कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सक र नर्समाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

रूपा गहतराज

नेपालगन्ज — बाँकेको भेरी अस्पतालमा चिकित्सक र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने प्रतिवेदन पछि आन्दोलन रोकिएको छ ।

चिकित्सक र नर्समाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले बताए ।

कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि रावत र उनका आफन्तले डाक्टर र नर्सको घाँटी अठ्याउनुका साथै लखेटीलखेटी हातपात गरेका थिए । डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए ।

भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए ।

डाक्टर चन्द्रप्रकाश साहु, नर्सहरु आश्विनी गुरुङ, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन ड्युटीमा रहेका थिए । उनीहरु पाँचै जना झ्यालबाट हाम फालेर भागेका थिए । उनीहरुमाथि हातपात भएपछि राति नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम अघि बढाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?