घुम्टो उघार्दै स्वयंसेविका- लुम्बिनी - कान्तिपुर समाचार

घुम्टो उघार्दै स्वयंसेविका

मधु शाही

बाँके — चुल्होचौको सम्हाल्नु, बाहिर निस्किनुपरे मुख छोपिने गरी घुम्टो ओढ्नु । एक वर्षअघि श्यामकुमारी यादवको दुनियाँ घरको चौघेरामै सीमित थियो । नरैनापुर गाउँपालिका–४ की उनी सकेसम्म मानिसदेखि टाढै हुन्थिन् । खुलेर बोल्ने आत्मविश्वास थिएन ।

अहिले ४५ वर्षीया श्यामकुमारीको दैनिकी फेरिएको छ । घुम्टो शिरसम्म पुगेको छ । दुई–चार जनासँग मनको कुरा निर्धक्क राख्न सक्ने भएकी छन् । यति मात्रै होइन, गाउँका दिदीबहिनी बटुलेर आफूले जानेबुझेका कुरा सुनाउन सक्ने भएकी छन् । गाउँमा स्वास्थ्य स्वयंसेविकाको भूमिका निर्वाह गर्न थालेपछि उनमा यस्तो परिवर्तन आएको हो । गाउँछिमेकमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना, सूचना दिन उनी सिपालु छिन् । सुरुमा श्यामकुमारीलाई स्वयंसेविका बन्न त्यति सजिलो थिएन । स्वयंसेविका बनेपछि बाहिर समय दिनुपर्छ । महिला घरबाहिर गएको परिवारले त्यति राम्रो नमान्ने हुँदा उनलाई स्वयंसेविका नबन्न दबाब थियो । परिवारका सामु उनी चुपै रहन्थिन् । घरकै संसार सबैथोक लाग्थ्यो ।

एक दिन उनले छिमेकी महिला गर्भवती भएको अवस्था देखेपछि उनको मन फेरियो । ती महिलाको पेटमा उल्टो बच्चा थियो । परिवारले घरमै सुत्केरी गराउन लागेका थिए । अस्पतालसम्म पुर्‍याउन कसैले खासै ध्यान दिएनन् । दुई दिनसम्म लगातार बेथा लागेकी ती महिलाले बच्चा जन्माउन नसकेर घरमै मृत्युवरण गरिन् । यो घटनाले श्यामुकमारीलाई अस्पतालको महत्त्व थाहा भयो । गाउँका अधिकांश महिला अस्पताल जानदेखि डराउँछन् । उनीहरूलाई बुझाउन पनि स्वयंसेविका बन्ने रुचि जागेको उनले सुनाइन् । जब उनी स्वयंसेविकाको पहिरन लगाएर घरघर पुग्छिन् तब उनलाई सबैले डाक्टर जत्तिकै महत्व दिन्छन् । ‘सम्मान गरेर बोलाउँछन्, यो सुन्दा जुनी फेरिएजस्तै लाग्छ,’ उनले भनिन् ।

स्वयंसेविका भएपछि उनको आत्मसम्मान बढेको छ । यति मात्रै होइन, समाजलाई आफ्नै शैलीमा परिवर्तन गर्न कतै न कतै योगदान दिइरहेको महसुस गरेकी छन् । उनीजस्तै नरैनापुरका स्वास्थ्य स्वयंसेविका घुम्टो उघार्दै समाज परिवर्तनमा लागेका छन् ।नरैनापुर–४ की हामिया पठानी मुस्लिम समुदायकी हुन् । उनकी फुपूले स्वयंसेवीको काम गर्थिन् । फुपू बितेपछि हामियालाई स्वयंसेविका बन्ने प्रस्ताव आयो । तर उनका श्रीमान्लाई मञ्जुर भएन । श्रीमान्लाई स्वयंसेविकाको अर्थ बुझाउनै हामियालाई एक महिनासम्म लागेको उनले बताइन् । त्यसपछि घरधन्दा सकिएपछि बचेको समय मात्रै बाहिर जाने अनुमति उनले पाइन् । परिवार नियोजनलगायतका खोप लगाउन र स्वास्थ्यसम्बन्धी जनचेतना दिन जब गाउँ जान्छिन्, त्यतिबेला स्थानीयले आफूसँग कुनै न कुनै कुराको अपेक्षा गर्ने गरेको उनले अनुभव सुनाइन् । ‘खानेकुरा र पैसा दिएमात्रै तिम्रा कुरा सुन्छौं भन्छन्,’ उनले भनिन्, ‘हामी त भोकै हिँड्छौं, उनीहरूलाई कहाँबाट दिनू ?’

धेरै पटकको प्रयासपछि पछिल्लो समय सुत्केरी महिला नियमित जाँच गराउन अस्पताल जानुपर्छ भन्ने विश्वास बढ्दै गएको उनले सुनाइन् । उनकै छिमेकी २६ वर्षीया मैनावती बर्माको स्वयंसेविका अनुभव भिन्न छ । स्वयंसेविका नहुनुअघि उनी घरमै बस्थिन् । विवाह नभएकाले उनका कुरालाई समाजमा नकारात्मक ढंगले हेर्थे । पढाइ थिएन त्यसैले गर्भवती, परिवार नियोजनजस्ता प्रजननसम्बन्धी कुरा गर्दा उनलाई लाज हुन्थ्यो । मैनावतीले स्वयंसेविका भइसकेपछि आफ्नो सोचमा पनि परिवर्तन आएको बताइन् । ‘सुरुमा घुम्टो खोलेर गाउँ चहार्छे भन्दै कुरा काट्नेहरू अहिले कामको प्रशंसा गर्न थाले,’ उनले भनिन्, ‘अहिले गाउँमा स्वास्थ्यसम्बन्धी द्विविधा भए मलाई घरमै सोध्न आउँछन्, यो परिवर्तन देख्दा खुसी लाग्छ ।’

