कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वन्यजन्तु बस्ती पस्नासाथ ‘साइरन’

बर्दिया — पछिल्लो समय बर्दिया निकुञ्जबाट वन्यजन्तु बस्तीमा छिरेर जनधनको क्षति गर्दै आएका छन् । जसले गर्दा निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको छ ।

संरक्षणकर्मीले वन्यजन्तुको बस्ती प्रवेश रोक्न विभिन्न क्रियाकलाप र संरक्षण गतिविधि गरिरहेका छन् । अहिले निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गरेको जानकारीका लागि ‘साइरन’ जडान गरिएको छ । वन्यजन्तु प्रभावित मधुवन नगरपालिकास्थित पत्थरबोझी, सोनाहा, कैलाशी, भगरैया र हात्तीसारमा साइरन जडान गरिएको हो ।

गेरुवा गाउँपालिकाको राजीपुर र सर्खोलमा साइरन जडान अन्तिम चरणमा छ । हात्तीले बालीनाली नष्ट, घर भत्काउने र ज्यान लिन थालेपछि अग्रिम सूचना प्रणाली (साइरन) ले मोबाइल एप्समार्फत जानकारी दिने व्यवस्था मिलाइएको हो । वन्यजन्तु आएपछि मचानमा जडान गरिएको साइरन बज्ने गर्छ । यसले सर्वसाधारण सचेत हुने र धनजनको क्षति हुनबाट जोगिने उज्यालो नेपालका अभियन्ता एवं पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको समन्वयमा उज्यालो नेपाल, आयूसीएन नेपाल र ग्लोबल नेचर कोषको १० लाख रुपैयाँ सहयोगमा अपसेट फेन्स प्रविधिमा आधारित रहेर विद्युतीय तारबारसहित साइरन जडान गरिएको थापाले जनाए ।

एक दशकयता उक्त क्षेत्रमा हात्ती आक्रमणबाट २० जनाको ज्यान गइसकेको छ । ५ सयभन्दा बढी घर भत्काएको निकुञ्जले जनाएको छ । वन्यजन्तुले सयौं बिघा जग्गाको अन्नबाली नष्ट गर्दै आएको स्थानीयले बताए । वन्यजन्तुको निगरानी गर्न हरेक मचानमा समुदायले पालैपालो खटाएका मानिसले साइरन बजाउने र मोबाइल एप्सबाट जानकारी दिने गर्छन् ।


प्रकाशित : असार २९, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?