कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालको कोरोना वार्ड भरिएपछि संक्रमित घरमै

ठाकुरसिंह थारू

बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ । अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन् ।

अस्पतालको कोरोना वार्ड भरिएपछि संक्रमित घरमै

अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय २३ जनामध्ये ७५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई घरमा बस्न सुझाव दिइएको छ । अस्पतालका निमित्त प्रमुख डा.खगेन्द्र शाहले बेड भरिएकाले नयाँ बिरामी भर्ना गर्न नसकिएको बताए ।

अस्पतालका फिजिसियन डा. संकेतकुमार रिसालले भीडभाडमा अझ कोरोनाको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिए । ‘बढी भीड हुने स्थानलाई व्यवस्थित राख्नुपर्छ । होइन भने अझै कोरोनाको महामारी फैलिने खतरा छ,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भेरी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमण देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बसाइएको बताए ।

‘भेरी अस्पतालबाहेक कोरोना वार्डहरू बन्द गरिएका छन् । त्यसैले अहिले समस्या देखिएको हो,’ उनले भने, ‘यसअघि कोरोना विशेष अस्पताल बनाइएको शिक्षण अस्पताल नेपालगन्जले पनि वार्ड राखेको छैन ।’ बाँकेमा कोरोनाको महामारी तीव्र रूपमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले नेपाल–भारत सीमामा कडाइ गर्नेलगायतका निर्णय गरेको छ ।

बिरामीका लागि शिक्षण अस्पताललाई पनि कोभिड वार्ड बनाउन र पालिकाले सञ्चालन गरी बन्द गरेका आइसोलेसन सेन्टर पुनः सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले मास्क नलगाउने व्यक्तिलाई शुक्रबारदेखि कारबाही गर्ने निर्णय गरिएको छ । भीडभाड हुन नदिन, स्वास्थ्य मापदण्ड पूरा गराउन प्रहरीलाई जिम्मा दिइएको छ ।

भारतबाट घर फर्किनेहरूको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि केन्द्रले गरेको छ । सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गर्ने, स्वास्थ्य मापदण्ड पालना गराउने र मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ ।

भेरी अस्पतालमा १ सय ४२ वटा कोरोना वार्ड बनाइएको छ । तर जनशक्ति अभावका कारण ६५ बेडमात्र सञ्चालनमा छन् । ती सबै वार्ड अहिले कोरोनाका बिरामीले भरिएका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?