकै गाह्रो थियो, कुरा बुझाउँदा बुझ्ने कम हुन्थे,’ उनले भनिन्, ‘अहिले बिस्तारै परिवर्तन आएको छ । स्वास्थ्यका कामहरूमा समुदायको सहभागिता बढेको छ ।’

तीन महिनाअघि नेपालगन्ज उपमहानगरपालिका–१६ ले जयसपुर स्वास्थ्य चौकीमामा कार्यरत ११ महिला स्वयंसेविकालाई साइकल वितरण गरेको थियो । त्यसयता स्वयंसेविकालाई समुदायमा पुगेर काम गर्न सहज भएको उनीहरूले बताए । ‘स्वयंसेविकाको संघर्ष देखेर वडाबाट साइकल उपलब्ध गराएका हौं,’ वडाध्यक्ष हनिफ जोलाहले भने, ‘उनीहरूका लागि थप सशक्तीकरणका कार्यक्रम पनि ल्याउँदै छौं ।’

जयसपुर स्वास्थ्य चौकीका ११ जना स्वयंसेविकाले वडाका १२ सय घरधुरीलाई स्वास्थ्य सेवा दिइरहेका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको जयसपुरमा भाषाका कारण धेरैजसो महिला स्वास्थ्य केन्द्रमा निर्धक्क आफ्ना कुरा राख्न सक्दैनन् । जसले गर्दा वडामा रहेका स्वयंसेविका उनीहरूका समस्या स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने मात्र होइन, समस्या समाधान गर्न पनि मद्दत पुर्‍याउँछन् ।

प्रकाशित : असार ३१, २०७८ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×