कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा असार २० सम्म निषेधाज्ञा

काशीराम डाँगी

रोल्पा — कोरोना महामारी नियन्त्रण नभएको र नयाँ भेरियन्टसमेत फैलिएको निष्कर्षसहित रोल्पामा असार २० गतेसम्म निषेधाज्ञा बढाइएको छ । महामारी वृद्धि रोक्ने उद्देश्यले संक्रमण रोक्न निषेधाज्ञा पुन: थपिएको स्थानीय प्रशासनले जनाएको छ ।

बजार र दुर्गम गाउँमा समेत कोरोना संक्रमण वृद्धिदर कम भइनसकेकाले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्थानीय प्रशासन ऐन र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार निषेधाज्ञा बढाइएको बताए । निषेधाज्ञा चौथोपटक असार २० गते राति १२ बजेसम्मका लागि थपिएको हो । तेस्रो पटक थपिएको निषेधाज्ञाको अवधि असार १० गते राति सकिएको थियो ।

स्थानीय प्रशासनले कोभिड संक्रमण रोक्न र व्यवस्थापन गर्न सर्वपक्षीय बैठक समेत बोलाउने गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक समेत रहेका प्रजिअ सापकोटाले राजनीतिक दल, सरोकारवाला र सुरक्षा अधिकारीसमेतको उपस्थितिमा छलफल गर्दै आएको बताए । ‘संक्रमण महामारीकै रूपमा फैलिएको र संक्रमण रोक्न आवश्यक भएकाले निषेधाज्ञा थप्नपरेको हो,’ संक्रमण रोक्न लिइएको नीतिबारे नयाँ सूचना जारी गर्दै प्रजिअ सापकोटाले भने । हो ।

पछिल्लोपटकको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । सबै प्रकारका पसल बिहान ६ देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड लागू गरेर खुला राख्न सकिनेछ । यसअघि खाद्यान्न, तरकारी, दूधजन्य सामग्री मात्रै किनमेल गर्न सहज बनाइएको थियो । किनमेल गर्ने अवधि पनि यसअघिको भन्दा बढाइएको छ । निर्माण सामग्री ओसारपसार गर्न, औषधि पसल एवं सामान ओसार्न अघिदेखि नै कुनै बाधा पुर्‍याइएको थिएन । तेस्रो पटकमा जारी गरिएको निषेधाज्ञालगत्तै बैंक खोल्न आदेश दिइएको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर होटल र रेष्टुरेन्टले टेक अवे (प्याकेटमा बिक्री गर्ने) तरिकाले व्यवसाय थाल्न सक्ने निर्णय गरिएको छ ।


प्रकाशित : असार ११, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?