कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जथाभावी औषधि खाँदा मृत्यु

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का ४५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या र निमोनियाले गालेपछि गत सोमबार निधन भयो । १५ दिन ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएका उनले सुरुमा सिटामोल र ज्वरो नरोकिएपछि नजिकैको फार्मेसी पसलबाट टाइफाइडको औषधि किनेर खाएका थिए । फार्मेसी पसलेले सामान्य जाँच गरेर टाइफाइड भएको र औषधि खाएपछि निको हुने भन्दै एन्टिबायोटिक चलाएको तीन दिनमै उनको मृत्यु भएको हो ।

फार्मेसीबाट औषधि किनेर खान थाले पनि ज्वरो नरोकिएको र खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या बढेर गएको आफन्तले बताए । श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि बल्ल उनलाई आफन्तले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए । अस्पतालमा एक्सरे गर्दा कडा खालको निमोनिया देखिएको र चिकित्सकले किन ढिलो गरेर अस्पताल ल्याएको भनेर सोधखोज गर्दा फार्मेसीबाट जथाभावी औषधि किनेर खाएको पत्ता लागेको थियो । उनले सुरुवाती चरणमै टाइफाइडको कडा प्रकृतिको औषधि सेवन गरेकाले अवस्था नाजुक बनेको चिकित्सकले बताए ।

चिकित्सकले ढिलो गरेर अस्पताल आउँदा ज्यान बचाउन नसकेको बताए । ‘ज्वरो आएपछि परासीको फार्मेसीमा औषधि र तीन दिनसम्म सुई लगाएको हो । तर पनि ज्वरो निको भएन,’ रामग्राम–१० का निलु गुप्ताले भने, ‘सामान्य ज्वरो होला भनियो । तर, यसपटक कोरोनाले भेटेको रहेछ । आफ्नै लापरबाहीले गर्दा ज्यान गयो ।’

पृथ्वीचन्द्र जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. राजकुमार गुप्ताले कोरोना संक्रमितले आफ्नै स्वास्थ्यमा लापरबाही गर्दा मृत्यु हुने गरेको बताए । ‘समयमै चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्ने संक्रमित घरमा नै बसे पनि निको भएका छन्,’ उनले भने, ‘परासी क्षेत्रमा कोरोना संक्रमितले फार्मेसीमा गएर जथाभावी औषधि सेवन गर्ने र कडा खालको टाइफाइडको औषधि सेवन गर्ने गरेको भेटिएको छ ।’

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?