कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरघरमै उपचार

माधव अर्याल

पाल्पा — कालीगण्डकी बेँसीअन्तर्गत रम्भा गाउँपालिका–१, हुँगी र लेकको बस्ती फोक्सिङकोटका बासिन्दालाई तानसेन र रामपुर पुग्न अपायक पर्छ । हुँगी र फोक्सिङकोटअन्तर्गत २० भन्दा बढी टोल छन् । यही क्षेत्रका लागि गाउँपालिकाले गत वर्षको भदौदेखि हुँगी स्वास्थ्य चौकीमा मेडिकल अधिकृतसहितको सेवा सुरु गरेको छ । 

घरघरमै उपचार

अहिले कोभिडको महामारीमा रम्भाका जनताले राहत महसुस गरेका छन् । सरकारले ५ बेडको कोरोना अस्थायी अस्पताल र मेडिकल अधिकृतसहितको सेवा दिन १० लाख बजेट पठाएको थियो । सोही बजेटबाट गत भदौबाट मेडिकल अधिकृतसहितको सेवा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी छन् । जिल्लाका रैनादेवी छहरा र रम्भाबाहेक कुनै पनि स्थानीय तहले मेडिकल अधिकृत पाउन सकेका छैनन् । केही समय पूर्वखोलाले मेडिकल अधिकृतबाट सेवा दिए पनि कोभिडको दोस्रो लहरका बेला भने कोरोना अस्पतालमा मेडिकल अधिकृत बसेनन् । तिनाउ, निस्दी, माथागढी, बगनासकालीले पनि मेडिकल अधिकृत पाएनन् । ‘हामीले दुईपटकसम्म विज्ञापन गर्‍यौं तर पाउन सकेनौं,’ तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले भने, ‘स्टाफ नर्सबाट सेवा दिएका छौं ।’

हुँगी स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले अस्पतालसँगै टोलटोलमा पुगेर सेवा दिएका छन् । हुँगी र फोक्सिङकोट मात्र होइन, पीपलडाँडा र आवश्यक परेमा ताँहु र हुमिनसम्म पुगेर कोभिडका बिरामीको सेवा दिएको डा. श्रेष्ठले बताए । गाउँपालिकाको फोक्सिङकोट भौगोलिक हिसाबले विकट छ । यो वडामा तीन वर्षअघिसम्म गतिलो स्वास्थ्यचौकी भवन थिएन । स्वास्थ्यकर्मी बस्दैन थिए । अहिले भने नागरिकले केही सेवा पाउन थालेका छन् । ‘हाम्रो भौगोलिक विकटताले पनि स्वास्थ्यकर्मीबाट सेवा लिन कठिन छ,’ स्थानीय एवतकुमार सारूले भने, ‘स्वास्थ्यचौकीमा सुधार आएको छ तर सेवा लिन भने भूगोलकै कारण कठिन छ ।’

कोरोनाको दोस्रो लहरमा हुँगी ‘हटस्पट’ जस्तै बन्यो । छिमेकको फोक्सिङकोटमा पनि उस्तै अवस्था आयो । हुँगीमा मात्रै ८० बढी संक्रमित पुष्टि भयो । टोल, गाउँबस्ती सबैमा लक्षणसहितका बिरामी देखिए । त्यस क्षेत्रमा ६ बढी टोलमा कोरोना संक्रमण अत्यधिक फैलियो । ‘तत्काल गएर स्वास्थ्य सामग्री वितरण गरियो,’ डा. श्रेष्ठले भने, ‘स्वास्थ्य शाखा प्रमुख शिव अर्याल, महेश आचार्यको सहयोगले पनि मलाई हौस्यायो ।’ उनी प्यारामेडिक्सको टिमसहित स्वास्थ्य सामग्री, एन्टिजेन, भीटीएम किट बोकेर टोलटोल पुगे । एन्टिजेन, भीटीएम लगेर लक्षण देखिएकालाई जाँच गर्थे । ‘हामीले गाउँमै यसरी मेडिकल अधिकृतबाट सेवा पाउनु भनेको निकै खुसीको कुरा हो,’ ४२ वर्षीय एक संक्रमितले भने ।

प्रकाशित : असार ६, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?