कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलझुन्डी कोरोना अस्पताल भन्छ– अक्सिजनको व्यवस्था नभए थप बिरामी भर्ना लिन सक्दैनौँ

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीले अक्सिजन व्यवस्था नभए थप बिरामी भर्ना लिन नसक्ने जनाएको छ । १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको र अब अक्सिजन उपलब्ध नभएसम्म अरु बिरामी राख्न नसकिने अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताएका छन् ।

बेलझुन्डी कोरोना अस्पताल भन्छ– अक्सिजनको व्यवस्था नभए थप बिरामी भर्ना लिन सक्दैनौँ

बुधबार अस्पतालमा एकैदिन चारजनाको ज्यान गएपछि अस्पताललाई बिरामीको व्यवस्थापन गर्न कठिन भएको हो ।

‘बिरामी राखिदिन निरन्तर दबाब आइरहेको छ तर हामीसाग अक्सिजन छैन । भएका बिरामीलाई पुर्‍याउन सकिएको छैन,’ उनले भने,‘अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु हो ।’ अहिले अस्पतालमा कम्तीमा पनि ५ सय सिलिन्डर अक्सिजन चाहिए पनि १ सय २० सिलिन्डर मात्रै भएको भएका उनले जानकारी दिए । अक्सिजन अभावकै कारण बिरामीको ज्यान जाने अवस्था भएकाले थप बिरामी राख्न नसकिने उनले बताए ।

अक्सिजनको तत्काल व्यवस्था गरिदिन उनले मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवी लगाएतलाई सार्वजनिक रुपमै आह्वान गरेका छन् । ‘कृपया हाम्रो यो समस्या सबैले सुनिदिनुहोस् । हामी भन्दाभन्दा थाकिसक्यौा । अब हात उठाउने बेला आइसकेको छ,’ उनले भने, ‘जिल्लाका मन्त्री, सांसद् र धेरै ठूला नेताहरु हुनुहुन्छ । सबैले यो समस्याको छिटो सम्बोधन गरिदिनुपर्‍यो नत्र बिरामी बचाउन गाह्रो छ ।’

जिल्लामा १ हजार सिलिन्डर आवश्यक परेको र अहिले ६ सय मात्रै उपलब्ध भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । अन्य सिलिन्डर खोज्न रातदिन लागे पनि पाउन कठिन भइरहेको उनले बताए । ‘हामी अक्सिजनको खोजीमा छौं । रातदिन यसैमा लागेका छौं तर पनि पाउन गाह्रो भएको छ,’ उनले भने,‘अक्सिजन पाउन नसक्दा बिरामीको ज्यान जोखिममा परिरहेको छ ।’

प्रकाशित : वैशाख २३, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?