कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षदेखि अक्सिजन प्लान्ट बन्द

बुटवल — मर्मतसम्भार नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वर्षअघि जोडिएको अक्सिजन जेनरेसन प्लान्ट बेकामे बनेको छ । २०७५ वैशाखमा रोटरी क्लब अफ बुटवलले ५० लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान गरिदिएको थियो ।

एक वर्षदेखि अक्सिजन प्लान्ट बन्द

प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । यो प्लान्ट करिब दुई वर्ष सञ्चालन भयो । बिस्तारै उत्पादन क्षमता घट्यो । एक वर्षयता भने प्लान्ट बन्द छ । प्लान्टको नियमित सञ्चालन र समयमा मर्मत–सम्भार नहुँदा संकटका बेलामा पनि प्लान्ट सञ्चालन गर्न र अक्सिजन उत्पादन गर्न सकिएको छैन ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले स्वदेशमा पार्टपुर्जा नपाउँदा अक्सिजन प्लान्ट मर्मत–सम्भारमा समस्या भएको बताए । ‘फ्रान्सबाट आएको मेसिन हो । कुनै सामग्री फेर्नुपरे पनि त्यहींबाटै पार्टपुर्जा ल्याउनु पर्दोरहेछ,’ उनले भने, ‘अस्पतालमा अक्सिजनको माग बढेपछि अहिले सामान झिकाएका छौं ।’ फ्रान्सबाट झिकाएको सामान अहिले दुबईमा रोकिएको मेसु खनालले बताए ।

अस्पतालले दुई साताअघि प्लान्ट मर्मत–सम्भारका लागि काठमाडौंबाट मेकानिकल्सको टिम बोलाएको थियो । उनीहरूको सल्लाहअनुसार फ्रान्सबाट १० लाख रुपैयाँ बराबरको पार्टपुर्जा झिकाइएको र अर्को सातासम्म आइपुग्ने मेसु खनालले बताए । ‘दातृ निकायले दिएको सहयोग प्रचार गरेजस्तो नहुँदो रहेछ,’ उनले भने, ‘मर्मत–सम्भारदेखि सञ्चालनमा धेरै खर्च हुने रहेछ । त्यसैले पनि प्लान्ट चलाउन चासो नदिएका हौं ।’

प्लान्ट जडान गर्दा मर्मतको जिम्मा सहयोगदाता लायन्स क्लबले लिएको थियो । त्यसपछि अस्पताल र क्लबबीच दोहोरो संवाद भएन । लायन्स क्लबका अध्यक्ष अजयमान श्रेष्ठले भने बिग्रेको प्लान्टबारे अस्पतालले समयमै खबर नगर्दा समस्या भएको बताए । ‘अस्पतालमा अक्सिजन अभाव भयो भनेर सोधीखोजी गर्दा मात्रै प्लान्ट नचलेको थाहा भयो,’ उनले भने, ‘त्यसपछि मेकानिकल्स जोहो गर्ने र फेर्नुपर्ने सामग्रीको खोजीमा लागेका हौं ।’

साबिक अवस्थामा पनि अक्सिजन किन्दा अस्पतालको वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च हुने गरेको छ । अक्सिजन प्लान्ट सञ्चालन भएमा कोरोना संक्रमण बाहेकको उक्त रकम बच्नेछ । प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा बिहीबारसम्म ५६ बिरामी उपचाररत छन् ।

प्रकाशित : वैशाख २६, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?