कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन अभावमा उपचार कटौती

भैरहवा — आवश्यक परिमाणमा अक्सिजन नपाएको जनाउँदै युनिभर्सल शिक्षण अस्पताल भैरहवाले सोमबारदेखि बिरामीको उपचार सेवामा कटौती गर्ने जनाएको छ । रुपन्देहीमा सबैभन्दा धेरै कोभिड संक्रमित बिरामीको उपचार गर्दै आएको अस्पतालले अक्सिजन अभावमा सेवा कटौती गर्न लागेको हो ।

अक्सिजन अभावमा उपचार कटौती

अस्पताल प्रशासनले आइतबार एक सूचना जारी गर्दै अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सीमित बेडमात्र सञ्चालनमा ल्याई उपचार सेवा प्रदान गरिने जनाएको छ । अस्पतालमा कोभिडसमेतका दैनिक २ सय संख्यामा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने र यसका लागि दैनिक ७ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा त्यस अनुरुप अक्सिजनको नियमित आपूर्ति एवं वैकल्पिक व्यवस्था गर्न नसकिएको सूचनामा जनाइएको छ । अस्पताल प्रशासनका अनुसार अहिले अस्पतालमा आकस्मिक कक्षका ३१ सहित १ सय ३४ बेडमा कोभिड संक्रमित रहेका छन् । बिरामी बढेपछि कोभिडका बिरामीकै लागि तयार पारिएको ६० बेडको एचडीयू–३ कक्ष अक्सिजन अभावले सञ्चालनमा ल्याउन सकिएको छैन । अस्पतालमा उपचारका लागि आउने कोभिड–१९ का बिरामीको चाप अत्यधिक हुन थालेको छ ।

पालिकामा अक्सिजनसहितका बेड

पाल्पा– बेड अभावमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन छाडेपछि जिल्लाका आठ गाउँपालिकाले अक्सिजनसहितका बेड तयार गरेका छन् । आइसोलेसन सेन्टरमा तयार गरिएका त्यस्ता बेडमा अहिले धमाधम उपचार सेवा सुरु गरिएको छ । निस्दी गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन तयार भएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले बताए । गल्धाको ढुंगानाबेंसीमा सहकारी भवनमा अक्सिजनसहितको आइसोलेसन तयार गरेको उनले बताए । ‘आठवटा अक्सिजन सिलिन्डर र तीनवटा कन्सन्ट्रेटरसहितको आइसोलेसन तयार गरेका छौं,’ उनले भने, ‘ठूला अस्पतालमा बेड नपाउने समस्या भएपछि गाउँमै अक्सिजनसहितका आइसोलेसन बनाएका हौं ।’ आइसोलेसनमा चौबीसै घण्टा स्वास्थ्यकर्मी रहने उनले बताए ।

३० अक्सिजन सिलिन्डर सहयोग

कपिलवस्तु– यहाँको जिल्ला अस्पतालका डा. गणेश क्षत्रीले फेसबुक स्टाटस लेखेको दुई दिनमै ३० अक्सिजन सिलिन्डर सहयोगस्वरूप प्राप्त भएको छ । ‘सहयोग गर्नूस्, डाक्टरलाई उत्प्रेरणा दिनूस्’ शीर्षकमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि त्यसबाट प्रभावित भएर तौलिहवा चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले सहयोग अभियान चलाएको बताए । ‘अब ढिलो गर्न हुन्न, अवस्था बिग्रिँदै जान्छ भनेर फेसबुकबाट सहयोगको आह्वान गरेको हुँ,’ उनले भने, ‘शनिबार र आइतबारमात्रै ३० वटा अक्सिजन सिलिन्डर खरिद गर्न रकम संकलन भएको छ ।’ सबै गरेर ७ लाख ६९ हजार ५ सय रुपैयाँ सहयोग उठेको उनले बताए ।

प्रकाशित : वैशाख २७, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?