कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलमखुला लागूऔषध बिक्री

पश्चिम नवलपरासीमा तीन महिनामा २५ जना पक्राउ

परासी — पश्चिम नवलपरासीमा लागूऔषधको बिक्री बढेको छ । सीमावर्ती त्रिवेणी नाकाको भारतीय बजारमा खुलेआम पाइने भएकाले लागूऔषधको बिक्री बढेको हो ।

केही दिनअगाडि काठमाडौं महानगरपालिका–५ का ३४ वर्षीय सुमित सिंह थापा र समीर थापा पश्चिम नवलपरासीको सुनवल–परासी सडक खण्डमा लागूऔषधसहित पक्राउ परे । उनीहरू लागूऔषध सेवन र ओसारपसारका लागि नै जिल्लाको सीमावर्ती महेशपुर हुँदै भारतको ठुटीबारी आएका थिए । चितवनका दुई युवा नुर्फिन र डाइजेपामसहित पक्राउ परे ।

यसरी बाहिरी जिल्लाबाट नवलपरासी आएर दुर्व्यसनीमा लाग्ने र ओसारपसार गर्ने क्रम बढेपछि प्रहरीले मोटरसाइकल र यात्रुवाहक बसमा विशेष निगरानी राख्न थालेको हो ।

पछिल्लो तीन महिनामा २५ जनालाई लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएको छ भने उनीहरूबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ । जनपथ र सशस्त्र प्रहरीले संयुक्त रूपमा निगरानी र जाँच बढाएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार लागूऔषध नियन्त्रणका लागि जनचेतनासँगै शंकास्पद व्यक्तिलाई विशेष निगरानी राखेपछि धमाधम पक्राउ पर्न थालेको बताए ।

त्रिवेणी नाकाबाट पूर्वपश्चिम राजमार्ग जोड्ने बर्दघाट क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि धमाधम लागूऔषध बरामद हुन थालेको हो । अधिकांश प्रयोगकर्ता मोटरसाइकलमा आउने र लुकाएर ओसारपसार गर्ने क्रम बढेपछि मोटरसाइकल चालकमाथि निगरानी बढाइएको थियो । मूल नाकामा जाँचमा कडाइ भएपछि दुर्व्यसनीले अहिले चोर नाका प्रयोग गर्न थालेका छन् ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?