कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरैपिच्छे वैदेशिक रोजगारीमा

वीरेन्द्र केसी

गुल्मी — गुल्मीका सबै पालिकाका घरैपिच्छे वैदेशिक रोजगारीमा जानेको लर्को छ । घरपरिवार पाल्न, छोराछोरी पढाउने खर्च जुटाउनकै लागि युवाहरू विदेश लागेका हुन् । त्यसका अलावा उनीहरूले पठाएको कमाइ सहरमा घर घडेरी जोड्न, गाउँका घरलाई जस्तापाताले चिटिक्क पार्न र विलासिताका बस्तुमा खर्च हुने गरेको छ । उत्पादन क्षेत्रमा कमै लगानी भएको छ ।

घरैपिच्छे वैदेशिक रोजगारीमा

मदाने गाउँपालिका पुर्कोटका भीमबहादुर थापा आठ वर्षअघि रोजगारी खोज्दै मलेसिया गए । ‘स्वदेशमा रोजगारी नभेटिएरै विदेश धाउनु परेको हो,’ उनले भने । अढाइ वर्षमा फर्किएपछि खरको छानो जस्तापाताले छाए । जाँदा लागेको र घरखर्चको ऋण तिरेर भ्याए । चार महिनापछि फेरि मलेसिया गए । ‘गाउँमै बसेर केही उद्यम वा रोजगारी गर्ने मन छ,’ उनले भने, ‘बाध्यता भएरै विदेश जानु परेको हो ।’ कोरियामा राम्रो कमाइ हुन्छ भन्ने सुनेकाले थापाले कोरियन भाषा पढ्दै छन् । धेरै पैसा जुटाएपछि सुविधासम्पन्न सहरमा घर निर्माण गर्ने उनको धोको छ । ‘अहिलेको कमाइ छोराछोरी पढाउन र घर खर्चकै लागि ठिक्क छ,’ उनले भने ।

उनीसँगै वैदेशिक रोजगारीमा गएका धनवीर थापा र जितबहादुर कुँवर गाउँ फर्केनन् । उनीहरूको कमाइले घरपरिवारको लत्ताकपडा र खानपान बदलियो । दुवै जनाले छोराछोरीलाई राम्रो निजी स्कुलमा पढाउन परिवारलाई बुटवलमा राखेका छन् । ‘गाउँमा के गरेर बस्ने ? परम्परागत खेती गरेर निर्वाह चल्दैन,’ थापाले भने, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले राम्ररी पढ्न पाइएन । मलेसियामा गएर कमाएको छु, एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिन गाउँ छोडेको हुँ ।’ बुटवल बस्दा कोठाभाडा, खाना, छोराछोरीको मासिक शुल्कसहित अन्य खर्च गरी महिनामा २० हजार रुपैयाँ खर्च हुन्छ । ६ वर्षदेखि उनको परिवार गाउँ बस्न छोडेको हो । ‘मलेसियाको कमाइले खर्च धानेको छु । राम्रो कमाइ भए सहरमा घडेरी किनेर घर बनाइएला, नभए गाउँ फर्कनुपर्ला,’ उनले भने ।

गुल्मीका १२ वटै स्थानीय तहका धेरैजसो घरबाट मलेसियालगायत खाडी मुलुकमा रोजगारी खोज्दै विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । कालिगण्डकी गाउँपालिका–७ का वडाध्यक्ष लोकप्रताप शाहले गाउँबाट ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएको बताए । साउदी, मलेसिया, कोरियालगायत मुलुकमा रोजगारी खोज्दै जानेको लहर नै चलेको र यसले गाउँ युवाविहीनजस्तै भएको उनले बताए । ‘वैदेशिक रोजगारीको कमाइले गाउँमै बस्ने युवा पाँच/सात प्रतिशत होलान्,’ उनले भने, ‘धेरै त सहर झर्छन् । सहरमा पनि केहीले मात्रै घर बनाएर बसेका छन्, धेरैजसो डेरामै बस्छन् ।’ छोराछोरी पढाउन र आफूले पढ्ने भनेर सहरमा डेरा गरी बस्नेको त फेसनै भएको उनले बताए ।

सामान्य खर्चमा निर्वाह गर्ने परिवारले पनि रेमिट्यान्स भित्रिएपछि खानपान, लगाउने कपडा र अन्य खर्च बढाएका छन् । मिठोमिठो खाने, महँगा कपडा लगाउने, घुम्न जाने, महँगा मोबाइल किन्ने चलन बढ्दो छ । बचत गरेर गाउँमै उत्पादन क्षेत्रमा लगानी गर्ने होइन, खर्च गर्नेमै प्रतिस्पर्धा भएको वडाध्यक्ष शाहले बताए । ‘स्थानीय तहले युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न केही कार्यक्रम ल्याएका छन् तर ती पर्याप्त छैनन्,’ उनले भने, ‘युवालाई विदेश नजाऊ भनेर मात्र हुँदैन, उनीहरूलाई गाउँमै रोक्ने किसिमका आकर्षक कार्यक्रम ल्याउनु पनि जरुरी छ ।’

प्रकाशित : वैशाख १, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?