कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले सिकायो हात धुन

‘अहिले स्थानीयका मुखमा मास्क, गोजी र पटुकीमा सेनिटाइजर टुट्दैन’
वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लाको खिल्जीकी विमला बेल्वासेको घरअगाडि आँगनको डिलमा साबुन र जर्किनमा पानी राखिएको छ । घरमा आउने पाहुनाले साबुनपानीले हात धोएपछि बल्ल भित्र पस्छन् । उनी दिनभर घाँसपातदेखि घरको काममा व्यस्त हुन्छिन् । पहिला बारीमा काम गरेपछि पानीले मात्रै हात धोएर खाना खान्थिन् । खरबारीमा काम गरेर घरमा आएर अहिले साबुनपानीले मिचीमिची हात धोएपछि बल्ल भित्र पस्छिन् । 

कोरोनाले सिकायो हात धुन

यसरी दिनमा तीन/चारपटक साबुन पानीले हात धुनुको कारण हो, कोरोनाबाट जोगिनु । ‘बारीमा माटोसित काम गर्दा, खर काट्दा हात फोहोर हुन्छन्, घरमा आएपछि पानीले मिचीमिची धोएपछि मैलो सबै जान्थ्यो अनि भात खाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त कोरोनाबाट जोगिन मेलापात गएर फर्किएपछि, गाउँमा भेटघाट गरेर आएपछि अनिवार्य साबुन पानीले हात धोएर कपडाले पुछेपछि बल्ल भित्र पसेर खाना खान्छौं । बाहिर गएर केही बस्तु छुँदा र मान्छेसँग छोइँदा पनि हात धुन्छौं ।’

बेल्वासेले बाहिर गएर आएपछि खाबुनपानीले हात धोएपछि कोरोनाबाट बच्न सकिने सामाजिक सन्देश सञ्चारमाध्यमबाट सुनेकी थिइन् । उनीजस्तै राधा पुनको परिवार पनि साबुनपानीले हात धोएर खाना खाने गर्छन् । उनले छिमेकीलाई पनि हात धोएर मात्रै खाना खान सुझाउँछिन् । ‘घरबाहिर गएको बेला छिमेकीसँग घुलमिल भए पनि शरीरका कपडा फेरेर मात्रै भित्र जान्छु,’ पुनले भनिन्, ‘सातामा दुईपटक नुहाउने, बाहिर जाँदा साथमा सेनिटाइजर हुन्छ । पसलमा केही सामान किनेपछि सेनिटाइजर गर्ने र घरमा आएर साबुनपानीले हात धोएर भित्र पस्छु ।’

भारतबाट आएका छिमेकी पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएपछि बामरुककी तुल्सा भुसालले घाँसपात र गाउँमा इष्टमित्रसित भेटघाटमा जाँदा पटुकीमा सेनिटाइजर लैजान्छिन् । घरमा आएपछि मिचीमिची साबुनपानीले हात धोएपछि बल्ल घरभित्र जान्छिन् । खाना खानुभन्दा अगाडि साबुनले हात धुने चलन छ । गाउँका सबैले अचेल साबुनपानीले हात धुने गर्छन् । कोरोनाबाट जोगिन साबुनपानीले हात धुने बानी बसेको छ । यसले रोगबाट बच्ने र सरसफाइ पनि हुने उनले बताइन् । कोरोना महामारीअघि साबुनपानीले हात धुन सरसफाइसम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले प्रशिक्षण दिएर सिकाएका हुन् । हात धोए पनि त्यति सतर्कता थिएन । अहिले कोरोनाले ज्यानै लैजाने डर भएकाले हात धुने बानी बसालेको उनले बताइन् ।

पहिला सरसफाइमा चासो नदिने गाउँका केही स्थानीयले पनि अहिले कोरोनाबाट बच्न साबुनपानीले हात धुने, कपडा धुने, नुहाउने, घर सफासुग्घर बनाउने काम गरिरहेका छन् । ‘अहिले सबैका घरमा जाँदा गेटमै साबनु र पानीको भाँडो देखिन्छ,’ मालारानी गाउँपालिका–३ का वडाध्यक्ष शोभाखर खनालले भने, ‘सबैका हात सफा छन् । खानेकुरा ताजा हुन्छन् ।’ मुखमा मास्क टुट्दैन । मेलापात जाँदा पनि मास्क लगाएका हुन्छन् । ‘स्थानीयका मुखमा मास्क, गोजी र पटुकीमा सेनिटाइजर अहिले टुट्दैन,’ सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने । सरसफाइमा ध्यान दिएपछि अन्य रोगबाट पनि बच्न सकिने उनले बताए ।

गाउँमा अहिले सरसफाइलाई प्रतिष्ठाको विषय बनाइएको छ । सरसफाइमा ध्यान नदिने, साबुनपानीले हात नधुनेलाई राम्रो मान्दैनन् । ‘गाउँमा पहिलेदेखि नै घरटोल सफा राख्ने अभियान चलाइएको थियो,’ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले भने, ‘कोरोनापछि सञ्चारमाध्यम, सामाजिक सञ्जाल, गाउँमा स्थानीयलाई भेटघाट गरेरै कोभिडबाट बच्न साबुनपानीले हात धुन, स्वास्थ्य मापदण्ड पालना गर्न भनेपछि सबैका घरमा साबुनपानी छ ।’

प्रकाशित : जेष्ठ २७, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?