लुम्बिनी प्रदेशको बजेट अधिवेशन : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी प्रदेशको बजेट अधिवेशन : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा बिहीबार छलफल भएको छ । 


छलफलमा सहभागी प्रदेश सभा सदस्यहरुले सरकार अहिलेको बजेट मानवीय हिसावले कोरोना नियन्त्रण र उपचारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । कोरोनाको दोस्रोपछि तेस्रो भेरियन्ट पनि आउने कुरा बाहिर चलिरहेकोले सरकार त्यसका लागि तयार भएर बस्नुपर्ने र मानवीय क्षति कम हुनेतर्फ सचेत बनेर बजेट बनाउन उनीहरुले आग्रह गरे ।

कोरोना संक्रमणले आर्थिक क्षेत्र डामाडोल भएकाले त्यसलाई उकास्ने र रोजगारी गुमेकालाई रोजगारीमा जोड्ने बजेट ल्याउन समेत प्रदेश सभा सदस्यहरुले सुझाव दिए । छलफलमा बोल्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले कोरोना, रोकथाम, नियन्त्रण र रोजगारीलाई संगसंगै जोडेर बजेटको सिद्धान्त र प्राथमिकता तोक्न आग्रह गरे । प्रदेश सभा सदस्य अष्टभुजा पाठकले कोरोना विरुद्ध मानवीय क्षति रोक्ने र कृषिबाट आर्थिक हैसियत बदल्ने बजेट ल्याउन सुझाव दिए ।

छलफलमा प्रदेश सभा सदस्य कमला विक, तारा जिसी, दिपा विक, रमा अर्याल, पुमति ढेंगा, दामा शर्मा, तुलसी चौधरी, विष्णु पन्थीलगायतले कोरोनाको जोखिम अहिलेपनि कायमै रहेकोले सरकार सचेत भएर तत्कालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने बताए । प्रदेश सभाका १४ जना सदस्यहरुले छलफलमा भाग लिएका थिए ।

छलफलपछि बोल्दै आर्थिक योजना मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट कोरोना नियन्त्रण र रोकथाममा केन्द्रित हुने बताए । कोरोनाले तहसनहस पारेको आर्थिक क्षेत्र उकास्ने, नया रोजगारी सिर्जना गर्नेमा पनि बजेटमा प्राथमिकता दिने उनले बताए । फजुल खर्च हुन नदिने तर, कृषि, उद्योग एवं पर्यटन क्षेत्रलाई समेत समेटेर आर्थिक विकासमा टेवा पुर्याउने खालको बजेट तयार गरेको मन्त्री चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीले प्रदेशका जनतालाई कोरोनाको जोखिमबाट बचाउन प्रदेश सरकार प्रयासरत रहेको बताउादै प्रदेशका चारवटै कोरोना विशेष अस्पताललाई पूर्वाधार सम्पन्न बनाएको र जिल्ला जिल्लामा समेत कोरोना उपचार थालेको बताए ।

प्रकाशित : जेष्ठ २०, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

५ हजार ८२५ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ९०४ जना निको

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ५६२ पीसीआर परीक्षणमा ५ हजार ८२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

यस्तै, २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ । क्वारेन्टाइनमा ८३१ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७८ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×