शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना

वीरेन्द्र केसी

अर्घाखाँची — विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा गुल्मी १२ र अर्घाखाँचीका ६ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । आन्दोलनमा विभिन्न पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । 

संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेले बताए ।

उनीहरूले शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन् ।


प्रकाशित : असार १८, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी, खनाल-नेपाल पक्ष अनुपस्थित

वामदेव गौतम सहभागी, बैठकअघि ओली र नेपालबीच टेलिफोन संवाद
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । ११ बजे बस्ने भनिएको बैठक सवा घण्टा ढिला गरेर सुरु भएको थियो । जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।

तर, बैठकअघि खनाल–नेपाल समूहका नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

‘हिजो हाम्रो समूहले जे निर्णय गरेको त्यसले एकतालाई प्राथमिकता दिने भनेको छ । एकताको लागि हामीले सकारात्मक ढंगले प्रयत्न गरिराखेको छौं लगभग निष्कर्षनजिक पुगेका छौं । यस्तो अवस्थामा आज एकपक्षिय बैठक राख्ने कुराले माहोल बिग्रन्छ । बैठक स्थगन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ बालुवाटार पुगेका एक नेताले भने, ‘कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव पनि राख्यौं । उहाँले हाम्रा कुरा सुन्नु भयो र साथीहरुसँग सल्लाह गर्छु भन्नु भएको छ ।’ उक्त भेटमा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सहभागी रहेको ती नेताले बताए । तर, नेपाल पक्षले स्थगित गर्न आग्रह गरे पनि बैठक जारी छ ।

संस्थापन पक्षले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

वामदेव गौतम सहभागी
बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी छन् । अध्यक्ष केपी शर्मा ओली ०७५ जेठ ३ को अवस्थाबाट पार्टी सञ्चालन गर्न तयार भएपछि गौतम बैठकमा सहभागी भएको उनको सचिवालयले बताएको छ ।

पार्टी उपाध्यक्षको हैसियतमा बैठकमा सहभागिता जनाउन भन्दै केन्द्रीय कार्यालयले पत्र पठाएको थियो । गौतम यसअघिका बैठकमा सहभागी भएका थिएनन् । सर्वोच्च अदालतले नेकपालाई विभाजन गरिदिएपछि गौतमले छुट्टै एकता अभियान सञ्चालन गर्दै आएका थिए ।

ओली र नेपालबीच टेलिफोन संवाद
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार साँझ टेलिफोन संवाद भएको छ । नेपालको सचिवालयका अनुसार संवादमा ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका थिए ।

तर, नेपालले उक्त बैठक अवैधानिक भन्दै स्थगित गर्न र आपसी सहमतिमा अर्को बैठक तय हुनुपर्ने बताएका थिए । दुवै पक्षका दोस्रो तहका नेताहरुले ओली र नेपाललाई भेटवार्ता गराउने कोसिस पनि गरेका छन् । यद्यपि अझै समय भने तय नभएको नेताहरुले बताएका छन् ।

तस्बिरहरू : दीपक केसी

प्रकाशित : असार १८, २०७८ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×