कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सम्पन्‍न

२९६ मत खस्यो, ३ स्थानीय तह प्रमुख अनुपस्थित
दुर्गालाल केसी

‍दाङ — लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । घोराहीमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा २ सय ९७ मत खसेको छ । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् ।

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : मतदान सम्पन्‍न

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अममद् शाह र गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा सहभागी हुन सकेनन् । राणा एमाले, कांग्रेस र माओवादीको जुधाइमा सहभागी नहुने भन्दै मतदानमा सहभागी भएनन् भने थापा र शाह बिरामी छन् । थापाको बिरामी भएर काठमाडौंमा र शाहको भारतमा उपचार भइरहेको छ । स्थानीय तह निर्वाचनमा राणा राप्रपा, थापा कांग्रेस र शाह जसपाबाट निर्वाचित भएका थिए ।

मतदानमा १ सय ३४ महिला र १ सय ६३ पुरुष सहभागी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । मतदानमा सहभागी भएकामध्ये २७ जना कोरोना संक्रमित थिए । उनीहरुका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो । प्रदेशसभाका ८३ सदस्यहरु नै मतदानमा सहभागी भए । स्थानीय तहका २ सय १४ मतदाता सहभागी भए । मतगणना आजै सम्पन्न गर्ने तयारी भइरहेको थापाले बताए ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई र मौसम कार्यालयमा एक गरी तीन मतदान केन्द्रमा मतदान भएको थियो । कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्यका लागि 'क' र स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि 'ख' मतदान केन्द्र थियो भने कोरोना संक्रमितहरुका लागि मौसम कार्यालयमा 'ग' मतदान केन्द्र राखिएको थियो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुईजना उम्मेद्वार छन् । नेकपा एमालेकातर्फबाट चन्द्रबहादुर खड्का तथा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनबाट कांग्रेसका दृगनारायण पाण्डेयले उम्मेद्वारी दिएका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?