कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा संक्रमण भयावह

माधव अर्याल

पाल्पा — निस्दी गाउँपालिका–४, मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र जेठ २९ गतेसम्मका लागि सिल छ । बाक्लो बस्ती रहेको रुक्सेभन्ज्याङमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेपछि पूर्ण सिल गरिएको हो । 

गाउँमा संक्रमण भयावह

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरका अनुसार ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखियो । ‘समुदायमा यति धेरैको पोजेटिभ रिपोर्ट आउला भन्ने थिएन,’ उनले भने, ‘ग्रामीण बजारमा यसरी फैलिएपछि समस्या नै देखियो ।’

स्वास्थ्य शाखाले पुन: रुक्सेभन्ज्याङ टोलका सबै ७६ जनाको एन्टिजेन गर्दा पुन: २६ जनामा कोरोना पोजिटिभ पुष्टि भयो । निस्दीको मित्याल रुक्सेभन्ज्याङमा अहिले एउटै टोलका ४७ जना कोरोना पोजेटिभ छन् । स्वास्थ्य शाखा प्रमुख दिशा मगरका अनुसार सबै गाउँलेको आग्रह अनुसार कोरोना पोजेटिभ पुष्टि भएकालाई गौरीशंकर माविको हलमा बस्ने र खाने व्यवस्था गरिएको छ । ‘स्थानीयको आग्रह अनुसार गाउँपालिकाले खाना खुवाउने गरी राखिएको छ,’ उनले भने, ‘घरमै बस्दा झन् समस्या आएपछि नियन्त्रणका लागि अलग्गै राखिएको हो ।’

समुदायस्तरमै संक्रमण फैलिनुका साथै ज्वरोका बिरामी बढेपछि एन्टिजेन टेस्ट गरिएको थियो । एउटै टोलबाट यति धेरै संक्रमण पुष्टि भएपछि पूर्ण रुपमा सिल गरिएको वडाध्यक्ष न्यौबहादुर सुनारीले बताए । यस अवधिमा औषधि पसल र दूध तथा डेरी पसलबाहेक खाद्यान्न, तरकारी, निर्माण सामग्रीका पसल पूर्ण बन्द गरी हिंडडुलमा पनि रोक लगाइएको उनले बताए ।

कोरोना भाइरस संक्रमण नघटेपछि रिब्दीकोट गाउँपालिका–३, खस्यौली हार्थोक १५ दिनयता सिल छ । पाल्पा–गुल्मी सडकमा पर्ने यस ग्रामीण बजारमा पोजेटिभ आउने क्रम रोकिएको छैन । २५ घरबस्ती रहेको बजार क्षेत्रमा वल्लोपल्लो छेउमा कन्ट्याक्ट ट्र्रेसिङ गर्दा पोजेटिभ आउने क्रम नरोकिएको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । पछिल्लोपटक ३९ जनाको आरटीपीसीआर गर्दा १८ जना एउटै टोलका व्यक्तिमा कोरोना पुष्टि भएको छ । ‘बाक्लो बस्ती छ, यताका उता घुलमेल हुन्छन्,’ उनले भने, ‘कतिपय लापरबाहीले गर्दा पनि नियन्त्रणमा चुनौती थपिएको छ ।’

रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीको इटिया टोलमा रुघा, खोकी, शरीर दुख्ने, कमजोर हुने लक्षण देखिएको छ । स्वास्थ्य शाखामा खबर गरेपछि ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । ‘मौसमी फ्लु भनेर खबर गरेका रहेछन्,’ रैनादेवी छहराका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले भने, ‘कोरोनाको मिल्दोजुल्दो लक्षण भएकाले तत्काल पुगेर एन्टिजेन गरेका थियांै । पाजेटिभ देखियो ।’ गाउँमा भारतीय सैनिकबाट आएका एक व्यक्तिको केही दिनअघि बुटवलमा कोरोना परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि गाउँमा शंका गरेका हुन् । केही दिनयता बिरामी पर्ने र लामो समयसम्म औषधि उपचार गर्दासमेत निको नभएपछि गाउँपालिकाको स्वास्थ शाखामा जानकारी गराएका थिए ।

तानसेन नगरपालिकाले समुदायस्तरमा ४ सय जनाको नमुना आरटीपीसीआर परीक्षण गर्दा १ सय ३२ जनाको कोरोना पोजेटिभ देखिएको छ । पाल्पा जिल्ला अस्पताल र तानसेन नगरपालिकाले बजारका साथै ग्रामीण भेगका वडामा पुगेर परीक्षण गरेको थियो । ‘बजार क्षेत्रमा १५ देखि २० प्रतिशतमा मात्र देखिएको छ,’ पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले भने, ‘ग्रामीण वडामा भने ३० देखि ४० प्रतिशतसम्म कोरोना पुष्टि भएको छ ।’ वडामा धेरै नागरिकको पीसीआर गर्दासमेत यसरी आउनु भनेको गाउँमा बढी फैलिएको पुष्टि हुने उनले बताए । तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेका अनुसार सहर बजारमा संक्रमण दर कम नै रहेको छ ।

तर, ग्रामीण भेगमा भने अझै पनि कम्तीमा ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म कोरोना पुष्टि भएको छ । ‘समुदायको अवस्था के रहेछ भनेर बुझ्न वडावडामा शिविर राखेका थियौं,’ उनले भने, ‘तर, सहरभन्दा ग्रामीण भेगमा बिरामी धेरै नै देखिएका छन् ।’ नगर प्रमुख अशोककुमार शाहीले आगामी दिनमा योजना बनाउन पनि समुदायमा अवस्था के छ भनेर पाल्पा अस्पतालसँगको सहकार्यमा नमुना परीक्षणलाई फराकिलो बनाएको बताए । बजार क्षेत्रभित्र व्यापार व्यवसाय र तरकारी पसल सञ्चालकको समेत नि:शुल्क कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बजार क्षेत्रमा केही कमी आए पनि ग्रामीण भेगमा अझै पनि संक्रमणको त्रास कायमै छ । ‘परीक्षणमा अझै पनि स्थानीय तहले दायरा बढाउन सकेका छैनन्,’ उनले भने, ‘लक्षण देखिएकालाई अझै पनि परीक्षण गरेको पाइएको छैन ।’ उनले किटको अभाव भए जोहो गरेर भए पनि परीक्षणको दायरा बढाउने र पोजेटिभ देखिएकालाई सुरक्षित गरेर राख्नुपर्ने बताए । जिल्लामा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म ९४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?