कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैनादेवी छहराका ६५ परिवारलाई खाद्यान्न

माधव अर्याल

पाल्पा —  रैनादेवी छहरा–७, बल्ढेङगढीका विपन्न वर्ग र दलित समुदायका मजदुरी गरेर गुजारा गर्ने ६५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

रैनादेवी छहराका ६५ परिवारलाई खाद्यान्न

मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको पहलमा निषेधाज्ञाका कारण कमाउन नपाएका परिवार छनोट गरी खाद्यान्न वितरण गरिएको हो ।

गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने अभियानअन्तर्गत निषेधाज्ञाले पीडामा परेकालाई सहयोग गरेको संस्थाकी कपिलवस्तु संयोजक चन्द्रा सापकोटाले बताइन् । चामल, दाल, नुन, तेललगायत १ लाख ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको उनले बताइन् ।

किशोरी तथा गर्भवती आठ जनालाई स्वास्थ्य तथा सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले रूपन्देही र कपिलवस्तुका पदाधिकारी, बल्ढेङगढीका जनप्रतिनिधिको सहभागितामा खाद्यान्न हस्तान्तरण गरिएको बताइन् । खाद्यान्नका लागि संस्थाका पदाधिकारीहरूको सक्रियता, बल्ढेङढीमा जन्मेर विभिन्न क्षेत्रमा बसोबास गर्ने र सामाजिक क्षेत्रमा काम गर्दै आएकाहरूको सहयोग रहेको छ ।

रैनादेवी छहरा–७ का कार्यवाहक वडाध्यक्ष लोकेन्द्रबहादुर खड्काले जिल्लामै दुर्गमको वडा भएकाले स्थानीयको जनजीवन कष्टकर भएको बताए । ‘संस्थाले गहते माविमा यसअघि १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि स्टेसनरी, झोला र मास्क वितरण गरेको थियो ।

हिंसामुक्त समाज निर्माणका लागि संस्थाले पहल गरेको र निषेधाज्ञा लागेका बेलामा काम गर्न नपाएर छाक टार्न समस्या भएका परिवारलाई खाद्यान्न सहयोग गरेको मेची महाकाली बुहारी संयुक्त आवाज वाग्मती प्रदेशका सल्लाहकार कल्पना पौडेलले बताइन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?