२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

बर्दियामा अक्सिजन जुटाउन युवाहरु सक्रिय

कमल पन्थी

बर्दिया — अक्सिजन बैंकको स्थापना गरेको करिब एक महिनामा यहाँका युवाहरुले १ सय ७ थान सिलिन्डर जोहो गरेका छन् । गुलरियाका युवा व्यवसायी, सामाजिक कार्यकर्ताले बैंक स्थापना गरेपछि बिरामीलाई नि:शुल्क सिलिन्डर उपलब्ध हुन थालेको छ ।

बर्दियामा अक्सिजन जुटाउन युवाहरु सक्रिय

बैंक सञ्चालनका लागि देश विदेशबाट करिब २५ लाख रुपैयाँ जम्मा भइसकेको छ । जिल्लामा अक्सिजनको अभाव हुन नदिन युवाहरुको सक्रियतामा करिब एक महिनाअघि १६ थान अक्सिजन सिलिन्डर जोहो गरिएको थियो । अहिले संकलित रकमबाट अक्सिजन सिलिन्डर खरिद गरिएको छ ।

अक्सिजन कमी नहोस् भन्दै दुई वटा सवारी साधन दैनिक नेपालगन्ज गएर अक्सिजन भरेर ल्याउने गरिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक एंव निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेलले बताए । अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यका साथ सबै पालिकाको स्वास्थ्य कार्यालयमा निर्धारण गरेको स्वास्थ्य मापदण्ड बमोजिम तत्काल आपूर्ति गर्ने उद्देश्यका साथ वितरण गरिरहेको उनले जनाए । बैंकमा अक्सिजनको अभाव हुन नदिन कर्मचारी, प्रहरी, पर्यटन व्यवसायी लगायतले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

जिल्ला विपत व्यवस्थापन समिति, निर्माण व्यवसायी, उद्योगी र संघसंस्था लगायत समाजसेवीबाट उपलब्ध गराइएको सिलिन्डर जिल्ला प्रशासन कार्यालयको हाताभित्र भण्डारण गरिएको छ । संक्रमित बिरामीलाई आवश्यक परेको सिलिन्डर नि:शुल्क उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । अक्सिजन आवश्यकता हुना साथ सुरक्षाका साथ स्वास्थ्यकर्मी मार्फत जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइने भएको प्रजिअ सुनारले बताए ।

जिल्ला अस्पताल, कोभिड अस्पताल लगायत प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन बैंकको स्थापना पछि कमी नभएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

अक्सिजन सकिन साथ रित्तो सिलिन्डर बुझाएर भरिएका लैजान सम्बन्धित पालिकाबाट स्वास्थ्यकर्मी आउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?