कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा वैशाख १८ गतेदेखि २४ सम्म निषेधाज्ञा 

माधव अर्याल

पाल्पा — जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

पाल्पामा वैशाख १८ गतेदेखि २४ सम्म निषेधाज्ञा 

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन । सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, नाचघर, क्लब, फुटसल, जिमखाना, ब्युटी पार्लर, सैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसललगायत नखोल्ने निर्णय भएको छ । विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइनेछ ।

सबैखाले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने पनि प्रशासनले बताएको छ । यस अवधिमा पत्रकार तथा सञ्चारकर्मीहरुले समाचार संकलन लागि हिँडडुल गर्न परेमा सूचना विभाग वा कार्यरत सञ्चारगृहको परिचयपत्र अनिवार्य रुपमा लिएर हिँड्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?