कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर सडक बगायो 

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर सडक बगायो 

डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् । अलपत्र यात्रु हरिबहादुर चौधरी दाङ जाने भए पनि हिजोदेखि राजमार्गमै बसेका छन् । साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् ।

पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकको हुमिन र चापगैरामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । यसैबीच तिनाउ खोलामा बाढीले सतह पार गरेको छ । विगतका वर्षमा बग्ने तिनाउ नदीको सतह यसवर्ष २०३८ साल पछिकै बाढी आएको तिनाउ–३, झुम्साका कृष्णप्रसाद पाण्डेयले जानकारी दिए । तिनाउ नदीमा आएको बाढीले दायाँाबायाँ भागमा कटान गर्दा खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।

पाल्पाकै बाँसटारी, माडी, डुम्रेमा पनि अविरल वर्षासँगै आएको बाढीले खेत कटान र पुरिएको छ । डुम्रे खोलाको छेउका तीन घर कटानबाट उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । डुम्रे बजार नजिकै खेतमा बाढी पसेको छ भने केही घरहरु जोखिममा रहेको हो । त्यस्तै अविरल वर्षाले माडी फाँट पनि डुबानमा परेको छ । ५ सय रोपनी क्षेत्रफलमा बाढीले डुबानमा परेको स्थानीयले जानकारी दिए ।

प्रकाशित : असार २, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?