कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

कोरोना उपचारमा निजी अस्पतालको मनोमानी, निगरानी बढाउँदै प्रदेश सरकार

अमृता अनमोल

बुटवल — कोरोना उपचार प्रभावित बनेपछि लुम्बिनी प्रदेश सरकारले निजी अस्पतालमा निगरानी बढाएको छ ।

कोरोना उपचारमा निजी अस्पतालको मनोमानी, निगरानी बढाउँदै प्रदेश सरकार

कोरोना उपचार थालेका निजी अस्पतालहरुले आफू अनुकुल बिरामी भर्ना लिने गुनासो बढेपछि प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन एवं निगरानी थालेको हो ।

पहिलो चरणमा आइसोलेसन सञ्चालन गरेका सबै निजी अस्पताल प्रशासनलाई बोलाइ अवस्थाबारे जानकारी लिने र बिरामी भर्नाबारे सोधपुछ थालेको मन्त्री लीला गिरीले बताए । ‘कोरोना उपचार गर्ने भनिएका अस्पतालले मापदण्ड अनुसार बिरामी नराख्ने र उपचारमा समस्या भएको गुनासो आयो,’ मन्त्री गिरीले भने, ‘यस्तो समस्या रोक्न सबै अस्पताल प्रशासनलाई छलफलमा राखेर तोकिएका सबै बेडमा बिरामी राख्न निर्देशन दिएका हौं ।’ अवस्था सुधार नआए अस्पतालको स्थलगत अनुगमन गरेर कारबाही प्रक्रिया थाल्ने मन्त्री गिरीले बताए ।

लुम्बिनी प्रदेशमा आइतबार दिउँसोसम्म ४ हजार ६ सय ३१ जना संक्रमित उपचारमा छन् । पछिल्लो २४ घण्टामा ६ सय ५९ संक्रमित थपिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितको संख्या बढ्दै गएपनि प्रदेशमा त्यसअनुसार उपचार सेवा बढाउन सकिएको छैन । हाल प्रदेशका विभिन्न कोरोना विशेष अस्पतालमा ३ सय ५६ जना उपचारमा छन् । त्यसमध्ये १ सय १३ जना निजी अस्पतालमा उपचारमा छन् । २ सय ४३ जना विभिन्न सरकारी निजी अस्पतालमा उपचाररत रहेको सूचना अधिकृत नेत्रप्रसाद अर्यालले बताए । जसमा १ सय २४ जनाको आइसीयु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । यी सबै अस्पतालमा गरी ५ सय ७३ वटा आइसोलेसन बेडहरु रहेका छन् । आइसियू १ सय ४२ बेड छन् । १ सय ५९ वटा एचडियू र ७५ वटा भेन्टिलेटर रहेका छन् ।

अस्पतालहरुमा श्वासप्रश्वासका बिरामी बढेपछि अक्सिजनको माग बढेको छ । बुटवल १२ रामनगरस्थित धागो कारखानामा सञ्चालन गरिएको कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल दुवैमा अक्सिजनको खपत बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले दैनिक डेढसय बढी सिलिण्डरसम्म अक्सिजन खपत भइरहेको बताए । ‘संक्रमित जति थपिँदै जान्छन्, अक्सिजन पनि त्यति नै आवश्यक पर्छ,’ उनले भने, ‘अक्सिजनको माग दिनानुदिन बढ्दै गएको छ ।’

प्रकाशित : वैशाख १२, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?