कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — वन कार्यालयका एक कर्मचारीसहित ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सन्धिखर्क सवडिभिजन वन कार्यालयका वन रक्षक एवं नेपाल निजामती कर्मचारी यूनियन (संघ) का जिल्ला उपाध्यक्ष लक्ष्मण खनालको मंगलबार अर्घाखाँची अस्पतालमा निधन भएको छ ।

सन्धिखर्क नगरपालिका–२ बस्ने ४२ वर्षीय उनको २१ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि २५ गतेसम्म घरमै बसेका थिए । ज्वरो, रुघाखोकी निको नभएपछि २५ गते अस्पतालमा भर्ना भएका थिए । उपचाररत खनाललाई रातिदेखि सास फेर्न गाह्रो भएको थियो । उपचार गर्दा गर्दै उनको निधन भएको अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । ‘बुधबार नै आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो,’ उनले भने, ‘मैले डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठलाई आईसीयु अस्पताल खोज्न भनेको थिएँ । यहाँ भेन्टिलेटर र आईसीयु नभएकै कारण ज्यान गयो ।’

श्रेष्ठले बुटवल, काठमाडाैं लगायतका ठूला सहरका अस्पतालमा बेडको लागि खोजी गरे पनि कहीँबाट वेड खाली भएको जवाफ नआएको बताए । ‘धेरै अस्पतालमा वेड मागेँ,’ उनले भने, ‘सबैले छैन भनिदिए । बल्लतल्ल चितवनको एक अस्पतालमा भेटिएला जस्तो थियो, आज कुरा हुँदै थिए । भेन्टिलेटर सहितको आईसीयु अस्पताल खोज्दाखोज्दै दु:खद निधन भयो ।’

अर्घाखाँची अस्पताल १५ वेडको छ । अहिले २२ जना कोभिडका बिरामीको उपचार भइरहेको छ । भेन्टिलेटर र आईसीयु नभएकै कारण धेरै बिरामीले ज्यान गुमाएको डा. गौतमले बताए ।

तीन दिनदेखि अस्पतालमा उपचाररत सन्धिखर्क नगरपालिका–७ का ५२ वर्षीय एक पुरुष र वडा–१ का २८ वर्षीय पुरुषको पनि निधन भएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?