कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि कालीगण्डकी करिडोर अवरुद्ध 

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–पूर्वी नवलपरासी सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । करिडोरअन्तर्गत रामपुर नगरपालिकाको काशीवन, स्याउलीबजार, साखर्दी खोलालगायत दर्जन बढी स्थानमा पहिरो खसेकाले सवारी साधन सञ्चालन हुन नसकेको हो । 

एक सातादेखि कालीगण्डकी करिडोर अवरुद्ध 

लामो समयदेखि सडक अवरुद्ध भए पनि खुलाउनेतर्फ ध्यान कसैको पुग्न नसक्दा आवतजावतमा समस्या भएको तनहुँको घिरिङ–१, पुट्टारका ज्यामबहादुर विकले बताए । उनका अनुसार रामपुरमा उपचार र खाद्यान्नका लागि जान पनि स्याङ्जा हुँदै जानु परेको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरदेखि पाल्पाकै बाँकामलाङसम्म र पूर्वी नवलपरासीका विभिन्न स्थानमा खसेको पहिरो नहटाउँदा त्यस भेगका बासिन्दालाई छिमेकी जिल्ला तनहुँ र स्याङजा हुँदै पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका केन्द्र जानु परेको छ ।

तनहुँ, स्याङजा र पूर्वी नवलपरासीका साथै पाल्पाकै पूर्वी भेगका बासिन्दाको उपचार, खाद्यान्नका लागि बजार केन्द्र रामपुर भए पनि एक सातादेखि आवतजावत बन्द भएको स्थानीय दानस मल्ल ठकुरीले जानकारी दिए । कालीगण्डकी करिडोरको पिपलडाँडा–गैडाकोट १ सय ३५ किलोमिटर खण्ड स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । निर्माण व्यवसायी, स्थानीय सरकार कसैले पनि सडक खुलाउन ध्यान नदिँदा स्थानीयले सवारी साधनमा आवतजावत गर्न पाएका छैनन् ।

‘आफ्नै गाउँपालिकामा कागजपत्र लिएर फरफारकका लागि जान आठ घण्टा लाग्यो,’ लालीगुराँस प्रावि, निस्दी गाउँपालिका–१, बाँकामलाङका मधुसुधन सोतीले भने, ‘लामो समयदेखि सडक बन्द हुँदा यस भेगका धेरैले दु:ख पाएका छन् । एकै दिनमा हुने कामका लागि तीन दिन खर्चिनु परेको छ ।’ ग्रामीण सडक बन्द भएकाले यही सडक भएर यात्रा गर्नुपर्ने हुन्छ । पूर्वी नवलपरासीको बौदिकाली, पाल्पाको निस्दी, रामपुर नगरपालिकाको केही वडा, तनहुँको घिरिङ गाउँपालिकालगायतका क्षेत्रमा यातायात ठप्प भएको छ । पहिरोका कारण पैदल हिँड्नसमेत जोखिम रहेको स्थानीयले बताए ।

प्रकाशित : असार ३१, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?