तातोपानी क्षेत्र संरक्षणविहीन- लुम्बिनी - कान्तिपुर समाचार

तातोपानी क्षेत्र संरक्षणविहीन

कान्तिपुर संवाददाता

रुकुम पूर्व — आवश्यक पर्दा प्रयोग गर्ने तर बाँकी समय हेरचाह नपुग्दा जिल्लाका विभिन्न आठ तातोपानी क्षेत्र संकटमा परेका छन् । कात्तिक, मंसिर, पुस र माघमा तातोपानी क्षेत्रमा नुहाउन सजिलो हुने र छालाजन्य रोग निको हुने भन्दै सर्वसाधारण यस क्षेत्रमा पुग्ने गर्छन् । बालबालिका, किशोरकिशोरी, युवा तथा ज्येष्ठ नागरिकको रोजाइ तातोपानी क्षेत्र पर्ने गरेको छ ।


जाडो याममा ज्यादै खोजखबर हुने जिल्लाका यी क्षेत्र यतिबेला भने सुनसान छन् । बेवास्ता भएकै कारण सिस्ने गाउँपालिकाको पोखरास्थित तातोपानी क्षेत्रमा फोहोर बढेको छ । फोहोरकै कारण देखाउँदै हरेक वर्ष हुने धार्मिक यात्रा यस वर्ष रोकिएको छ । तीन तहकै सरकारले तातोपानी संरक्षणमा खासै वास्ता गरेका छैनन् । कुनै कुनै वर्ष विनियोजन गरिने केही बजेटले मात्रै तातोपानी क्षेत्रको पर्याप्त संरक्षण हुन सकेको छैन । पुथाउत्तरगंगा गाउँपालिका–२ मा रल, झार्लुङ र जुनाङ तातोपानी क्षेत्र छन् । वडा ५ मा रिमैजा, वडा ६ मा डिम्मुरगैरा र वडा १३ को ओख्मामा पनि तातोपानी कुण्ड छन् ।

यसैगरी सिस्ने गाउँपालिका–४ स्थित पोखरा र भूमे गाउँपालिका–६ स्थित रिग्मा पनि तातोपानी क्षेत्र छन् । यी सबै तातोपानी क्षेत्रमा प्रत्येक वर्षको माघ १ गते विशेष मेला लाग्छ, जहाँ नुहाएपछि पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । तर, नुहाउनका लागि कुनै पनि तातोपानी क्षेत्रमा धारा बनाइएको छैन । सानो पोखरीबाट पानी उबाएर नुहाउने गरिन्छ ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले संरक्षणका लागि भनेर ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो तर खर्च हुन सकेन । कोरोना महामारी सुरु भएपछि कार्यान्वयनमा आउन नसकेको बताइएको छ । डिम्मुरगैरा तातोपानी संरक्षण, तटबन्ध निर्माण र बाटो मर्मतका लागि ४० लाख, रल तातोपानी र पोखरा तातोपानीको डीपीआर निर्माणमा ५/५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले सानो बजेटले तातोपानी क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न नसकिने बताए । ‘फाट्टफुट्ट आउने बजेटले अपेक्षा अनुसारको व्यवस्थापन हुन नसकेको हो,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

४ वर्षपछि ‘सुटर’ पक्राउ

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाही पिपरियाका सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्षपछि पक्राउ परेका छन् । कविलासी नगरपालिका–२ पिपरियाका २२ वर्षीय युवक सुनीलकुमार साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्कने क्रममा बाटोमा आक्रमण भएको थियो ।

उनी बुबासँगै ना४५प १५०३ नम्बरको मोटरसाइकलमा फर्किरहेका थिए । तीन जनाको समूहले झोलामा रहेको सुन, चाँदी र नगद लुटी साहको हत्या गरेका थिए ।

खुन डाँका तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादी मुख्य सुटर मानिएका लालबन्दी नगरपालिका–२ पुनर्वासका सञ्जीव पासवानलाई प्रहरीले घटनाको ४ वर्षपछि पक्राउ गरेको हो । घटनालगत्तै भारतमा लुकेर बसेका पासवान केही दिनअघि मात्र नेपाल आएका थिए । उनलाई कविलासी क्षेत्रबाटै प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विक्रम साहको कमान्डमा खटिएको प्रहरी टोलीले पासवानलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पासवान नाम र ठेगाना परिवर्तन गरेर लुकेर बसिरहेका थिए । साह हत्यामा प्रहरीले तयार गरेको मिसिलको फोटो आफ्नो नरहेको पासवानले ढाँटेका थिए । नागरिकता नलिएका पासवानलाई ठम्याउन प्रहरीलाई गाह्रो परेपछि उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई प्रहरी कार्यालयमा लगिएको थियो ।

परिवारको पुष्टिपछि मात्र पासवानले घटनामा संलग्न रहेको प्रहरीलाई बयान दिए । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि आइतबार साँझ सिन्धुली कारागार पठाइएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

साहको साथबाट ७ लाख १९ हजार रुपैयाँ बराबरको लुटपाट भएको थियो । प्रहरीले घटनाको केही दिनमै संलग्न प्रकाश पासवान र उमेश पासवानलाई पक्राउ गरेको थियो । उनीहरूलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×