प्रकाशित : असार २९, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

महिलाकै भरमा खेती

मधु शाही

बाँके — बर्खा लागेकाले अहिले यहाँ धान रोप्ने चटारो छ । अरू बेला घरधन्दामै व्यस्त रहने नरैनापुरका महिला यतिबेला खेतमा देखिन्छन् । काँधमा धानको बीउ ओसार्दै धान रोप्दै गरिरहेका भेन्टिन्छन् । अचम्म त के छ भने धान रोप्न र खेती गर्न यहाँ महिलाकै जिम्मेवारी बढी हुन्छ । पुरुषले हलो वा ट्र्याक्टरले खेत जोत्नेमात्रै काम गर्छन् ।

नरैनापुर गाउँपालिका–४ मा रोपाइँ गर्दै महिला । तस्बिर : मधु/कान्तिपुर

नरैनापुर–२ की रज्जु यादवले असार १५ गतेयता आधा समय खेतमै बिताएको बताइन् । ६ सन्तानकी आमा ४७ वर्षीया यादवको परिवारमा तीन छोरी छन् । जेठी र माइली छोरीसँगै रज्जु खेतमा धान रोप्न व्यस्त हुन्छिन् । तीन छोरा र उनका श्रीमान् खेतको काम खासै गर्न रुचाउँदैनन् । ‘धान रोप्न उनीहरूलाई आउँदा पनि आउँदैन,’ उनले भनिन् । ६ कट्ठा खेतमा रज्जु र उनका तीन छोरीले धान रोप्न खेताला खोज्नेदेखि बीउ काढ्नसम्म मिहिनेत गरे । ज्यालामजदुरी र अर्मपर्मसमेत गरेर खेत रोपे । अरू बेला घरभित्रै भान्सामा अल्झिने यहाँका महिलाले खेतीपाती धानेका छन् । टाउकोमा घुम्टो ओढेरै भए पनि धान रोप्न उनीहरू खेतमा पुगेकै हुन्छन् । नरैनापुरमा महिला मात्रै खेतमा देखिनु रहर नभई बाध्यता हो । खेतीपाती महिलाले सम्हाल्ने काम हो भन्दै परम्परागत रूपमा कामको बाँडफाँट गरिएको देखिन्छ ।

नरैनापुर–४ की अमिरा बेहनाको संयुक्त परिवार छ । १५ जना एउटै कोलनीमा बस्छन् । घरका पाँच जना युवा भारतमा मजदुरी गर्छन् । महिलाले नै घर र खेती धान्नुपर्ने अवस्था छ । अमिराका श्रीमान् र उनको उमेर एउटै छ । अमिरासँगै खेतमा धान रोप्न उनी कहिल्यै जाँदैनन् । श्रीमतीको पुच्छर बनेर खेतमा गयो भन्दै कुरा काट्ने समाजको चलन भएको हुँदा उनी धान रोप्न नजाने गरेको अमिराले बताइन् । ‘कहिल्यै जानुहुन्न खेतमा,’ उनले भनिन्, ‘अरूले के भन्छन् भनेर लाज मान्नुहुन्छ ।’

अमिरा आफ्नै घरको खेतीबाहेक अरूको खेतमा काम गर्न जान्छिन् । तर नरैनापुर–४ की रुक्सा खान भने धान रोप्न खेतालासमेत लगाउँछिन् । भारतमा माइती भएकी उनले खेती गर्न उतैबाट आफन्तलाई बोलाउने गरेको सुनाइन् ।

‘अम्मी र दिदीबहिनी आए भने खेत पूरै रोप्दिन्छन्,’ उनले भनिन्, ‘नभए म एक्लैलाई सास्ती हुन्छ ।’ नरैनापुर–५, मटैयाकी ३२ वर्षीया पल्लवी कुर्मीका तीन छोराछोरी छन् । तीन वर्षको कान्छो छोरो पिठ्युँमा बोकेर धान रोप्दा उनको ज्यान फतक्कै गल्छ । पल्लवीको घरखर्च खेतीकिसानीले धानेको छ ।

अन्न बेचेरै घरखर्च चल्छ । उनले मिहिनेत गरेअनुसार परिवारको अर्थतन्त्रमा उनको अधिकार भने छैन । बिहान र साँझ खान पाउनुमै उनले चित्त बुझाउनुपर्छ । ज्यालामजदुरी गरेर कमाएको पैसासमेत उनले आफूअनुकूल खर्च गर्न पाउँदिनन् । ‘दुःख आफू गर्‍यो, पैसा भने सासूलाई दिनुपर्छ,’ उनले भनिन् । नरैनापुरको आधाजसो कृषि महिला परिश्रमले धानिएको नैरनापर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्माले बताए ।

खेतीपाती सामान्य कामको रूपमा लिइने प्रवृत्तिले गर्दा पुरुषले खासै चासो दिँदैनन् । कृषिलाई व्यवसायीकरण गर्न नयाँ आर्थिक वर्षमा पालिकाले महिला लक्षित विभिन्न कार्यक्रम तथा योजना ल्याएको छ । गाउँपालिकाका अध्यक्ष इस्तिहाक अहमद शाहले किसानमा पनि महिलालाई केन्द्रित गरेर कृषि विकास कार्यक्रम ल्याइएको बताए । जसमा कृषकलाई पेन्सन दिने व्यवस्थासमेत नयाँ कार्ययोजनामा उल्लेख छ । बाख्रापालन, खेती किसानी र व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान लक्षित योजना बनाइएको उनले सुनाए ।

प्रकाशित : असार २३, २०७८ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×